लक्ष्मण थारुद्वारा पार्टीबाट राजीनामा
कैलाली कारागारमा रहेका मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुले कारागारबाटै पार्टीको सदस्यता त्यागेका छन् ।
आफू जेलमा बस्दा पार्टी नेतृत्वले कुनै वास्ता नगरेकाले पार्टीको सदस्यबाट राजीनामा दिई स्वतन्त्र जीवनयापन गर्ने मनसाय राखेको थारुले बताएका छन् ।
पार्टीको सदस्यता त्याग गरेकोसम्बन्धी जानकारी फ्याक्समार्फत सोमबार पार्टीको केन्द्रीय कार्यालयमा पठाइएको छ ।
स्वतन्त्र जीवनयापन गर्दा कानुनी उपचारका साथै अनुसन्धान एवम् छानबिन गर्न सजिलो समेत हुने भएकाले समेत पार्टीको सदस्यता त्यागेको थारुले बताए ।
झन्डै १७ महिना अघि कैलालीको टीकापुरमा आठ प्रहरी र एक नाबालकको ज्यान जानेगरी भएको घटनामा संलग्नताको आरोपमा पक्राउ परेका लक्ष्मण थारुसहित २५ जना कैलाली कारागारमा जेल जीवन बिताइरहेका छन् ।
रासस