अन्तर्वार्ता/विचारमंगलबार, १७ भाद्र , २०७६

‘कांग्रेसमा हिन्दू धर्म भन्नेहरुले बीपी बुझेकै छैनन्’ (भिडियाे अन्तर्वार्ता )

सइन्द्र राई

नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूले विभागीय जिम्मेवारी नपाउँदै चारवर्षे कार्यकाल पूरा गर्दैछन्। यस अवधिमा संसदमा प्रतिपक्षी दलका रूपमा कांग्रेसको भूमिका राष्ट्रिय राजनीतिमै कमजोर र निष्प्रभावी देखिएको विश्लेषण भइरहेको छ। हिन्दू राष्ट्रको पक्षमा कतिपय नेताको स्वरले जनमानसमा अन्योल पनि छाएको छ। विकसित र परिवर्तित विचारधारालाई आत्मसात् गर्न नेता–कार्यकर्तालाई हम्मे परिरहेको छ। यही स्थितिलाई सम्बोधन गर्न कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्व सम्हालेर यसलाई सक्रिय पारेका छन्। ३८ सदस्यीय टोली सहित कांग्रेस कार्यकर्तालाई प्रशिक्षण दिन थालेका निधि, बीपी कोइरालाले लिएका दीर्घकालीन कार्यक्रम पुनः परिभाषित गर्नुपर्ने वेला भइसकेको बताउँछन्। निधिसँग हिमाल का लागि सइन्द्र राईले गरेको कुराकानीको संक्षेपः

 

नेपाली कांग्रेसले कार्यकर्तालाई भन्ने कुरा लगभग प्रष्ट छ । र, पनि अभियानकै जरूरी किन परेको हो ?

राजनीतिक दल निर्माणको न्यूनतम शर्त दर्शन, सिद्धान्त, विचार र अजेण्डा हुन् । त्यसपछि मात्रै सदस्यता, समर्थक र सङ्गठन संरचनाको कुरा आउँछ । राजनीतिक दलले आफ्ना सदस्यहरूलाई नियमित रूपमा प्रशिक्षण दिइरहनुपर्छ । प्रशिक्षित गर्नु भनेको दलको आस्था र विचार, राज्य सञ्चालन, जनताको हित र अधिकारका लागि पार्टीले लिएको दिशा र नीति तथा कार्यक्रमबारे जानकारी गराउनु हो ।

पार्टीप्रति भरोसा निर्माण गर्न र कांग्रेसले जनताको अधिकारका लागि गर्छ भन्ने विश्वास दिलाउन वैचारिक प्रशिक्षण चलाउनुपरेको हो । नेतृत्व र सदस्यहरूले नीति र अजेण्डा बुझेनन् भने त्यो दलले देश र जनताका लागि काम गर्न सक्दैन । त्यसैले अहिले नै चाहिन्छ भनेर तय गरेको नभई नियमित कार्यक्रमका रूपमा प्रशिक्षण चलाइएको हो ।

कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले हाम्रो र कम्युनिष्ट पार्टीको प्रशिक्षणमा धेरै भिन्नता हुन्छ । उनीहरू बन्द कोठामा सर्वहारा वर्गको अधिनायकत्व, जनवादी केन्द्रीयता जस्ता विषय पढाउँछन् भने हामी खुला समाजलाई विश्वास गर्छौं । प्रशिक्षणका सामग्री खुला समाजमा पाइन्छन् । तर खुला समाजमा रहेको भन्दैमा कुनै व्यवस्थित गतिविधि नगरी बस्ने भन्ने होइन ।  

 प्रशिक्षण अभियान चलाउन ढिलो भएन ?

अवश्य ढिलो भयो । हाम्रो विधानमा पहिले प्रशिक्षण विभाग थियो, सभापतिले कसैलाई त्यसको जिम्मा दिन्थे । १२औं महाधिवेशनपछि विभाग नभएर प्रतिष्ठान भएको छ । पदेन रूपमा उपसभापति त्यसको प्रमुख हुन्छ ।

पार्टीले मलाई उपसभापतिको जिम्मेवारी नै ढिलो दियो । म उपसभापति बनेपछि पुरुषोत्तम दाहाललाई प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्त गरें । त्यसपछि प्रशिक्षण गतिविधि भइरहेको छ ।

प्रशिक्षणका विषयवस्तु त पुरानै छन्, त्यसको पाठ्यक्रम परिवर्तन गर्नुपर्ने वेला आयो भन्ने लाग्दैन ?

