गृहमन्त्रीको जवाफले चित्त नबुझेपछि कांग्रेसद्वारा संसद अवरुद्ध
बाँकेमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामाथि नेकपाका कार्यकर्ताद्वारा भएको हातपातपछि कांग्रेसको विरोध प्रतिनिधि सभामा देखिएको छ।
आइतबार गृहमन्त्रीले बाँके घटनाका बारेमा जबाफ दिंदै दोषीलाई कारबाही गरिने बताए पनि कांग्रेस सांसदहरूलाई गृहमन्त्रीको जबाफ चित्त बुझेन ।
मन्त्री थापाले बाँके घटना सत्तारुढ पार्टीको निर्देशनमा नभएको बताएका छन् । नेकपाका कार्यकर्ता संलग्न भएकाे हुनसक्ने उनले स्वीकार गरे ।
कांग्रेस सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्रीले सत्ताधारी पार्टीले कांग्रेसको कार्यक्रम बिथोल्ने निर्णय नगरेको बताए ।
उनले घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताए । केही पक्राउ परिसकेको भन्दै गृहमन्त्रीले दोषीहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्।
राष्ट्रिय जागरण अभियान अन्तरगत २६ भदौमा बाँकेको खजुरामा कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गर्दा जिल्ला सभापति किरण कोइरालाको हात भाच्चिएको छ भने अरु केही घाइते भएका छन् ।
घटनामा संलग्न भएको आरोपमा निर्मल खत्री, रोशनसिंह ठकुरी र लोकबहादुर शाहीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको गृहमन्त्री थापाले जानकारी दिए ।
बाँके घटनालाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । गृहमन्त्री रामबहादुर थापाले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाए पनि कांग्रेस सांसदहरुले अवरोध जारी राखेका छन् ।
कांग्रेसको अवरोधपछि संसद ३० मिनेटका लागि स्थगित गरिएको छ ।