टिप्पणीशनिबार, ३२ श्रावण , २०७६

एउटा यस्तो भोजनालय. . .

केदार शर्मा

काँसका बुट्टे थालहरूमा खाना आएपछि मिथिलाका अरू परिकार थपिंदै गए । भात, दाल, तिलकौरका पात लगायत अनेक कुराका तरुवा, बडी, अधौरी, खिचडी, आमिलको झोल, कच, बिरिया के के हो के के. . . !

जनकपुरले धेरै कुरा सिकाउन सक्छ ।

जनकपुरको गङ्गासागरमा दैनिक हुने गङ्गा आरती जस्तै आरती हिजोआज अन्यत्र पनि हुन थालेका छन् । माडर (सिरहा) को मन्दिरमा हरेक बुधवार हुने दुर्गा आरती, हलेसी (खोटाङ) र जलेश्वर (महोत्तरी) का महादेव मन्दिरहरूमा हरेक सोमवार हुने शिवगङ्गा आरती, वीरगञ्जको घडीअर्बा पोखरी (पर्सा) मा हरेक आइतवार हुने सूर्यगङ्गा आरतीको प्रेरणास्रोत जनकपुरको गङ्गा आरती नै हो । प्रेरणा मात्र होइन, ती ठाउँहरूमा हुने आरतीको विधिविधान र व्यवस्थापनको सीप पनि जनकपुरबाटै प्राप्त भएको हो ।

२०७१ जेठमा गङ्गा दशहराको दिनदेखि शुरू भएको जनकपुरको गङ्गा आरती मलाई काठमाडौंको पशुपति क्षेत्रमा हुने आरतीभन्दा मौलिक लाग्छ । बनारसबाट बोलाइएका एक जना पण्डितले सिकाएका भए पनि जनकपुरको आरतीमा जनकपुरकै माटोको सुवास आउँछ ।

डा. राजेन्द्र विमल, रमेशरञ्जन झ र प्रवेश मल्लिकले लेखेका शब्दको गीत–आरतीहरूमा प्रवेश र सुनिल मल्लिकले गरेको सङ्गीतले मौलिक स्वाद दिन्छ, खासगरी नेपालका अधिकांश मन्दिरमा घन्किने ‘बलिउडी’ पाराका भजन–आरतीहरूले दिक्क भएका मनहरूलाई ।

शब्द र सङ्गीतको मौलिकतालाई सुनिल र प्रवेशसँगै ललित कामत, नेहा प्रियदर्शिनी, सङ्गीता देव, निहारिका मल्लिक, शिवानी भगत जस्ता मैथिलभाषी गायकहरूको स्वरले अझ् माझ्ेको अनुभूति हुन्छ ।

मन्दिरहरूमा भारतीय शैलीका, बलिउडी भजन–कीर्तन घन्काउनेहरूले पूजा आराधना र आरतीको मौलिकपन र संस्कार गंगा आरतीबाट सिके हुन्छ ।

मौलिकता, सौन्दर्य, सरसफाइ र निरन्तरताका कारण गङ्गा आरती जनकपुरको एउटा महत्वपूर्ण ‘प्रडक्ट’ र त्यो धार्मिक नगरकै गहना भएको छ । तीर्थाटन गर्दै जनकपुर पुगेकाहरू मात्र होइन, अरू प्रशासनिक, व्यापारिक वा विकासे दौडाहामा गएकाहरूमध्ये धेरै साँझ्मा गङ्गासागर पुग्छन् र त्यहाँको धार्मिक–सांस्कृतिक वातावरणको सुखानुभूति गर्छन् । २५ मिनेट लामो उक्त कार्यक्रममा सङ्कल्प पछि तीन जना पण्डितबाट सात किसिमले आरतीको अनुष्ठान पूरा गरिन्छ ।

बनारसी पण्डितबाट प्रशिक्षित पहाडे–मधेशी दुवै मूलका स्थानीय पण्डितहरूले शुरू गरेको गङ्गा आरतीको टोलीमा अहिले ६ जना पण्डित र ६ जना कर्मचारी कार्यरत छन् । पण्डितहरूको आरती गर्ने पालो दिन बिराएर पर्छ ।

वर्षको ३६५ दिन नै गरिने यहाँको आरती गंगा दशहराका दिनमा चाहिं पाँच जना पण्डितबाट गराइन्छ । जानकी नवमीको दिनको आरती गङ्गासागरमा नभएर जानकी मन्दिरको बाहिरी प्राङ्गणमा ‘जानकी आरती’ का रूपमा गरिन्छ ।

