टिप्पणीशुक्रबार, २० भाद्र , २०७६

प्रविधिमा लगानी भित्र्याउन कठिन

गणेश आचार्य

हामी अहिले फेसबूक, ट्विटर वा गुगलको कार्यालय नेपालमै स्थापना भएको हेर्ने सपना देखिरहेका छौं। यहीं मोबाइल फोन, गाडी बनेको हेर्न चाहिरहेका छौं। यी सपनालाई विपना बनाउन गर्नुपर्ने थुप्रै काम नगरेर गफ मात्रै गरिरहेका छौं।

गणेश आचार्य

राष्ट्रिय योजना आयोगको तथ्याड्क अनुसार सहस्राब्दी विकास लक्ष्य हासिल गर्न नेपाललाई सन् २०३० सम्म प्रतिवर्ष रु.२० खर्ब २५ अर्ब लगानी आवश्यक पर्दछ । यातायात, उद्योग र सूचना तथा सञ्चारप्रविधिको क्षेत्रमा मात्रै वार्षिक रु.६१३ अर्ब लगानी चाहिने आयोगले जनाएको छ ।

लगानीका सबैजसो क्षेत्रहरू प्रत्यक्ष वा परोक्ष रूपमा जोडिने भएकाले सूचना तथा सञ्चारप्रविधि क्षेत्रमा हुने लगानी अलि महत्वपूर्ण छ । के हामी सूचना तथा सञ्चारप्रविधिको क्षेत्रमा हुने लगानीको लागि तयार छौं ? हाम्रो कानूनी प्रावधान र मनस्थितिले प्रविधिको क्षेत्रमा हुने लगानीलाई खुला रूपमा स्वागत गर्छ ? प्रश्न अहम् बनेको छ ।

हाम्रो राज्य–संयन्त्र विज्ञान र प्रविधिको पछिल्ला विकासक्रमहरूप्रति अभ्यस्त भइसकेको छैन । हामीकहाँ प्रविधि सम्बन्धी केही नयाँ परियोजनाहरू आए भने कानून र बुझाइको स्तरले लगानीकर्ताहरूलाई चिढ्याउँछ । एउटा उदाहरण, बेलायतमा बसिरहेका केही गैरआवासीय नेपाली युवाले नेपालमा ‘क्लाउड कम्प्युटिङ’ सम्बन्धी व्यवसाय गर्ने सोच बनाए ।

उनीहरूले विश्वविख्यात आईटी कम्पनीहरू अमेजन, माइक्रोसफ्ट, अलिबाबा लगायतको ‘क्लाउड’ सेवाको वैधानिक साझेदारको मान्यता प्राप्त गरिसकेका थिए । तर नेपालमा उनीहरूलाई कम्पनी दर्ता गर्नै एक वर्ष लाग्यो । सँगै प्रक्रिया शुरू गरेको बाङ्लादेशमा कम्पनी स्थापना भएर काम शुरू गर्न थालिसक्दा नेपालमा भने उनीहरू क्लाउडबारे बुझाउँदै विभाग र मन्त्रालय चहार्दै थिए ।

‘क्लाउड’ सेवा पूर्णरूपमा सञ्चालन भए ५०० जनालाई रोजगारी दिने र एक लाख डलरभन्दा बढीको मासिक कारोबार गर्ने उनीहरुको लक्ष्य थियो । अनेक प्रयत्नपछि कम्पनी दर्ता भयो तर हैरानी सम्झेर थप लगानी गर्ने कि नगर्ने ? निर्णयमा पुग्न सकिरहेका छैनन् । कम्पनीका एक व्यवस्थापक भन्छन्, “क्लाउड सेवाबारे हाम्रा नीतिनियम मात्रै होइन, पदाधिकारीको सोचाइ पनि स्पष्ट छैन । यही अवस्था कायम रहे कुनै पनि विदेशी प्रविधि कम्पनीहरू नेपाल आउँदैनन् ।”

हामी अहिले फेसबूक, ट्विटर वा गुगलको कार्यालय नेपालमा स्थापना भएको देख्ने सपना देखिरहेका छौं । यहीं मोबाइल फोन, गाडी बनेको हेर्न चाहिरहेका छौं । यी सपनालाई विपना बनाउन गर्नुपर्ने थुप्रै काम नगरेर गफ मात्रै गरिरहेका छौं ।

नेपालमा सञ्चालन हुने सामाजिक सञ्जालका कम्पनीहरू नेपालमै दर्ता हुनुपर्ने कुराले हामीलाई धेरै महीनासम्म ततायो । आफ्नो व्यवसायको निकै सानो अंशको रूपमा रहेको नेपाली बजारलाई ताकेर ती कम्पनीहरू दर्ता गर्न यहाँ आउँदैनन् । विश्वभरिमै सबैभन्दा छिटो वृद्धिदर हासिल गरिरहेको प्रविधिको क्षेत्रमा संयन्त्रगत र नीतिगत सुधार गर्न सक्यौं भने हामीले सोच्दै नसोचेका कम्पनीहरूले समेत नेपाललाई आफ्नो लगानीको गन्तव्य बनाउन सक्छन् ।

लगानी भित्र्याउन के गर्ने त ?

