नक्कली एयर होस्टेस बनेर ठगी गरेकाे अभियाेगमा पक्राउ
आफूलाई एयर होस्टेस हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।
राईले गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘फ्रेण्ड रिक्वेस्ट’ पठाउने र आफू जेट एयरलाइन्सको एयर होस्टेसका रुपमा काम गर्दै आएको बताउने राईलाई दुई पुरुषले दिएको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
राईले बुबा अमेरिका बस्ने, आमा डाक्टर, दाजु पाइलट भएको परिचय दिई मोबाइल र मेसेन्जरमा निरन्तर कुराकानी गरेर नजिक हुने र लामो समय कुराकानी गरेपश्चात् विवाह गर्नेसम्मको प्रलोभन दिएर विभिन्न आकस्मिक समस्या देखाई पुरुषसँग रकम मागी झुक्याएर ठगी गर्ने गरेको बताइएको छ ।
रकम नदिएमा आत्महत्या गर्ने भनी धम्की समेत दिने गरेको उनीहरूको उजुरीमा उल्लेख रहेको प्रवक्ता श्रेष्ठले बताए ।
राईलाई आइतबार झापा जिल्ला अदालतबाट ६ दिनको म्याद थप भई जिप्रका झापाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले बताए।