थप समाचारबिहिबार, २६ भाद्र , २०७६

बेनी–जोमसोम सडक पाँच दिनपछि सञ्चालनमा

रासस

पाँच दिनदेखि अवरुद्ध रहेको बेनी–जोमसोम सडक बिहीबार बिहानबाट सञ्चालनमा आएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ र मुस्ताङको थासाङ गाउँपालिका–४ को सिमाना घोप्टेभिरमा पहिरोले आइतबारदेखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक सञ्चालनमा आएको हो ।

पहिरोले करीब १३ मिटर सडकको बेस (जग/आधार) भत्काएपछि म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने ७६ किलोमिटर दूरीको यो सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको निर्माण कम्पनीको डोजर परिचालन र नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरेर पहाड फुटाएर मर्मत गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए ।

बुधबार राति सडक मर्मत गरेपछि बिहानबाट सिधा यातायात सेवा सुचारुमा आएको हो । बेनीदेखि मुस्ताङ जाने सवारी साधन काभ्रे र मुस्ताङबाट बेनीतर्फ आउने सवारी साधन घाँसामा रोकिएका थिए ।

प्रतिकृया दिनुहोस