चिनियाँ विदेशमन्त्री वाङको आज यस्तो छ भेटवार्ता कार्यक्रम
तीनदिने औपचारिक भ्रमणका लागि आइतबार साँझ नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी आज (सोमबार) दिनभर भेटवार्तामा व्यस्त हुने भएका छन्।
अपराह्न साढे ३ बजेदेखि एक घण्टासम्म होटल याक एन्ड यतीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र वाङबीच द्विपक्षीय औपचारिक भेटवार्ता हुनेछ। परराष्ट्र मन्त्रालयका अनुसार, भेटमा चीन सरकारले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई), चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाबारे छलफल हुनेछ।
भेटवार्तामा चीनसँग सहयोगका क्षेत्र पनि खोजिने मन्त्रालयले जनाएको छ। यस्तै, तातोपानी र केरुङ नाकामा अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने सुख्खा बन्दरगाह लगायत भौतिक संरचना, सीमापार रेलमार्ग निर्माण लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यसपछि विदेशमन्त्री वाङले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार, प्रधानमन्त्रीसँग ४५ मिनेट र राष्ट्रपतिसँग ४० मिनेट भेटवार्ता गर्ने निर्धारण गरिएको छ।
विदेशमन्त्री वाङको भ्रमणलाई आगामी कात्तिकमा हुने भनिएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका रुपमा हेरिएको छ। त्यसका लागि वाङले भ्रमणको एजेन्डा तय गर्ने र सुरक्षा व्यवस्थाबारे छलफल गर्ने बताइएको छ।
परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी वाङको सम्मानमा आजै साँझ रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वमा सरकार बनेपछि चीनबाट भएको यो नै सबैभन्दा उच्च स्तरको राजनीतिक भ्रमण हो।
यसअघि सीको अघिल्लो कार्यकालमा पनि विदेशमन्त्री रहेका वाङले सन् २०१४ मा नेपाल भ्रमण गरेका थिए।