चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा
चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आइतबार साँझ काठमाडौं आइपुगेका छन् । १९ सदस्यीय टोलीको नेतृत्व गर्दै विदेशमन्त्री वाङ काठमाडौं आइपुगेका हुन् ।
विदेशमन्त्री वाङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शंकरदास बैरागी पुगेका थिए । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् ।
विदेश मन्त्री वाङको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिङफिङको आशन्न भ्रमणको तयारीका रुपमा लिइएको छ । विदेशमन्त्री वाङले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम तय भएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीसँग भने सोमबार मात्रै भेटवार्ता हुनेछ । यो भ्रमणमा चीन सरकारले अगाडि बढाएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई), चिनियाँ सहयोगमा निर्माणाधीन परियोजनालगायतबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वमा सरकार बनेपछि चिनियाँ तर्फबाट भएको यो उच्च स्तरीय भ्रमण हो । यसअघि सीको अघिल्लो कार्यकालमा वाङले नेपाल भ्रमण गरेका थिए ।