२०७० फागुनमा ‘स्वच्छ जनकपुरधाम महाअभियान’ का नाममा गङ्गासागरको सफाइ शुरू गर्ने अभियानीहरूले जनकपुरको ऐतिहासिकताको संरक्षण गर्ने उद्देश्यले ‘सेभ हिस्टोरिकल जनकपुर’ (सेहिज) नामक संस्था गठन गरे । त्यसै संस्थाले शुरू गरेको हो, सायंकालीन गङ्गा आरती ।

दिनको करीब रु.३५०० खर्च हुने यो आरती कार्यक्रमका लागि चाहिने सबै रकम त्यहाँको दानपेटिकाबाट जम्मा हुन्छ । कुनै दाताले कुनै दिन विशेषको पूरै खर्च बेहोर्न मन गर्‍यो भने त्यो रकम समेत दानपेटिकामा हालिन्छ ।

दानपेटिकाहरू धेरै जनाको रोहबरमा महीनामा एक पटक खोलिन्छ र पैसा ब्याङ्क दाखिला गरिन्छ । सेहिजका कोषाध्यक्ष राजकुमार महासेठ भन्छन्, “सबै खर्च ब्याङ्क मार्फत मात्र गर्नु हाम्रो वित्तीय कुशलताको एउटा कारण हो ।”

उद्यमी तथा विश्लेषक मनीष झा भन्छन्, “बेलुकाको आरतीले स्वास्थ्य र स्रोत दुवै जोगाएको छ । यहाँ आरती नहुँदा साथीभाइसित भेला भएर होटलमा साँझ् बिताइन्थ्यो, अहिले जनकपुरमा भएका बेला आरती छाड्न मन लाग्दैन । साँझ होटलमा टाइम पास गर्न लाग्ने खर्चको एउटा अंश यहाँ दान गर्‍यौं भने यहाँको एक दिनको खर्च टर्छ ।”

आशा छ, गङ्गा आरतीबाट प्रेरित र प्रशिक्षित अरू ठाउँमा पनि यस्तै कुरा सुन्न पाइन्छन् ।

अब जनकपुरले अरूलाई सिकाउनुपर्ने कुरा हो, रैथाने खाना प्रवद्र्धनको सीप र शैली । चाह्यो भने जनकपुरले सक्छ । रामाशिष यादव, राजकुमार महासेठ र अमित झहरूको टीमले सक्छ ।

गङ्गा आरतीपछि त्यही परिसरमा पस्किने ‘मिथिलाक भोजन’ ले जनकपुरमा अनुभव गरिएको रैथाने खानेकुरा पस्किने भोजनालयहरूको अभावलाई धेरै हदसम्म पूरा गर्न सक्छ ।

 

•••

धार्मिक स्थल परिसरमा भएकाले यहाँ शाकाहारी खानेकुराको मात्र व्यवस्था रहेछ । मैले दुईवटा टिकट किनें । रु.१ हजारको नोट दिएँ, रु.१६ फिर्ता आयो । प्रतिथाली रु.४०० मा १३ प्रतिशत भ्याट र १० प्रतिशत सेवाशुल्क लिइएको रकम थियो, त्यो ।

त्यस दिनका पाहुना भेला भइसकेपछि एक जना युवक अगाडि सरे, र अलिक अग्लो ठाउँमा उभिएर भन्न थाले –

“यहाँहरू सबैलाई स्वागत छ । हामी भोजनालयमा प्रवेश गर्नुअघि म केही कुरा बताउन चाहन्छु । यीमध्ये धेरै कुरा मिथिलाको खानपान र लोक परिकारसित सम्बन्धित छन् ।

हामीकहाँ अन्य धेरैतिर जस्तो हातगोडा धोएर, भुइँमा ओछ्याइएको आसनमा बसेर खाना खाने चलन छ ।”

उनले औंल्याए, “जुत्ता राख्ने ठाउँ यता छ, गोडा धुने ठाउँ उता छ । भुइँमा बस्न कठिनाइ हुने अतिथिहरूका लागि केही चौकाहरूको पनि व्यवस्था गरिएको छ ।

हामीले एउटा कुरामा भने परम्परालाई अलिकति छाडेका छौं । मिथिलाञ्चलमा पाहुनाहरूलाई कर गरी–गरी खाना खुवाउने चलन छ । हामी यहाँहरूले मीठो मानेर धेरै भोजन ग्रहण गरिदिनुभयो भने खुशी हुन्छौं । थपेर खाना लिइदिन अनुरोध गर्छौं, कर भने गर्दैनौं ।

हाम्रो साग–कनको भोजन ग्रहण गर्न आउनुभएकोमा कृतज्ञ छौं ।”

हामीले मुखामुख गर्‍यौं, के खानामा साग र कनिका मात्र छ त ?

