रिपोर्टआइतबार, ८ भाद्र , २०७६

डेंगु प्रकोपः पहाडी जिल्लामै प्रमुख ‘स्वास्थ्य समस्या’

रामु सापकोटा

साथमा लक्ष्मी गौतम पाँचथर

दक्षिण पूर्वी एशियाभर प्रकोपको रूपमा देखा परेको डेंगु रोग नेपालका पहाडी जिल्लामा समेत प्रमुख ‘स्वास्थ्य समस्या’का रुपमा देखा परेको छ ।

६ भदौमा सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा पहिलो पटक डेंगु रोग लागेर दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी छत्र मलासी ‘छायाँ’ (४२) को मृत्यु भयो । लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भयो ।

जेठाजु नारद मलासी भन्छन्, “लामो समयदेखि बिरामी परेकाले भारइल ज्वरोको समस्या होला भन्नेमा थियाैँ । रोग निको नभएपछि कैलालीतर्फ लाग्यौँ ।” उनी भन्छन्– “चिकित्सकले डेंगुका कारण उनको ज्यान गएको बताएपछि आश्चर्यमा परेका छौं ।”

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार अहिलेसम्म डेंगुका कारण डोटीमा एक जनाको मृत्यु भएको घटना रिपोर्ट भएको छ ।

त्यस्तै इडिसिडीका वरिष्ठ जनसंख्या प्रशासक घनश्याम पोखरेल अन्यत्र पनि डेंगु सङक्रमितको ज्यान गएको जानकारी सार्वजनिक भए पनि त्यसको आधिकारिक पुष्टि हुन नसकेको बताउँछन् ।

पहाड चढ्दै लामखुट्टे
खासगरी तराईका जिल्लामा बढी देखिने डेंगु पहाड उक्लिन थालेपछि जनस्वास्थ्य विज्ञहरुले चिन्ता प्रकट गर्न थालेका छन् । डेंगुकै कारण ज्यान गएपछि उनीहरुले यसलाई गम्भीर स्वास्थ्य समस्याका रुपमा लिएका छन् । डेंगु डोटीमा मात्र नभएर अन्य पहाडी जिल्लाहरुमा समेत देखिन थालेको छ ।

सुदुरपूर्वको मध्य पहाडी जिल्ला पाँचथरमा पनि डेंगु सङ्क्रमित बिरामी अस्पताल आउन थालेका छन् । पहिलो पटक २० साउनमा पाँचथरको फिदिम नगरपालिका–१ स्थित एउटै घरका दुई जना डेंगु सङ्क्रमित भेटिए । त्यसपछि ५ भदौमा उनीहरुसहित ७८ जनामा डेंगु पुष्टि भइसकेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख तेजवहादुर तुम्बापो बताँउछन् ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार फिदिम नगरपालिका–१ को फिदिम बजारमा डेंगु सङ्क्रमित धेरै भेटिएका छन् । त्यस्तै सोही नगरपालिकाको वडा नम्वर ११, १२ र फालेलुङ गाँउपालिका–२ एकतीन, हिलिहाङ गाँउपालिका–७, याङवरक गाउँपालिका र पाँचथरसँगै सिमाना जोडिएको तेह्रथुमको आठराई गाँउपालिकामा डेंगुका बिरामी भेटिएका छन् ।

पाँचथर जिल्ला अस्पतालका प्रमुख डा. बुद्धिबहादुर थापा तराइमा आउजाउ नगरेका व्यक्तिमा समेत डेंगु भेटिएको बताउँछन् । उनी भन्छन्– “पहाडी क्षेत्रमा भएको जलवायु परिवर्तनका कारण डेंगु सङ्क्रमित भेटिएको हुन सक्छ ”। फिदिमस्थित समर्पित अस्पतालका विशेषज्ञ डा. पुष्कर निरौलाले १० डिग्री सेल्सीयसभन्दा कम तापक्रम हुने उच्च पहाडी क्षेत्रमा पनि डेंगु सङ्क्रमित भेटिएको बताएका छन् ।

