रिपोर्टबिहिवार, मंसिर ३०, २०७३

होमस्टेबाट छोटो समयमै समृद्धि

सञ्जीव शर्मा

नवलपरासीको अमलटारीमा छोटै समयमा समृद्धि ल्याएको 'होमस्टे' संरक्षणका लागि पनि उदाहरणीय बनेको छ।

१९ मंसीरमा नवलपरासीको कावासोतीबाट १४ किलोमिटर दक्षिण–पश्चिमको थारू बस्ती बाघखोरमा अमलटारी होमस्टे समूहकी कोषाध्यक्ष पिंकी महतोको विवाह समारोह चलिरहेको थियोे।

महिलाहरू लहङ्गा–चोलीमा सजिएका थिए भने अधिकांश पुरुष कोट–प्याण्टमा। नेपाली र हिन्दी गीत फेरी–फेरी कम्मर मर्काइरहेको माहोल काठमाडौंको कुनै पार्टी प्यालेसको भन्दा कम थिएन। 

बेलुका नन्दलाई विदा गरिसकेपछि पनि पाहुना व्यवस्थापनको चटारोमा रहेकी मञ्जु महतो हामीसँग पनि कुरा गर्न आइपुगिन्। एकैछिनको कुराकानीमा उनले गाउँमा यस्तो अवस्था आउला, यो माहोलमा दुलही अन्माउन पाइएला भनेर आफूले नसोचेको बताइन्।

हुन पनि, नारायणी नदी किनारको यो विपन्न बस्तीले एकदमै छोटो भन्न सकिने समयमा चोला फेरेको छ। “चार वर्षअघिसम्म अरूको घर र खेतमा मजदूरी गर्नुपर्थ्यो,” मञ्जुले भनिन्, “अहिले त आफ्नै काम भ्याई नसक्नु छ।”

'होमस्टेले ल्याएको समृद्धिसँगै पर्यटकहरुसँगको दैनिक अन्तरक्रियाले हामीमा आत्मविश्वास बढेको छ।' 

मञ्जु महतो, होमस्टे सञ्चालिका, बाघखोर नवलपरासी

सजिलै ठूलो परिवर्तन
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अमलटारी सामुदायिक वनको पश्चिमी छेउमा रहेको बाघखोरका २२ घरमा होमस्टे शुरू भएपछि छिटोछिटो समृद्धि भित्रिएको छ। 'अमलटारी मध्यवर्ती होमस्टे' बाट हरेक परिवारले मासिक करीब रु.३० हजार कमाउँछन्। अरू व्यापार, ट्याम्पो (अटोरिक्सा) र कृषिबाट रु.३० देखि ४० हजार थपिंदा मासिक कमाइ रु.६०–७० हजारसम्म पुग्छ।

घरमा होमस्टेसँगै ट्याम्पो चलाइरहेका हस्तबहादुर महतो परिवारसँगै बसेर महीनामा रु.६०–७० हजार आम्दानी भएपछि विदेश जानु नपरेको बताउँछन्। साउदी अरबबाट फर्केका मञ्जुकै श्रीमान् पनि अब उता नजाने भएको र सोमनाथ महतोका दुई छोरा सधैंका लागि गाउँ फर्कन लागेका उनले बताए।

होमस्टेको प्रभाव यतिमै सीमित छैन। पर्यटकसँगको दैनिक अन्तरक्रियाले महिलाहरूको आत्मविश्वास बढेको उनीहरूको बोली–व्यवहारबाटै थाहा हुन्छ। पहिले नेपाली नै भए पनि नयाँ मान्छेसँग बोल्न धक मान्ने गाउँका महिलाहरू अहिले विदेशीहरूसँग पनि खुलेर कुरा गर्छन्। विदेशी पाहुनासँग बोलचाल र कारोबारका लागि गाउँका सबैजसोले अंग्रेजी भाषाको तालीम लिएको मञ्जु महतोले बताइन्।

स्वदेशी–विदेशी पाहुनालाई गाउँकै अन्न, हाँस–कुखुरा, खसी र नारायणी नदीको माछा खुवाइन्छ। यसले गर्दा एकातिर ती चिज कावासोतीलगायतका बजार पुर्‍याइरहनु परेन भने अर्कातिर बजारको भन्दा राम्रो आम्दानी भएको छ।

होमस्टेका प्रबन्धक धनीराम गुरौ पहिले दिनभर बजारतिर भौंतारिनेहरू अचेल गाउँमै व्यस्त रहने गरेको बताउँछन्। “क्यारम, तास खेलेर बस्ने फुर्सद कसैलाई छैन”, सामुदायिक भवनमा भेटिएका धनीरामले भने “अहिले त घरेलु हिंसा समेत हराएको छ।”

उनका अनुसार, सबैजसो घरमा बायोग्याँस जोडिएको छ, पर्यटक आफूसँगै बस्ने भएपछि घरहरूबाट फोहोर हराएको छ र पाहुनालाई हुने गरी पकाएको खानाबाट बालबालिकालाई पनि पोषण पुगेको छ। पाहुनासँग राम्रो बोल्नु पर्‍यो, सफा–सुग्घर बस्नैपर्‍यो। यसबाट सजिलै गरी ठूलो परिवर्तन आएको धनीराम बताउँछन्। गाउँमा देखिन्छ पनि त्यस्तै।

आम्दानीदेखि लगानीसम्म

पोलो खेलेर फर्कंदै गरेका हात्ती । सबै तस्वीर: सञ्जीव शर्मा

निकुञ्ज विस्तारसँगै मध्यवर्ती क्षेत्रमा परेको अमलटारीमा होमस्टे संचालन भएपछि करीब ८३० हेक्टर बुट्यान रहेको यो क्षेत्र घनाजंगल बनेको छ। गाउँलेहरू काठ तस्करी नियन्त्रणमा मात्र नभई चोरीशिकारी रोक्ने 'एण्टी पोचिङ यूनिट' मा समेत सक्रिय छन्।

अमलटारी आउने पर्यटकले अब वन्यजन्तु र पशुपक्षी हेर्न सौराहा पुग्नुपर्दैन, गाउँमै हात्ती चढेर जंगल सफारीमा जान सक्छन्। हरियो वन कार्यक्रमको सहयोगमा अमलटारीमा सामुदायिक वनमध्येकै ठूलो घाँसेमैदान पनि बनेको छ। केही सय मिटर पर नारायणी नदी किनारमा सूर्योदय र सूर्यास्त हेर्ने व्यवस्था मिलाइएको छ।

सौराहामा बढ्दो भीडभाडले पनि अमलटारीको महत्व बढाइदिएको छ। थारू संस्कृति प्रत्यक्ष अनुभव गर्न पाइने नारायणी किनारको यो शान्त गाउँको व्यञ्जन पनि पर्यटकहरूलाई लोभ्याउने किसिमको छ।

गाउँलेलाई विभिन्न संस्थाले परिकार बनाउनेदेखि बोली–व्यवहारसम्मको तालीम दिएर पर्यटक लोभ्याउन सिकाएका छन्। होमस्टे सञ्चालनको विभिन्न चरणमा विश्व वन्यजन्तु कोष, तराई भूपरिधि कार्यक्रम, चितवन राष्ट्रिय निकुञ्जलगायतका संस्थाले सहयोग गरेका छन्।

होमस्टेमा आउने पाहुनालाई गाउँलेहरूकै सहकारीले पालो अनुसारको घरमा पठाउँछ। पाहुनाको बिल पनि सहकारीले नै जम्मा गरेर कुल आम्दानीको ९० प्रतिशत सम्बन्धित घरपरिवारलाई दिन्छ। बाँकी १० प्रतिशतबाट २ प्रतिशत जैविक विविधता संरक्षण, २ प्रतिशत सामाजिक विकास र १ प्रतिशत शिक्षामा खर्च गर्छ। बाँकी ५ प्रतिशत सहकारीका सदस्यहरूमा ब्याजमा लगानी गरिन्छ। नेपाल परिवार नियोजन संघको सहयोगमा गाउँमा स्टाफ नर्सको नेतृत्वमा सामुदायिक स्वास्थ्य केन्द्र पनि सञ्चालन गरिएको छ।

नेपालीकै भर
अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेले २०१६ को नोभेम्बरसम्म होमस्टेबाट रु.६९ लाख ६७ हजार ९५०, सांस्कृतिक कार्यक्रमबाट रु.९ लाख ६३ हजार र नेचर टूरबाट रु.८ लाख ९५ हजार ३५८ गरी जम्मा रु.८८ लाख २६ हजार ३०८ आम्दानी गरिसकेको छ। यो आयको मुख्य स्रोत आन्तरिक पर्यटक नै हुन्। नोभेम्बरसम्म अमलटारी आएका नेपालीको संख्या ११ हजार ९९८ छ भने सार्क क्षेत्रका ४२ र अन्य देशका ४० जना मात्र छन्। खर्च गर्नमा पनि नेपाली नै अगाडि रहेको होमस्टे संचालकहरूको अनुभव छ।

