घरेलु मैदानमा उर्लिएका दर्शक सामू राष्ट्रिय खेलमै लज्जास्पद हार
नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेल मानेको छ । २०७४ को जेठ पहिलो सातादेखि भलिबल नेपालको राष्ट्रिय खेल हो ।
अनि, तीन दिनदेखि काठमाडौंमा जारी खेलमा बुधबार नेपालले इतिहास रच्ने मौका पाएको थियो । पहिलो खेलमा किर्गिस्तानसँग सोझो सेटमा पराजित भएपनि माल्दिभ्ससँग जित निकाल्दै सेमिफाइन पुग्ने अवसर नेपालले पाएको थियो ।
तर, माल्दिभ्ससँगको खेलमा पनि नेपाल सोझो सेटमा पराजित भयो । माल्दिभ्ससँग नेपाल २२–२५, २२–२५ र १४–१५ ले पराजित हुन पुग्यो । यो निर्णयसँगै नेपाल घरेलु मैदानमा प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।
नेपाल रहेको समूह ‘ए’मा तीन समूह मात्रै भएकाले एक खेल जिते मात्रै पनि अर्को चरणमा प्रवेश गर्ने अवसर पनि नेपाललाई थियो । तर, खेल नै कमजोर भएपछि सवै सहज सम्भावना पनि टाढा हुने नै भयो ।
यसका साक्षी भए, सैनिक मैदान लगनखेल पुगेका नेपाली दर्शकहरु । खासै चर्चा नहुने तर, नेपालका पहाडी क्षेत्रको महत्वपूर्ण खेल भलिबल हेर्न दर्शक उर्लिएका थिए । जसले नेपालको लज्जास्पद हार हेरेर फर्किए ।
प्रतिश्पर्धी समेत नदेखिने पराजित हुनुमा मूख्यगरी तीन कमजोर देखिए । एक, खेलाडीहरुमा आत्मविश्वासको अभाव । लगातार दुई सेट जितेपनि खेलमा फर्कन सकिन्छ भन्ने आत्मविश्वास नेपाली खेलाडीमा देखिएन ।
किर्गिस्तान र माल्दिभ्ससँगको दुवै खेलमा नेपाली खेलाडीमा आत्मविश्वास देखिएन । दोस्रो, खेलको संयोजन मिलेन । यसमा थुप्रै पक्ष पर्छन् । मुख्यगरी व्यवस्थापनको कमजोरी हो ।
महत्वपूर्ण भने राष्ट्रिय खेल भनेर निर्णय गर्ने सरकारले आवश्यक अभ्यास गराउन सकेन । जसको प्रमाण हो, खेलाडीहरु आफै जुधेको धेरै पटक देखियो । एकअर्काबीचको समन्वय देखिएन ।