सगरमाथा आरोहीको गाउँमा एक किलो नुनको रु. १८०
एक किलो नुनको रु १८० पर्छभन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर सोलुखुम्बुको खुम्जुङ–९ स्थित फोर्चे गाउँका बासिन्दाको बाध्यता हो उनीहरु एक किलो आयोडिनयुक्त नुनको रु १८० नै तिर्छन् ।
यस्तै उनीहरु प्रायः सामान्य किसिमको मन्सुली चामल प्रयोग गर्छन्, त्यसको मूल्य रु २४० देखि २५० सम्म पर्छ । फोर्चेका आङ छिरिङ शेर्पा भन्छन् “हामीले काठमाडौँभन्दा १० गुणा बढी मूल्य तिर्नुपरेको छ ।”
सदरमुकाम सल्लेरीसम्म ट्रकमा ल्याएको सामान त्यहाँबाट हेलिकोप्टर वा खच्चरलाई बोकाएर स्याङबोचे र त्यहाँबाट जोक्पेलाई बोकाएर फोर्चे पुर्याइन्छ ।
फोर्चेका अधिकांश घरपरिवार हिमाल आरोहणको आम्दानीबाट चलेका छन् । आलु र फापर मात्र उत्पादन हुने सो गाउँका सबै घरका पुरुष हिमाल चढ्न जान्छन् वा पर्यटकको भारी बोकेर विभिन्न हिमालको आधार शिविरसम्म पुग्छन् । पाँचपटक सगरमाथाको सफल आरोहण गरिसकेका फोर्चेका पासाङनुरु शेर्पाका अनुसार प्राय सबै घरबाट भारी बोक्न हिमालतिर जान्छन् । सोलुखुम्बुको खुम्जुङ–९ फोर्चे गाउँलाई हिमालको काख भनेर चिनिन्छ ।
यस गाउँमा ८५ परिवारको बसोबास छ । हेर्दा निकै सुन्दर देखिने यो गाउँभित्रको पीडा डरलाग्दो छ । आलु र फापर मात्र उत्पादन हुने यो गाउँमा पढेलेखेका कमै मात्र छन् । सक्ने हिमाल चढ्नेलाई सहयोग गर्दै शिखरसम्म पुग्छन् भने कोही पथप्रदर्शक भएर, कोही खाना पकाउने काम त कोही भारी बोक्ने काम लिएर हिमालको आधार शिविरसम्म पुग्ने गर्छन् । महँगीको मार खेपिरहेका उनीहरू वर्षमा एक पटक हिमाल चढेर पाएको करिब रु तीन लाखले परिवार चलाउन बाध्य छन् । हिमालको शिखर पुग्नेले त्यति कमाए पनि आधार शिविरबाट फर्कनेको कमाइ भने निकै कम हुन्छ ।रासस