मन्त्रीहरुलाई सिंगापुरबाट प्रधानमन्त्रीको ४५ मिनेट लामो निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओली ५ भदौदेखि उपचारका क्रममा सिंगापुर छन् । यो अवधिमा प्रधानमन्त्री ओलीले दुई पटक भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बोलाइसकेका छन् ।
प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान गर्नु अघिल्लो साँझ मन्त्रिपरिषद् बैठकबाटै मन्त्रिपरिषद सञ्चालन कार्यविधि संशोधन गर्दै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बस्नसक्ने व्यवस्था गरिएको थियो ।
त्यही संशोधित प्रावधानअनुसार प्रधानमन्त्री ओलीले ९ भदौ र मंगलबार (आज) बैठक बोलाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बोलाउने प्रावधानको चर्को विरोध गरेपछि प्रधानमन्त्रीका सचिवालयले भिडियो कन्फ्रेन्समार्फत् भएको बैठकलाई छलफल मात्रै भनेका छन् ।
तर, आजको बैठकमा मन्त्रीहरुले झण्डै एक घण्टा आफ्नो मन्त्रालयमा भइरहेको गतिविधिबारे जानकारी गराएका छन् । सरकारका प्रवक्ता एवम् सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाका अनुसार मन्त्रीहरुले मन्त्रालयले लिएको लक्ष्य र प्राप्त प्रगति विवरणबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरे ।
कार्यबाहक प्रधानमन्त्रीसहित मन्त्रीहरु उपस्थित बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीले ४५ मिनेट खर्चिएका थिए ।
मन्त्री बाँस्कोटाले हिमाल खबरसँग भने, “प्रधानमन्त्रीले अहिलेको अवस्था र चाल्नुपर्ने कदमबारे ४५ मिनेट जति सम्बोधन गर्नुभयो ।” प्रवक्ता बाँस्कोटाका अनुसार प्रधानमन्त्रीले सैद्धान्तिक कुरा बढी गरेका थिए । बैठक १ः४५ मिनेट चलेकाे थियाे ।
प्रधानमन्त्रीले मन्त्रीहरुलाई आफ्नो स्वास्थ्य सुधार भइरहेको र शुक्रबार संभवत स्वदेश फर्कन सक्ने बताएका थिए ।
प्रवक्ता बाँस्कोटाले भने, “बुधबार उपचार सकिदैछ । एक दिन उतै बस्नुहुन्छ र शुक्रबार संभवत स्वदेश फर्कनुहुन्छ ।”