स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख तेजवहादुर तुम्बापोका अनुसार २२ असार अघिसम्म अस्पतालमा डेंगु परीक्षण गर्ने किट नभएको र शङ्का लागेपछि मात्रै बिरामीलाई नजिकैको समर्पित अस्पताल पठाउने गरिएको थियो । उनी भन्छन्– “जिल्ला अस्पतालमा डेंगु परीक्षण गर्ने किट आएपछि डेंगु सङ्क्रमित कति रहेछन् भन्ने थाहा हुन थाल्यो ।”

स्वास्थ्य कार्यालय पाँचथरले प्रदेश–१ को सामाजिक विकास मन्त्रालसँग थप किट र औषधि मागेको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्ती जिल्लामा ल्याइएको ३० थान किट सकिन लागेकाले थप मगाउनु परेको बताउँछन् । वस्तीका अनुसार स्थानीय नागरिकलाई डेंगुबाट बच्न आवश्यक सावधानी अपनाउन सर्कुलर जारी गरिएको छ ।

पहाडी जिल्ला तेह्रथुममा भदौ २ देखि ४ सम्ममा डेंगु सङ्क्रमित चार जना बिरामी फेला परे । जिल्ला अस्पताल तेह्रथुममा उपचार गर्न गएकाहरुमा डेंगु भाइरस पोजेटिभ देखिएको हो ।

यस्तै, काठमाडौं उपत्यकामा पनि डेंगु रोग सङ्क्रमित भेटिएका छन् । टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका मकवानपुर, धादिङ र काठमाडौंका ८५ जनामा डेंगुको भाइरस पोजेटीभ देखिएको छ । ६ भदौसम्ममा काठमाडौंका तीन जनासहित १३ जनाले अस्पताल भर्ना भएर डेंगुको उपचार गराएका थिए ।

सोही दिन टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत तीन जना स्वास्थ्यकर्मीलाई समेत डेंगु देखियो । अस्पतालको ट्रपिकल मेडिसिनका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला काठमाडौंमा डेंगु सङ्क्रमितको संख्या अझै बढ्न सक्ने भएकाले समुदाय स्तरबाटै जनचेतना अभियान सञ्चालन गर्नुपर्ने बताउँछन् ।

डा. बास्तोला भन्छन्– “अहिले काठमाडौैं उपत्यकामा लामखुट्टेको वृद्धिविकासका लागि चाहिने उचित तापक्रम भएकाले सङ्क्रमण बढ्ने देखिएको हो ।”

एक वर्षमा ३४५२ डेंगु सङ्क्रमित

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडि)का अनुसार आ.व. २०७५/०७६ मा डेंगुबाट सङ्क्रमितको संख्या ३ हजार ४२५ पुगेको छ । पाँच वर्ष अघि आ.व.२०७०/७१ मा डेंगु सङ्क्रमितको संख्या ३०२ मात्र थियो (हे.इन्फो) । आ.व. २०७५/७६ मा भने प्रदेश–१ मा ३ हजार १५२ र बाँकी ६ वटा प्रदेशमा २७३ डेंगु सङ्क्रमित भेटिएका छन् ।

यस वर्ष डेंगु सङ्क्रमितको संख्या बढेपछि इडिसिडिले डेंगु प्रकोपको घोषणा गरिसकेको छ । यो वर्ष ३० बैशाखदेखि २९ जेठसम्ममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य अस्पतालमार्फत परीक्षण गरिएका बिरामीमध्ये ५४८ जनामा डेंगुको सङ्क्रमण भेटिए । त्यसपछि २९ जेठमा स्वास्थ्य कार्यालय सुनसरीले धरानलाई ‘डेंगु प्रकोप क्षेत्र’ घोषणा गरेको थियो ।

अघिल्ला वर्षहरुमा मनसुन सकिएपछि छिटफुट देखिंदै आएको डेंगु यस वर्ष धरानमा मनसुन शुरु हुनुभन्दा अघि नै महामारिको रुपमा देखाप-यो । प्रि–मनसुनमै डेंगु देखिएपछि स्वास्थ्य मन्त्रालयलाई रोग नियन्त्रण गर्न सकस परेको थियो ।

