उर्लंदो सय करोड अभियान– २०२० आरम्भ हुने
उर्लंदो सय करोड अभियान–२०२० को २१ गते (७ सेप्टेम्बर) देखि आरम्भ हुने भएको छ । कार्यक्रम डीएभी विद्यालय ललितपुरमा आयाेजना हुने आयाेजक अन्तर्राष्ट्रिय महिलावादी एेक्यबद्धता संगतले जनाएकाे छ।
‘उर्लंदो सय करोड’ अभियान बालिका तथा महिलाहरु माथि हुने अन्याय र शोषण विरुद्धकाे अभियान हो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्क अनुसार विश्वमा प्रत्येक तीनमध्ये एक महिला हिंसाको सिकार हुन्छन् ।
यो तथ्याङ्क सार्वजनिक भएपछि सन् २०१२ देखि यो अभियान शुरु गरिएको अभियन्ता कमला भसिनले बताइन् ।
आरम्भ कार्यक्रममा संगति ग्रान्ट अवार्ड प्रदान गर्नुका साथै मीतो मेमोरियल अवार्डको घोषणा हुने छ ।
कार्यक्रममा लैंगिक समानता, न्याय र शान्तिका लागि नेपाल लगायत दक्षिण एसियामा काम गरिरहेका महिला र संस्थालाई सम्मान गरिने प्रेस विज्ञप्तिमा जनाइएको छ ।
यस वर्षको संगति ग्रान्ट अवार्ड महिला केन्द्रित परियोजनाहरु मार्फत नेतृत्व, क्षमता अभिबृद्धि, सीप विकासमा योगदान गरेको भन्दै सृजनशील महिला समाज नेपाल, काठमाडौंलाई प्रदान गरिने जनाइएको छ ।
त्यसैगरी व्यक्तितर्फ मिथिला चित्रकला मार्फत विश्वमा लैंगिक समानता, सामाजिक समावेशीकरण, महिलाहरु र अन्य माथि हुने हिंसाको बारेमा सन्देश दिएको भन्दै सुनैना ठाकुरलाई प्रदान गरिने भएको छ ।
संस्थातर्फ एक लाख नगद राशिकाे पुरस्कारकाे व्यवस्था गरिएकाे छ भने व्यक्तितर्फ पचास हजार नगद अवार्ड प्रदान गरिने छ। मीतो मेमोरियल अवार्डको पनि त्यही दिन घोषणा हुने छ ।
महिला सशक्तीकरण, न्याय, मानव अधिकार र शान्तिका लागि कार्यरत प्रतिबद्ध दक्षिण एशियाली महिलाहरुलाई प्रदान गरिने यो अवार्ड यो वर्ष आजाद फाउन्डेसनमा किशोरी कार्यक्रममा भर्ना भएका ५० जना बालिकाहरुलाई उच्च माध्यमिक तहको अध्ययन पूरा गर्न सक्षम बनाउन प्रदान गरिने छ ।
यो अवार्ड नृत्यांगना, मानव अधिकारकर्मी स्व. मितो भसिन मलिकको सम्झनामा स्थापित अवार्ड हो।
सय करोड अभियान–२०२० अहिले दक्षिण एसियाका विभिन्न राष्ट्रमा मनाउन थालिएको छ ।
सय करोड अभियान–२०२० को घोषणासँगै संगत, टेवा लगायत विभिन्न महिला सम्बद्ध संस्थाहरुले वर्षभरि विभिन्न कार्यक्रमहरु गरेर मनाउने गरेका छन् ।