थप समाचारबिहिबार, २६ भाद्र , २०७६

महिलाको हत्या आरोपमा पक्राउ

कमल रिमाल

मोरङ रतुवामाई नगरपालिका–६ कपरसुक्खा टोलमा एक महिलालाई मरणासन्न हुने गरी कुटपिट गरी भागेका व्यक्ति पक्राउ परेका छन् । उनले कुटपिट गरेकै दिन २२ भदौमा महिलाको मृत्यु भएको थियो।

पक्राउ परेका चुंडाल

मोरङ प्रहरीका अनुसार, स्थानीय हरिबहादुर खड्काको गाईगोठमा अचेत अवस्थामा बिहान महिला फेला परेकी थिइन् । अनुहार, ओठ, गाला, आँखा र टाउकोमा सुन्निएको अवस्थामा अपरिचित महिलाको उघार गरी कोशी अञ्चल अस्पताल विराटनगर लगिएकोमा उनको राति मृत्यु भएको थियो।

उनलाई जिल्ला अस्पताल रंगेलीमा उपचार हुन नसकेपछि अञ्चल अस्पतालमा लगिएको थियो ।

प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार, पहिचान खुल्न नसकेकी महिलाको हत्यामा संलग्न रहेको आरोपमा झापा गौरादह ६ दामुना बजारका पुण्ड चुंडाल (४५) लाई प्रहरीले मंगलबार राति पक्राउ गरी बुधबार अपरान्ह सार्वजनिक गरेको छ ।

ज्याला मजदुरी गर्दै आएका दुई जना केही समय यता सँगै बस्दै आएको र २१ भदौ राति मदिरा सेवन गरी चुंडालले महिलालाई कुटपिट गरेर फरार भएको प्रहरीले बताएको छ ।

चुंडाललाई रतुवामाईस्थित सोमबारेमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिई सोधपुछ गर्दा मृतक महिलाको नाम सृजना नामले बोलाउने गरिएको मात्रै खुलेको प्रहरीको भनाइ छ ।

मादक पदार्थ सेवन गरेको अवस्थामा कुटपिट गरेपछि अरुको गाई गोठमा लगेर महिलालाई लुकाई आफू भागेको चुंडालले प्रहरीलाई बताएका छन्।

 

प्रतिकृया दिनुहोस