आमहडताल भोलि बिहानबाट सकिने
सरकारले संसद्मा संविधान संशोधन विधेयक दर्ता गरेको विरोधमा प्रमुख विपक्षी नेकपा (एमाले)सहितका दलको आन्दोलनका कार्यक्रमअन्तर्गत यस क्षेत्रमा आह्वान गरिएको तीनदिने आम हडताल भोलि बिहानबाट अन्त्य हुने संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।
तीनदिने आमहडताल ४ पुस बिहानबाट सकिएपछि आन्दोलनको स्वरुप फेरिएको संयुक्त सङ्घर्ष समितिले जनाएको छ । सङ्घर्ष समितिले पुस १० गतेसम्मका लागि विभिन्न विरोधका कार्यक्रम सार्वजनिक गरेको एमालेका रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले जानकारी दिए ।
रुपन्देही जिल्लामा आन्दोलनका कार्यक्रमअन्तर्गत तीनदिने आमहडतालले रुपन्देही जिल्ला ठप्प भयो । बन्दमा यातायात, उद्योग, व्यवसाय, शिक्षण संस्थालगायत तीन दिनसम्म ठप्प रहेका थिए । बन्दकर्ताले रातिको समयमा समेत सडकमै बसेर धर्ना दिएका थिए ।
सरकारले पाँच नम्बर क्षेत्रको पहाड र तराई अलग गर्ने गरी प्रदेशको सीमा विभाजनलगायतका विषयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा तीन हप्तादेखि रुपन्देहीलगायतका जिल्लामा आन्दोलन चर्किएको छ ।रासस