बाघखोरको पूर्वी छेउमा बोटेगाउँ रिसोर्ट सञ्चालन गरिरहेका ज्ञानबहादुर बोटे नेपाली पर्यटकहरू दिल खोलेर मदिरा, लोकल कुखुरा, हाँस, खसी र माछाको परिकार खाने तर, कतिपय विदेशी एक कप कफी लिएर दिनभर किताब पढेर बस्ने बताउँछन्। उनी भन्छन्, “विदेशबाट ठूलै समूह 'प्याकेज टूर'मा आए बेग्लै कुरा, नत्र बढी आम्दानी आन्तरिक पर्यटकबाटै हुन्छ।”

पहाड–मधेश 'कनेक्सन'
अमलटारीमा नारायणीसँग मिसिने नवलपरासीको केरुङ्गे खोलाको मुहान पहाडी गाविस धौवादीमा छ। प्राकृतिक स्रोतको अत्यधिक दोहनसँगै बढेको वन विनाशका कारण केरुङ्गेले उब्जाउ जग्गा र बस्ती कटान समेत गरिरहेको छ।

तर गजब के हुँदैछ भने मगर समुदायको बस्ती रहेको धौवादीमा पनि होमस्टे शुरू भएको छ, घोरल संरक्षण अभियानसहित। माथिल्लो वन क्षेत्र र जलाधार संरक्षणले तल्लो तटीय क्षेत्रमा राम्रो प्रभाव देखाउन थालेको छ। यसपालिको बर्खामा केरुङ्गे कुनै गाउँमा पसेन। केरुङ्गेले बगाएर ल्याउने गेग्रान पनि कम भएको छ।

तल नवलपरासीका थारू र माथि नवलपरासीका मगरहरूले मीत लगाउने पुरानो परम्परा छ। केरुङ्गे जलाधार संरक्षणमा पनि यी दुई समुदायले सहकार्यको नमूना पेश गरेका छन्।

राष्ट्रपति तराई चूरे संरक्षण कार्यक्रमका पूर्व बोर्ड सदस्य डा. विजय सिंह अन्य ठाउँ र समुदायले पनि यसमा हातेमालो गर्नुपर्ने बताउँछन्। “नदीको शिर र पुछारका समुदाय मिले बाढी–पहिरो नियन्त्रण हुन्छ”, जलाधार संरक्षणमा विद्यावारिधि सिंह भन्छन्, “एकातिरको मात्र संरक्षणले त केही हुँदैन।”

सम्पर्कबाट सांस्कृतिक जागरण
“थारू थातथलोमा अरु ठाउँका मानिस धेरै आउँदा यहाँको भाषा–संस्कृति र मौलिकतामाथि अतिक्रमण भएजस्तो लाग्दैन?” अमलटारीबाट फर्कंदै गर्दा नेपाल वातावरण पत्रकार समूहका कार्यकारी निर्देशक लक्ष्मण उप्रेतीले अटोरिक्सा चलाइरहेका हस्तबहादुर महतोलाई सोधे।

जातीय–क्षेत्रीय राजनीतिले देशको हरेक समुदायमा धु्रवीकरण बढाएको अवस्था भएको हुनाले पनि यो प्रश्नमा हस्तबहादुरबाट आउने उत्तरप्रति हामी उत्सुक भयौं। तर, उनले भने, “लाग्दैन, बरु सबैतिरका मानिस आउन थालेपछि हामी संस्कृति संरक्षणमा चनाखो भयौं, नत्र त के मतलब थियो र संस्कृतिको।”

पर्यटकको सत्कारमा गीत सुनाउने सांस्कृतिक टोलीको सदस्य रहेका उनले गाउँमा होमस्टे शुरु भएपछि नै थारू गीत सिकेको बताए। त्यसपछि नै गाउँका महिलाहरूले थारू पहिरन लगाउन थालेको र संस्कृति संरक्षण अभियान नै चलेको उनले बताए।

प्रतिकृया दिनुहोस