सर्वदलीय बैठकमा भएका तीन छलफल
केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो पटक मंगलबार साँझ सर्वदलीय बैठक बोलाइयो । यसअघि सभामुख कृष्णबहादुर महराले २० साउनमा सर्वदलीय बैठक बोलाएका थिए ।
सभामुख महराको सर्वदलीय बैठकपछि महीना दिन लामो अवरुद्ध संसद सञ्चालनमा आयो । त्यसको १६ दिनपछि प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीयमा भने मूख्यगरी तीन वटा विषयमा छलफल भएको छ ।
पहिलो– प्रधानमन्त्री ओली १० दिनका लागि सिंगापुरमा उपचारका लागि जाने भएकाले यसबारे जानकारी गराइएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले भने, “बैठकमा प्रधानमन्त्रीले ८/१० दिन उपचार जाने जानकारी गराउनुभयो । अरु खासै केही भएन ।”
दोस्रो– प्रतिगामीको चलखेल बढेकाले प्रगतिशील शक्ति एक हुनुपर्छ भन्ने प्रधानमन्त्रीले प्रस्ताव गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले संविधान बचाउन सवैलाई आग्रह गरे ।
तेस्रो– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधेयकबारे प्रश्न उठाए । विधेयकहरु सरकारले पेलेर पारित गराएकाले यसबारे छलफलको प्रस्ताव कांग्रेसले राख्याे ।