छेउका एक जनाले सुनेछन्; भने, “जति खानेकुरा भए पनि केही छैन भनेर धेरै खुवाउने यहाँको शिष्टाचार नै हो । खानेकुरा भरे खाइनसकिने गरी आउँछन् ।”

उद्घोषकले थपे, “स्वयंसेवकहरूले खानाको विवरण बताउनुहुन्छ । आफूलाई रुचि नभएका खानेकुरा नलिन अनुरोध छ ।”

मिथिलाका परम्परागत घरहरूमा भन्दा त्यहाँ एउटा फरक दृश्य देखियो । महिलाहरू पनि खानेकुरा बाँड्ने काममा अग्रसर भएर लागेका थिए ।

हामी जुत्ता खोलेर, त्यहीं राखिएका चप्पल लगाएर गोडा धुन गयौं । गोडा धुने ठाउँमा धारा पनि थिए र बाल्टी, मगहरू पनि थिए । गोडा धोएर आउँदा हामीलाई एक एक वटा गम्छा दिइयो, ती गम्छा हामीले स्वयंसेवकहरूले जसरी नै आ–आफ्ना काँधमा राख्यौं र लहरै भुइँमा ओछ्याइएका पिर्का माथिका, मिथिला शैलीका चित्रहरू भएको कपडाका चकटीहरूमा बस्यौं । भुइँमा बस्न गाह्रो हुने केही व्यक्ति चौकातिर बसे ।

पानीका लागि मिथिलामा ‘सुवर्णा’ भनिने करुवा र गिलास राखियो । काँसका बुट्टे थालहरूमा खाना आयो ।

विस्तारै खानेकुरा थपिंदै गए ।

भात, दाल, तिलकौरका पात लगायत अनेक कुराका तरुवा, बडी, अधौरी, खिचडी, आमिलको झेल, बिरिया, कच, तरुल, अरिकञ्चन के के हो के के...

थरीथरीका अचार र मुरब्बाहरू । अनि अन्त्यमा गुलियो सकरौरी र दही !

वाह मिथिला... !

मैले तुलसीकृत रामायणमा वर्णन गरिएको मिथिलाको भोजन सम्झ्ें–

सो जेवनार कि जाइ बखानी ।

बसहिं भवन जेहिं मातु भवानी ।।

सादर बोले सकल बराती ।

बिष्नु बिरंचि देव सब जाती ।।

बिबिधि पाँति बैठी जेवनारा ।

लागे परुसन निपुन सुआरा ।।

नारिबृंद सुर जेवँत जानी ।

लगीं देन गारीं मृदु बानी ।।

 

हामी तृप्त भयौं ।

उद्घोषकले भने, “हामी साताका प्रत्येक दिन नयाँ खानेकुरा पस्किने प्रयास गर्छौं । भोलि आउनुभयो भने थप नयाँ खानेकुरा पाउनुहुनेछ ।”

हामीलाई भोलिपल्ट पनि त्यहाँ आउने रहर जाग्यो ।

बाहिर निस्किएपछि मैले अमित झलाई सोधें, कसरी सम्भव यो सबै ? यस्तो ‘जेवनारा’ गराउने आँट कसरी आयो ?

उनले प्रदेश सांसद रामाशिष यादवका मुखमा हेरे । यादवले भने, “हामीले यो सबै एउटा सहकारी मार्फत गरेका हौं । सबभन्दा पहिले पकाउन बनाउनमा चाख भएका २५ जना महिलाको सहकारी गठन गरियो । सम्भव भएजति सबै खाद्य सामग्री उहाँहरूले नै उपलब्ध गराउने र पालो बाँधेर उहाँहरूले नै पकाउने बनाउने कामको जिम्मा लिने बित्तिकै सबै काम सस्तैमा र सजिलै सम्भव भयो । यसको सबभन्दा राम्रो पक्ष, दिदीबहिनीहरूले आयमूलक काम गर्न पाउनुभयो र नाफाको ठूलो भाग पनि उहाँहरूकै सहकारीमा जानेभयो ।”

गजब लाग्यो । सिक्न सक्नेहरूले सिके हुने कुरा !

•••

सपना देख्नु नराम्रो कुरा होइन । त्यसमाथि कसैलाई नढाँट्ने, सम्भवतः प्रेरणा दिने, सम्हाल्न सकिने र कमिसन भन्दा मिसनका लागि देखिएका सपना त पक्कै खराब होइनन् ।

यो पनि एउटा सम्हाल्न सकिने सपना हो ।

आगे जनकपुरकी मर्जी ! 

प्रतिकृया दिनुहोस