पाँच घण्टामा डेढ करोड लुट्ने तीन चिनियाँ ह्याकर अझै फरार
पर्यटक भिषामा नेपाल आएर पाँच घण्टामै डेढ करोड लुट्ने तीन जना चिनियाँ ह्याकर फरार छन् । फरार ह्याकरलाई समात्न प्रहरीले चीन र भारतर्फका सीमाना फरारका पहिचानसहित खबर पठाइएको छ भने त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थललाई पनि खबर गरेको छ ।
बैंकहरुको सर्भर नै ह्याक गरेर शनिबार राजधानीका विभिन्न ब्यांकबाट डेढ करोड पैसा निकालिसकेका पाँच जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुका साथमा लुटिएको नेपाली रकम, विभिन्न देशका मुद्रा र ह्याक गर्ने सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।
तीन दिनका लागि पर्यटक भिषामा शुक्रबार मात्रै काठमाडौं आएका आठ जनाको चिनियाँ ह्याकरले प्रभु, एनआईसी एसिया, जनता, ग्लोबल आईएमई र सनराइज ब्यांकबाट एक करोड २६ लाख पैसा लिकालेका थिए । प्रभु ब्यांकको दरबारमार्ग शाखाबाट धेरै पटक पैसा निकालेको सूचना राष्ट्र ब्यांकको डाटामा पुगेपछि प्रहरीमा खबर गरिएको थियो ।
यसपछि डीएसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले २० भन्दा बढी कार्डसहित एक चिनियाँ ह्याकर समातेको थियो । यसैआधारमा प्रहरीले भाग्न लागेका अन्यलाई समेत समातेको थियो ।
प्रहरीमा उनीहरुले दिएको बयानअनुसार चीनबाटै ह्याकको योजनासहित यो टोली काठमाडौं आएको थियो । यी आठ जना पनि कुनै अन्तर्राष्ट्रिय गिरोहबाट सञ्चालित भएको हुनसक्ने प्रारम्भिक अनअुसन्धानमा देखिएको छ ।