त्यो महसूस भएको छ । कुनै पनि राजनीतिक शक्तिको प्रशिक्षण देशमा कस्तो राजनीतिक प्रणाली निर्माण भएको छ, त्यसमा आधारित हुनुपर्छ । देशको राज्य संरचनासँग पार्टी सहमत छ कि छैन ?

सहमत छैन भने केका लागि लड्न चाहन्छ ? पार्टी सहमत भए पनि पार्टीपंक्ति र जनताको मत चाहिं के छ ? यी तीन पक्ष सोचेर भावी दिशा तय गर्नुपर्छ ।

जस्तो, पञ्चायती व्यवस्था जनताको पक्षमा थिएन । त्यो वेला हामीले प्रशिक्षण कार्यक्रम, निर्णय र संघर्षको माध्यमबाट निर्दलीय पञ्चायती व्यवस्था ठीक छैन भन्यौं ।

त्यो वेला हामी शासन प्रणालीसँग सहमत नभएकाले कस्तो व्यवस्था चाहन्छौं भनेर प्रशिक्षण, नीति र निर्णयमा प्रष्ट पार्यौं । तर अहिले प्रशिक्षण गर्दा पञ्चायतको वेला जस्तो गरेर हुँदैन । अहिलेको कांग्रेसको आधार र उद्देश्य राष्ट्रियता, लोकतन्त्र र समाजवाद हो ।

यस बाहेक राज्य संरचनाले स्वीकारेका नयाँ चरित्रहरू गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणाली हुन् । यी परिवर्तनलाई कांग्रेसले पढ्नुपर्छ र यसै अनुसार अघि बढ्नुपर्छ ।

यी विचारमा पार्टी हिंडे जस्तो लाग्छ ?

पार्टीले पारित गरेको कुरा हो । वैचारिक भ्रम छ भने यस्तो प्रशिक्षणबाट तोडिनेछ । प्रशिक्षण भनेको पार्टी निर्णय बुझ्न/बुझाउनकै लागि त हो ।

महाधिवेशनबाटै निर्वाचित पदाधिकारीहरू नै हिन्दू राष्ट्रको अभियान, समानुपातिक समावेशिताप्रति विमति जस्ता पार्टी विधान र संविधानका प्रावधान विपरीतका गतिविधि गर्दै हिंडेका छन् नि !

कतिपयले कांग्रेसले संवैधानिक राजतन्त्र छोडेकाले पार्टीले बीपीको बाटो छोड्यो भनेका छन् । तर राजनीतिक विचार त विकसित भइसक्यो । समाज, संरचना र अन्तरसम्बन्धहरू विकसित भइसकेका छन् । पार्टीका केही साथीलाई धर्मनिरपेक्षताको बारेमा भ्रम छ । कांग्रेसले हिन्दू राज्य भन्नुपर्छ भन्ने उहाँहरूको जोड छ ।

बीपीको कुरा छोड्यो भन्नेहरूलाई बीपीकै कुरा सम्झाउँछु– बीपीले लिखित रूपमै नेपाललाई हिन्दू राष्ट्र भन्नु बेइमानी हो भन्नुभएको छ । बीपी धार्मिक स्वतन्त्रतामा विश्वास गर्नुहुन्थ्यो । अर्को कुरा, हिन्दू राष्ट्रको अजेण्डा २००७ सालको क्रान्ति र २०१५ सालको संसदीय निर्वाचनमा थिएन । राजा महेन्द्रले पञ्चायत शुरु गरेपछि मात्रै हिन्दू राष्ट्र भएको हो । कांग्रेसमा जसले हिन्दू राष्ट्र भन्छन्, उनीहरूले बीपी चिन्न सकेका छैनन् । संविधानले हिन्दूसँगै मुस्लिम, बौद्ध, इसाईहरूको अधिकारको सम्मान गरेको छ र कांग्रेसले पनि गर्नुपर्छ । राज्य कुनै धर्म विशेषको हुँदैन । साथीहरूमा भएका भ्रम निवारण गर्न नै प्रशिक्षण चल्दैछ ।

 लोकतान्त्रिक दलभित्र लोकतन्त्र चाहिं कमजोर हुँदै गयो भन्ने चिन्ता छ नि !

कांग्रेसभित्र लोकतन्त्र कमजोर छैन । लोकतन्त्र, स्वेच्छाचारिता र अराजकतामा अन्तर छन् । लोकतन्त्र नहुनु अधिनायकवादी र तानाशाही हुनु हो । यस्तै, लोकतन्त्र स्वेच्छाचारिता र अराजकतामा पुग्नु विकृति हो । कांग्रेसमा कोही चर्चामा आउन र सस्तो जनमत कमाउन दौडिएका छन् भने त्यसबाट मुक्त हुनुपर्छ । किनकि लोकरिझ्याइँतिर दौडिन थालियो भने लोकतन्त्र मर्छ ।

हिन्दू राष्ट्रको अजेण्डा २००७ सालको क्रान्ति र २०१५ सालको संसदीय निर्वाचनमा थिएन । राजा महेन्द्रले पञ्चायत शुरु गरेपछि मात्रै हिन्दू राष्ट्र भएको हो । कांग्रेसमा जसले हिन्दू राष्ट्र भन्छन्, उनीहरूले बीपी चिन्न सकेका छैनन् ।

कांग्रेसभित्र अराजकता बढ्यो भन्न खोज्नुभएको हो ?

हो, पार्टीमा अराजकता बढेको छ । तर कांग्रेसमा पूर्ण लोकतन्त्र छ । लेखक र टिप्पणीकारहरूसँग मेरो प्रश्न छ, तपाईंहरूले कांग्रेसमा लोकतन्त्र कसरी देख्नुभएको छैन ? जबकि, इतिहासदेखि वर्तमानसम्म नेतृत्व छनोट सधैं निर्वाचनबाट हुँदै आएको छ ।

तर, कांग्रेसमा लोकतन्त्र भनेको कोइराला...

तपाईंले गुटको कुरा गर्नुभयो । कांग्रेसमा गुटको रोग छ, म स्वीकार्छु । लोकतन्त्रको सबल पक्ष निर्वाचन हो भने दुर्बल पक्ष आन्तरिक रूपमा गुटहरू निर्माण हुनु हो । गुटले कांग्रेसलाई बिगारेको छ ।

यस प्रसङ्गमा खुलेर बताउँछु । निर्वाचन प्रक्रियाबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवासँग केन्द्रीय कार्यसमितिमा बहुमत छ । तर देउवाले निर्णय गर्न लाग्नुभयो भने रामचन्द्र पौडेल र कृष्ण सिटौला भन्छन्, ‘मसँग नसोधी र मेरो चाहना विपरीत निर्णय गर्नुभयो भने त्यस्तो निर्णय प्रक्रियामा भाग लिन्नँ र आउँदै आउँदिनँ ।’

अब भन्नुहोस्, यो लोकतान्त्रिक चरित्र हो ? त्यसपछि सहमति गर्नुपर्ने हुन्छ, भागबण्डा शुरु हुन्छ, गुटबन्दीले संस्थागत रूप लिन्छ । कांग्रेसमा गुट र गुटबन्दी छ भनेर लेख्ने टिप्पणीकारहरूसँग आग्रह छ– सुझाव दिनुहोस्, कांग्रेस अब बाँच्दैन भनेर मात्र भएन ।

गुटबन्दी चिर्ने उपाय चाहिं के छन् ?

गुटको अन्त्य नभए पनि यसको न्यूनतम उपचार छ । व्यक्तिलाई होइन, राजनीतिक विचार, दिशा, अजेण्डा, कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ । राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, अहिंसा र शान्तिबारे प्रष्ट अनि प्रतिबद्ध हुनुहोस् । व्यक्तिले गुट बढ्छ, नीतिलाई प्राथमिकता दिए गुटबाट मुक्ति पाइन्छ ।

कांग्रेसमा भएको गुटबन्दी र अन्तरघातको उपचार भनेको जस्तोसुकै अवस्थामा पनि रुख छापसँग ‘इमोसनल अट्याचमेन्ट’ हुनुपर्छ । झण्डा ओढेर मात्रै हुँदैन । प्रशिक्षणमा त्यही कुरा गरिन्छ ।

सहमतिको थलो संसद र असहमतिको थलो सडक भयो भने संसद सफल हुन सकिरहेको छैन भन्ने बुझ्नुपर्छ । प्रतिपक्ष भन्नासाथ ‘संसद र सडक’ भन्ने हामीकहाँ थेगो नै बनिसकेको छ । यसो भनिरहँदा कतिपयले विमलेन्द्र निधि सडकको विरोधी भन्लान् । तर यो सैद्धान्तिक बहस हो ।

हिजोका दिनमा व्यवस्था बदल्न सक्ने कांग्रेस अहिले निकै पछाडि परेको छ, किन ?