माइक्रोसफ्ट, फेसबूक, गुगल, आईबीएम, साइमेन्स लगायतका प्रख्यात कम्पनीहरूले सबै काम आफ्नो मुख्य कार्यालयमा गर्दैनन् । उनीहरुले मानवीय र भौतिक स्रोतमा हुने खर्च कटौती गर्न हरेक वर्ष नयाँ नयाँ ठाउँमा शाखा कार्यालय खोलिरहेका हुन्छन् । कतिले अन्य कम्पनीलाई कामको सीमित अंश पूरा गर्ने ठेक्का दिएका हुन्छन् ।

हाम्रो श्रम खर्च अन्य धेरै देशको तुलनामा सस्तो छ, प्रविधिसम्बद्ध विषय पढिरहेका ७ हजार ५०० विद्यार्थी प्रत्येक वर्ष दीक्षित भइरहेका छन् । इन्टरनेटको पहुँच विस्तारै बढ्दैछ । यो मौकालाई हामीले प्रविधिको क्षेत्रमा लगानी भित्र्याउने अवसरको रूपमा लिनुपर्छ ।

हामीले प्रविधिको क्षेत्रमा भित्र्याउन सक्ने सबैभन्दा पहिलो लगानी नै यही हो । लगानीकर्तालाई विभिन्न सहुलियत र सुविधा दिएर देशमा भित्र्याउन हरसम्भव प्रयास गर्नुपर्छ । आवश्यक परे प्रविधि क्षेत्रका लगानीकर्ता लक्षित बैठक हाम्रो वार्षिक क्यालेण्डरमै राखिनुपर्छ ।

अहिले भारत, फिलिपिन्स, इन्डोनेसिया, कम्बोडियाले समेत त्यसरी आउने लगानीलाई प्रश्रय दिन केही वर्षका लागि कर छुट दिने र पैसा फिर्ता लैजान सक्ने प्रावधान कानूनमा समेटेर सजिलो बनाइदिएका छन् । उनीहरूले युवालाई प्रविधि सम्बन्धी पढाइ वा तालिम लिन प्रोत्साहित गरिरहेका छन् । आईटी पार्कहरू निर्माण गरेका छन् । अन्य पूर्वाधारहरू धमाधम बनाइरहेका छन् ।

नेपालमा पनि लगानीकर्ता र राज्यलाई मनग्गे फाइदा दिनसक्ने प्रविधिका प्रशस्त विधा छन् । सरकारी तथ्याङ्कलाई आधार मान्दा पनि सूचनाप्रविधिको क्षेत्र निर्यातको सम्भावना बोकेका प्रमुख १९ क्षेत्रमध्ये एक हो । अहिले सबैभन्दा बढी निर्यात भइरहेको प्रविधिजन्य काममा तेस्रो पक्षका लागि वेबसाइट र एप निर्माण, एनिमेशन आदि पर्दछन् । यस्ता कामलाई प्रोत्साहन हुने गरी नियम कानून बनाइनुपर्छ ।

हाम्रो श्रम खर्च अन्य धेरै देशको तुलनामा सस्तो छ, प्रविधिसम्बद्ध विषय पढिरहेका ७ हजार ५०० विद्यार्थी प्रत्येक वर्ष दीक्षित भइरहेका छन् । इन्टरनेटको पहुँच विस्तारै बढ्दैछ । यो मौकालाई हामीले प्रविधिको क्षेत्रमा लगानी भित्र्याउने अवसरको रूपमा लिनुपर्छ ।

अर्कातिर, प्रशासन यन्त्रलाई प्रविधिको विकासक्रमबारे जानकार बनाउँदै लैजानु आवश्यक छ । प्रविधिसम्बद्ध कम्पनी दर्ता तथा सहजीकरण गर्ने निकायमा प्राविधिज्ञहरू खटाइनुपर्छ । नियम कानूनहरू समयसापेक्ष बनाउन परिमार्जन गर्दै जानुपर्छ । कानूनी जटिलता सुल्झाउँदै प्रविधि क्षेत्रमा हुने लगानीमा प्रश्रय दिंदै जाने हो भने लगानीकर्ताहरु अवश्य आउनेछन् । लाखौं युवाले रोजगारी पाउनेछन् र थप आर्थिक स्रोतहरू पनि भेटिनेछन् । 

प्रतिकृया दिनुहोस