पछिल्ला वर्ष पहाडमा पनि डेंगु सङ्क्रमित देखिनुको कारण के हो ? इडिसिडिका वरिष्ठ जनसंख्या प्रशासक घनश्याम पोखरेल बढ्दो शहरीकरण र जलवायु परिवर्तनका कारण पहाडी जिल्लामा पनि लामखुट्टे देखिन थालेको बताउँछन् । पोखरेल भन्छन्, “लामो समयसम्म पानी जम्मा गरेर राख्नु, घरमा एयरकुलरको प्रयोग बढ्नु, जथाभावी फ्याँकिएका टायरमा पानी जम्नु र सरसफाईको कमी हुनुले लामखुट्टे वृद्धि हुन उपयुक्त वातावरण भएको छ ।”

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको सामुदायिक स्वास्थ्य तथा जनस्वास्थ्य विभागका वातावरण र स्वास्थ्य विषयका प्रध्यापक बन्धना प्रधान पछिल्ला वर्षहरुमा लामाखुट्टेका लागि अनुकूल वातावरण बन्दै गएकाले डेंगु हिमाली र उच्च पहाडी क्षेत्रमा समेत देखिन थालेको बताउँछिन् ।

जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पारेको असरबारे अध्ययन गरिरहेकी प्रध्यापक प्रधान भन्छिन्, “चिसो शुरु हुने महिनामा समेत तापक्रम बढेकाले लामखुट्टे जताततै फैलने वातावरण बनेको हो ।”

दक्षिण पूर्वी एशियाभर प्रभाव
डेंगु सङ्क्रमण नेपालमा मात्रै होइन दक्षिण पूर्वी एशियामा प्रमुख स्वास्थ्य समस्याका रुपमा देखा परेको छ । यसको प्रकोप बाङ्लादेश, भारत, श्रीलङ्का, भुटान, म्यानमार, थाइल्याण्ड, मलेशिया, सिङ्गापुर, फिलिपिन्स लगायतका मुलुकसम्म फैलिएको छ । यो क्षेत्रमा किटजन्य रोगमध्ये डेंगु नै प्रमुख स्वास्थ्य समस्याका रुपमा देखा परेको छ ।

श्रीलङ्कामा सन् २०१९ को पहिलो सात महिनामा दुई लाख बढी डेंगु सङ्क्रमित भेटिए, ती मध्ये ४७ जनाको मृत्यु भयो । बाङ्लादेशमा एकैदिन (२ अगष्ट २०१९ मा) १९ हजार ५१३ जना डेंगु सङ्क्रमित भेटिए ।

म्यानमारमा सन् २०१९ को पहिलो सात महिनामा १० हजार ७५७ डेंगु सङ्क्रमित भेटिएकामा ४८ जनाको मृत्यु भयो । थाइल्याण्डमा ४९ हजार १७४ जनामा डेंगुको भाइरस भेटिएकामा ६४ जनाको मृत्यु भयो । यस्तै, फिलिपिन्समा ८८ हजार ५९८ जना सङक्रमित भए, भने ३८४ जनाको मृत्यु भयो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार एडिस एजेप्टाइ र अल्बोपिक्टस जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेंगु भाइरसको सङ्क्रमण हुन्छ । किट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्मको हुने भए पनि लामखुट्टेले पारेका फुलहरू उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ ।

लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउसो मात्र टोक्छ । एडिस एजेप्टाइ र अल्बोपिक्टस जातको सङ्क्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको ठाउँमा फुल पार्न सक्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ट्रपिकल मेडिसिनका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला डेंगु प्रमुख स्वास्थ्य समस्या भए पनि वातावरणीय अवस्थाले यो रोग लाग्ने भएको हुँदा विज्ञहरू घर वा समुदाय वरपर सरसफाइ गर्न, घरभित्र भाँडामा भएको पानीलाई छोपेर राख्न, पानी जम्न सक्ने खाल्डाखुल्डी पुर्न र झ्यालमा जाली लगाउन सुझाउँछन् ।

उनी डेंगुबाट जोगिन घर वरिपरिको वातावरण सफा राख्न, लामखुट्टे नष्ट गर्ने अभियान चलाउन र लामखुट्टेले नटोकोस् भनेर अनिवार्य झुल टागेर मात्र सुत्नुपर्ने बताउँछन् । चिकित्सकहरूका अनुसार डेंगुको विशिष्ट उपचार नभए पनि, समयमै पत्ता लगाई उपचार थाले बिरामीमा यसको प्रभाव कम हुनुका साथै सङ्क्रमणमुक्त बनाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस