डान्स बार सञ्चालक नै लुटपाटमा, हतियारसहित आठ जना पक्राउ
प्रहरी परिसर काठमाडौंले २२ भदौमा लुटपाटमा संलग्न भएको अभियोगमा रेष्टुरेन्ट तथा डान्स बार सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले लुटपाट गरेर फरार भएका आठ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुले १९ भदौमा सामाखुसीको बसपार्कस्थित मुस्ताङ गेष्ट हाउसमा बसिरहेका नवलपरासी बर्दघाट–१५ का बालकृष्ण सुनचाँदी पसलका सञ्चालक योगेश विकलाई पेस्तोल देखाई रकमसहित सामान लुटेर फरार भएका थिए ।
विशेष सूचनाका आधारमा २१ भदौमा खटेको परिसरको टोलीले काठमाडौं–१६ मा रेष्टुरेन्ट र डान्सबारभित्र लुटपाट डकैती गरेको र थप योजना बनाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुबाट दुई थान पेस्तोल, दुई थान म्यागजिन, ४ राउन्ड सोमा लाग्ने गोली, एक केजी नक्कली सुन, एक थान फलाम काट्ने औजार, चार मोटरसाइकल, सात थान मोबाइल लगायत सामान बरामद गरेको छ ।
उनीहरुले हतियार सहितका सामानहरु रेष्टुरेन्ट तथा डान्स बारमा नै लुकाई राखेका थिए ।
पक्राउ पर्नेमा गोरखा अजिरकोटका रेष्टुरेन्ट तथा डान्स बार सञ्चालक कुशल अधिकारि, नुवाकोटको तारकेश्वर–१ का डान्स बार सञ्चालक रामबहादुर तामाङ, नुवाकोटको विदुर–१० का डान्स बार सञ्चालक धर्मराज तामाङ, गुल्मी ईस्मा–५ का युवराज भण्डारी, रसुवा छेदिङमो–४ का योर्साङ घले छन् ।
पक्राउ पर्नेमा धादिङको खनिवास–५ का रेष्टुरेन्ट तथा डान्स बार सञ्चालक विजय तामाङ, नुवाकोटको विदुर–७ का रेष्टुरेन्ट तथा डान्स बार सञ्चालक पिटर तामाङ र नुवाकोटकै तारकेश्वरका राजन तामाङ छन् ।
लुटपाटमा संलग्न आठ जनालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।