निश्चय नै २००७ साल, २०१५, २०३६, २०४६ साल र बहुदल आएपछि पनि कांग्रेसलाई देशले पछ्यायो । शान्ति प्रक्रिया, संविधान निर्माण र संविधान कार्यान्वयनमा पनि कांग्रेसलाई नै देशले पछ्यायो ।

अहिले सरकारमा कम्युनिष्ट छ । हामी कम्युनिष्ट सरकार मान्छौं, तर कम्युनिष्ट स्टेट मान्दैनौं । प्रधानमन्त्रीले शासन प्रणाली नै तोडमोड गर्न थाल्नुभएको छ । राजा, महाराजा जस्तो आफूलाई लागेपछि कानून बदलेर लोकतन्त्र, राष्ट्रियता र संविधान विरोधी काम भइरहेको छ । यसको विरोध गरिरहेकाले देशले अहिले पनि कांग्रेसलाई पछ्याइरहेको छ ।

तर संसददेखि सडकसम्म हेर्दा कांग्रेस भेटिएन भन्नेहरू पनि छन् नि !

यो विषयमा धेरै बहस गर्दिनँ । तर सर्वोत्तम संसदीय अभ्यासमा सडकको जरुरत नै पर्दैन । प्रतिपक्ष भन्नासाथ संसद र सडकमा सक्रिय हुनुपर्छ भन्ने मान्यता छ । साँच्चिकै संसदीय प्रणालीका पक्षपातीहरूलाई आग्रह गर्छु– संसदीय प्रणालीले तब मात्रै आदर्श रुपमा काम गरेको ठान्नुपर्छ, जब जनताका सबै सहमति/असहमतिको थलो संसद बन्छ ।

सहमतिको थलो संसद र असहमतिको थलो सडक भयो भने संसद सफल हुन सकिरहेको छैन भन्ने बुझ्नुपर्छ । प्रतिपक्ष भन्नासाथ ‘संसद र सडक’ भन्ने हामीकहाँ थेगो नै बनिसकेको छ । यसो भनिरहँदा कतिपयले विमलेन्द्र निधि सडकको विरोधी भन्लान् । तर यो सैद्धान्तिक बहस हो ।

कांग्रेसमा कतिपय अझै पनि बीपीले भनेको ‘हलो समाजवाद’ को अड्डी लिइरहेका छन् । बीपीले हलो भने भनेर अहिले विकसित अवस्थामा पनि हलो नै भनिरहने ? बीपी, माक्र्स, माओ, महात्मा गान्धीका पालामा थिएन भनेर स्याटेलाइटको प्रयोग नै नगर्ने ? आधुनिक प्रविधिको विकाससँगै समाजवादी कार्यक्रम बदलिंदै जानुपर्छ ।

यसको मतलब, संसदमा कांग्रेसको प्रस्तुति बलियो नै छ ?

संसदीय अभ्यासमा हामी कमजोर छैनौं । कांग्रेस निर्वाचनमा हारेपछि हामीमा केही शिथिलता थियो, यसलाई अस्वाभाविक मान्दिनँ । किनकि पार्टी र संसदीय दल मानिसहरू आबद्ध सङ्गठन भएका कारण त्यहाँ स्वाभाविक रूपमा मनोविज्ञान, निराशा, आक्रोश, पीडा, कुण्ठा सबै हुन्छ । अर्कातिर, सरकारको १०० दिन भन्ने पनि थियो । अवस्था कस्तो भयो भने, विरोध गरियो भने धैर्य नै नभएको आरोप लाग्ने, पर्खेर बसियो भने प्रभाव फितलो देखिने ।

कांग्रेस संसदमा निष्प्रभावी भयो भन्नेहरूलाई एउटा उदाहरण दिन्छु, दुई लिटर तेल हालेर कुनै गाडी वीरगञ्ज पुग्छ ? राजनीतिमा तेल भनेको भोट हो । कांग्रेसलाई थोरै सीटमा जिताउनुभएको छ, त्यसै अनुसार न हो संसदमा दगुर्ने । यो कुरा पनि बुझिदिनुपर्छ । भोट पाए अनुसार कांग्रेस संसदमा सक्रिय छ । प्रधानमन्त्रीकै भाषण संसदबाट हटाएको इतिहास कांग्रेसले बनायो । विधेयकहरू फिर्ता भइरहेका छन् ।

कांग्रेसको जनमत बढाउन अहिले पार्टीको गति सन्तोषजनक छ त ?

गति त धेरै बढाउनुपर्छ । कांग्रेसको आन्तरिक जीवनमा समस्या भएका कारण गुट/उपगुट छोडेर नीति, विचार र कार्यक्रमबाट निर्देशित हुनुपर्छ । हामीमा गल्ती छ र सच्याउनुपर्छ भन्ने बोध भएको छ । कम्युनिष्ट सरकार होइन, सत्ता बन्दै गयो भन्ने बोध भएको छ । जनताले कम्युनिष्ट चिन्ने अवसर पाउँदै गएकाले कांग्रेस बढी सचेत र गतिशील हुनुपर्छ ।

तपाईंले कांग्रेस बन्नका लागि दर्शन, विचार, कार्यक्रम जस्ता नीतिगत विषयलाई जोड दिनुभयो । तर संविधानले समाजवाद उन्मुख राज्यको कल्पना गरेको छ । समाजवादबारे कांग्रेस आफूभित्र प्रष्ट छ ?

समाजवाद उन्मुख अर्थनीति कांग्रेसले प्रष्टसँग बोकेको छ । राजनीतिक स्वतन्त्रता र आर्थिक समृद्धि सँगसँगै अगाडि बढ्नुलाई हामी लोकतान्त्रिक समाजवाद भन्छौं । दशवर्षे द्वन्द्वकालमा मानवीय क्षति र भौतिक संरचना जुन रूपमा ध्वस्त भएका थिए, आँकडा र अवस्था हेर्दा त देश नै कोल्याप्स हुनुपर्ने हो । तर देश र समाज बच्यो । त्यसको जग कांग्रेसले खडा गरेको अर्थनीति हो ।

कांग्रेसमा कतिपय अझै पनि बीपीले भनेको ‘हलो समाजवाद’ को अड्डी लिइरहेका छन् । बीपीले हलो भने भनेर अहिले विकसित अवस्थामा पनि हलो नै भनिरहने ? बीपी, माक्र्स, माओ, महात्मा गान्धीका पालामा थिएन भनेर स्याटेलाइटको प्रयोग नै नगर्ने ? आधुनिक प्रविधिको विकाससँगै समाजवादी कार्यक्रम बदलिंदै जानुपर्छ ।

भनेपछि बीपीले अघि सारेको समाजवादको रुपरेखालाई अपग्रेड गर्ने वेला भयो ?

हो, आधुनिक प्रविधिको विकास जसरी भएको छ, त्योसँगै बीपीको विचार र समाजवादी धारलाई विकसित गर्दै जानुपर्छ । मैले बारम्बार भनेको छु– मेरो हजुरबुवाका पालामा दलितको त कुरै छोड्नुहोस्, गैरदलितमाथि पनि भेदभाव हुन्थ्यो । तर पछि त्यही घरमा म मेरो साथीसँगै बसेर एउटै थालमा खान्थें । अब मलाई कसैले हजुरबुवाको बाटो बिरायो भन्यो भने हाँस्न बाहेक के गर्न सक्छु ?

कांग्रेसभित्र समय र अवस्थाअनुसार वैचारिक नीतिमा अलमल भएको हो ?

त्यो केहीमा मात्रै छ । कांग्रेसमा कतिपयलाई सभापति, पदाधिकारी र केन्द्रीय सदस्य बन्ने इच्छा होला । त्यसका लागि हिन्दूका कुरा, समाजवादले बाटो बिराएको कुरा गर्दा बीपीवादी भइन्छ र भोट पाइन्छ भन्ने भ्रम छ ।

धर्मलाई देश र पार्टीसँग जोड्न थाल्ने हो भने त ‘कांग्रेस पशुपतिनाथ’ भन्ने ? अब, नेकपाले जितेको ठाउँका धार्मिक स्थलको नाम अगाडि नेकपा थप्ने ? व्यक्तिगत फाइदाका लागि हिन्दू राष्ट्रको वकालत गर्नेहरूमा भएको भ्रम चिर्न प्रशिक्षण चल्छ । कांग्रेस आगामी निर्वाचनबाटै आफ्नो पुरानो स्वरूपमा फर्कन्छ ।

प्रतिकृया दिनुहोस