प्रदेश २ का दलित महिला वडा सदस्यहरूको भेला जनकपुरमा
प्रदेश २ का विभिन्न जिल्लाका दलित महिला वडा सदस्यहरूको सम्मेलन जनकपुरमा शुरु भएको छ ।
दलित महिलाको अधिकारका लागि काम गर्ने संस्था दलित महिला संघ (फेडो) ले आयोजना गरेको दुई दिने सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले जातीय र लैंगिक आधारमा कसैमाथि विभेद नहुँदा मात्रै मुलुकको विकास हुने बताए ।
प्रदेश २ का स्थानीय तहको वडा तहमा निर्वाचित दलित महिलाहरूको भेलामा मुख्यमन्त्री रावतले प्रदेश दुई सरकारले दलित सशक्तीकरण विधेयक ल्याउन लागेको जानकारी पनि दिए ।
साथै मुख्यमन्त्री राउतले दलित महिला सदस्यहरूलाई आफ्नो वडाले गर्ने कामहरू बारे जानकारी लिन आग्रह गर्दै आफ्ना सबै बालबालिका विद्यालय पठाउन पनि आग्रह गरेका छन् ।
सम्मेलनमा प्रदेश २ का विभिन्न जिल्लाका गरी करीब एकसय जना दलित महिला वडा सदस्य तथा केही दलित समुदायबाट निर्वाचित उपप्रमुखहरू सहभागी भएको फेडोका अध्यक्ष कला स्वर्णकारले जानकारी दिइन् ।
सम्मेलनमा वडामा दलित महिला सदस्यहरूको भूमिका र अधिकारका बारेमा भोलिसम्म छलफल हुनेछ ।
फेडोले दलित महिलाको अधिकारका क्षेत्रमा काम गरेको २५ वर्ष पुगेको अवसरमा काठमाडौं उपत्यकासहित प्रदेशहरूमा दलित महिला वडा सदस्यहरूको सम्मेलन गर्दै आएको छ ।
कार्यक्रममा फेडोका संस्थापक अध्यक्ष दुर्गा सोबलगायत विभिन्न व्यक्तिले उनीहरूलाई आफ्नो हकअधिकारका बारेमा जानकारी गराउने छन् ।
अधिकांश दलित महिला सदस्यले वडामा जितेर पनि आफूले केही गर्न नपाएको गुनासो गर्ने गरेका छन् । त्यसैलाई मध्यनजर गर्दै सबै प्रदेशमा यस किसिमको कार्यक्रम गरिएको फेडोले जनाएको छ ।