युद्ध भयो भने भारत र पाकिस्तानमा मात्र सीमित हुँदैन : इमरान खान
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आतंकवादको कुनै धर्म नहुने भन्दै इस्लाम शान्तिको धर्म भएको जिकिर गरेका छन्।
इस्लामिक सोसाइटी अफ नर्थ अमेरिकाको ५६औं सम्मेलनलाई आइतबार सम्बोधन गर्दै खानले कुनै एक व्यक्तिको अपराध कर्मका लागि पूरै समुदायलाई बदनाम गर्न नहुने पनि बताए।
उनले भने, "'आतंकवादलाई धर्मसँग जोड्न हुँदैन। आखिर मुसलमानहरुलाई शंकास्पद दृष्टिले किन हेरिन्छ? यूरोपमा पनि मुसलमानको धार्मिक स्थलहरुमा आक्रमण हुन्छ। अमेरिकामा सन् २००१ मा भएको आतंकवादी हमला अघि तमिल टाइगर आत्मघाती आक्रमण गर्थे। यसै कारण आतंकवाद कुनै पनि धर्मसँग जोडिएको हुँदैन। तर भारतले त कश्मीरीहरुको संघर्षलाई पनि आतंकवादसँग जोड्छ।"
सम्बोधनका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले कश्मीरको विषयमा भारतसँग भएको तनावबारे पनि बोलेका थिए। उनले परमाणु युद्धको आशंका र त्यसको भयावह परिणामबारे पनि चर्चा गरे।
खानले भने, ''यदि दुई परमाणु शक्ति सम्पन्न मुलुकबीच युद्ध भए त्यो सानो रुपमा सीमित हुँदैन। मैले मुस्लिम मुलुकका शासकहरुसँग कुरा गरेको छु। मलाई थाहा छ, भारतमा केही मानिस अहिले पनि नेहरू र गान्धीको विचारधारामा विश्वास गर्छन् । तर नरेन्द्र मोदी प्रधानमन्त्री बनेयता परिस्थिति बदलिएको छ।"
यद्यपि उनले अन्तर्राष्ट्रिय समुदायले कश्मीरको विषयमा आफ्नो उचित भूमिका खेल्नेबारे पनि अपेक्षा व्यक्त गरेका छन्।'' - एजेन्सी