नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्ता शुरु
नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता राजधानीमा शुरु भएको छ ।
आर्थिक र विकास साझेदारीमा केन्द्रित रहेर हुने वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुनेछ । वार्ता राजधानीकाे हाेटल याक एण्ड यतीमा शुरु भएकाे हाे ।
चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएको समझदारीका साथै परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौता तथा नेपालको व्यापार विविधीकरण, व्यापारघाटा घटाउन चिनियाँ सहयोगलगायत विषयमा पनि छलफल हुने बताइएकाे छ ।
वार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सचिव वैरागी, अर्थ सचिव राजन खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेललगायत वरिष्ठ अधिकारी सहभागी छन् ।
चीनका तर्फबाट विदेशमन्त्री वाङ यी नेतृत्वको टोलीमा विदेश सचिव लु झाउबी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, चिनियाँ अन्तर्रा्ष्ट्रिय विकास सहायता नियोग (सीआईसीडीए) का उपाध्यक्ष, विदेशमन्त्रालयको एशिया विभागका अधिकारीलगायत वरिष्ठ चिनियाँ अधिकारी वार्तामा सहभागी छन् ।