समाचारशुक्रबार, २० भाद्र , २०७६

डेंगुबाट चारको मृत्यु

रासस

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेंगु संक्रमणका कारण अहिलेसम्म देशभर चारजनाको मृत्यु भएको जनाएको छ । गत वर्ष उक्त रोगको संक्रमणबाट तीनजनाको मृत्यु भएको थियो ।

महाशाखा प्रमुख डा विवेक लालले सातै प्रदेशमा संक्रमण न्यूनीकरणका लागि कार्यक्रमसहित रु ६ करोड १७ लाख खर्च पठाइएको जानकारी दिए ।

शुक्रबार काठमाडौंमा आयोजित ‘डेंगु संक्रमण र रोकथाम’ विषयक अन्तरक्रियामा उनले संक्रमणको जोखिम रहेका मुलुकका विभिन्न ४२ जिल्ला तथा ८५ स्थानीय तहमा रोग नियन्त्रणका लागि रु एक करोड ६६ लाख खर्च पठाइएको बताए ।

विशेषज्ञ डा बाबुराम मरासिनीले शरीरका विभिन्न अंगमा रगत जम्ने, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, पिसाब तथा बान्ता गर्दा रगत आउनेलगायत लक्षण देखा परेमा सतर्क हुनुपर्ने सुुझाव दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा वासुदेव पाण्डेका अनुसार श्वास फेर्न अप्ठ्यारो हुने रोगको लक्षण देखिएमा रगतमा भएको प्लेटलेट्सको संख्या परीक्षण गर्नुपर्छ ।
एडिज लामखुट्टेका कारण रोगको संक्रमण हुने हुँदा घर वरिपरि फोहोर, पानी जम्ने खाल्डाखुल्डी भए त्यसलाई सफा गर्नुपर्ने उनले बताए।

प्रतिकृया दिनुहोस