बालक हत्याको आरोपमा तीनजना पक्राउ
सप्तरीको हरिपुर गाविसमा एक बालकको हत्याको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
बालकको हत्या भएको तीन सातापछि छिमेकीको शौचालयको सेफ्टी ट्यांकीबाट शव बरामद गरेको प्रहरीले घट्नामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई ३० मंसीरमा सार्वजनिक गरेको हो ।
हरिपुर–३ का रामगोबिन्द साहका ८ वर्षीय छोरा दुर्गानन्द साहको हत्या आरोपमा प्रहरीले सोही ठाउँ बस्ने चुडामणी ठाकुर, रामबाबु गुप्ता साह र सप्तरीकै देउरी–२ का कपिलदेव दासलाई पक्राउ गरेको छ ।
प्रहरी उपरीक्षक दिवेश लोहनीका अनुसार ११ मंसीरमा ठाकुर र साह मिलेर बालकको अपहरण गरी सोही राति हत्या गरेका थिए ।
बालक दुर्गानन्द ११ मंसीरमा घरबाट वेपत्ता भएपछि परिवारले खोजी गरिरहेकै बेला १६ मंसीरमा बालकका आमा ममता साहको मोवाइलमा रु पाँच लाख फिरौति माग गरिएको एसएमएस पठाइएको थियो ।
फिरौतिको माग गर्ने ठाकुर र साहले एसएमएस पठाएपछि उक्त मोबाइल फोडेर सिम कार्ड लुकाएको र एनसेलको उक्त नम्बर दर्ता समेत नभएकाले अनुसन्धानमा अप्ठ्यारो परे पनि अनुसन्धान गर्दै जाँदा अभियुक्तलाई फेला पारिएको एसपी लोहनीले बताए ।
राजविराजमा एनसेलका सिम विक्रेतालाई समेत अनुसन्धान गर्दै जाँदा मनिषा कम्युनिकेशन एण्ड मोवाइल रिपेयरिङ्ग सेन्टर सञ्चालन गर्दै आएका कपिलदेव दासले एकै पटक ठाकुरलाई रेकर्ड नराखी १० वटा सिमकार्ड दिएको थाहा पाएपछि सोही आधारमा ठाकुरलाई पक्राउ गर्न सफल भएको लोहनीले बताए । प्रहरीले कपिलदेवलाई पनि पक्राउ गरेको छ ।
तीनै जनालाई पक्राउ गरेपछि उनीहरुले नै बालकको हत्या गरी छिमेकी पन्नालाल साहको शौचालयको सेफ्टी ट्यांकमा शव फालेको स्वीकारेको डिएसपी दानबहादुर कार्कीले बताए ।
उनीहरुले ११ मंसीरमै बालकको हत्या गरेको र सोही रात शव शौचालयको ट्यांकमा फालेपछि फिरौति रकम माग्न थालेको कार्कीले जानकारी दिए ।
श्रवणकुमार देव, राजविराज