चिनियाँ विदेशमन्त्री वाङ आज फर्कंदै, को हुन् वाङ ?
२२ भदौमा नेपालमा भ्रमणमा आएका चिनियाँ परराष्ट्रमन्त्री वाङ यी आज (मंगलबार) स्वदेश फर्कदैछन् । करिब ४५ घण्टा नेपाल भ्रमणका दौरान वाङ उच्च राजनीतिक भेटघाट तथा नेपाल–चीन मन्त्री स्तरीय द्विपक्षीय बैठकमा सहभागी भए ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणको चाँजोपाँजो मिलाउन वाङ नेपाल आएको अड्कल काटिएपनि दुवै पक्षले त्यसको औपचारिक पुष्टि गरेका छैनन् ।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तामा वाङले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण बारे छलफल गरेको सरकारी अधिकारीहरुले बताएका छन् । तर, भ्रमणको मिति भने तोकिएको छैन ।
वाङ पाकिस्तानको इस्लामावादबाट विशेष विमानमार्फत नेपाल आएका थिए । यसअघि, वाङले २२–२३ भदौ भारत भ्रमण गर्ने कार्यक्रम तय भएपनि अन्तिम समयमा रद्द भएको थियो । भारतको यात्रा रद्द भएपछि वाङ पाकिस्तानबाट नेपाल आएका थिए ।
६६ वर्षीय वाङ सन् २०१३ मार्चमा विदेश मन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपति चिनफिङको दोस्रो कार्यकालमा सन् २०१८ मा वाङ विदेशमन्त्रीका रुपमा दोहोरिदैँ स्टेट काउन्सिलरका रुपमा पनि नियुक्त भएका थिए ।
स्टेट काउन्सिलरलाई चीन सरकारको उप प्रधानमन्त्रीभन्दा एक तह मुनि तथा अन्य क्याबिनेट मन्त्रीभन्दा माथिल्लो पद मानिन्छ ।
जापान मामिलाका जानकार मानिने वाङले जापानको राजदूत तथा थाइवान मामिला कार्यालयको निर्देशकका रुपमा काम गरिसकेका छन् । चिनियाँ पूर्व प्रधानमन्त्री चौ एन लाईको सचिव छ्यान चियातोङकी छोरीसँग वाङले बिवाह गरेका छन् ।
जापानी र अंग्रेजी भाषा राम्रो भएको मानिने वाङ बौद्धिक बहसहरुमा भाग लिन रुचि राख्ने नेता मानिन्छन् ।
वाङको ब्रिफिङपछि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको मिति तय हुने आँकलन गरिएको छ ।