रिपोर्टशुक्रबार, ३१ श्रावण , २०७६

पहाड चढ्दै विषालु सर्प

गोपाल गडतौला

तराईमा मात्र पाइने विषालु सर्पहरू जलवायु परिवर्तनको कारण पछिल्लो समय पहाडी भेकमा पनि देखिन थाल्दा उपचार केन्द्रको थप विस्तार आवश्यक देखिएको छ।

६ साउनको बिहान २ बजेतिर मोरङको कोशी हरैंचा नगरपालिकाकी एरिसा राई (१२) लाई सुतिरहेको ठाउँमा झुल बाहिरबाट कुनै वस्तुले टोक्यो । दुःखाइले रोएकी उनलाई कमिलाले चिलेको ठानेर अभिभावकले वास्ता गरेनन् ।

तर आधा घण्टा जतिपछि बालिका छट्पटाउन थालिन् । अभिभावकले सोधखोज गर्दा उनी सुतेको ओछ्यान नजिकै सर्प देखियो । त्यसपछि झापाको दमकस्थित सर्पदंश उपचार केन्द्रमा लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भयो ।

३१ असारमा दमक नगरपालिका–३ की तिलमाया मिश्र (४६) लाई बिहान ५ बजे चूलोमा आगो बाल्ने क्रममा औंलामा कुनै तिखो वस्तुले घोचेको महसूस भयो । केही बेरपछि पोल्न थाल्यो ।

चूलोभित्र हेर्दा गोमन सर्प गुडुल्किएर बसेको देखियो । सर्पले डसेको करीब तीन घण्टापछि मात्र उनलाई सर्पदंश उपचार केन्द्र लगियो । तर त्यहाँको गेटमा पुग्दा उनको मृत्यु भइसकेको थियो ।

एक साताको बीचमा भएका यी दुवैको मृत्यु सर्पले डसेको हो वा होइन भनेर तत्काल खुट्याउन नसक्दा र उपचारको लागि अस्पताल लैजान ढिलो हुँदा भएका थिए । दमकस्थित रेडक्रसको सर्पदंश उपचार केन्द्रका इन्चार्ज देवीप्रसाद भण्डारी भन्छन्, “विषालु र सामान्य सर्प चिन्न नसक्नु र उपचार केन्द्रमा ढिलो पुर्‍याउनु यस्तो अकाल मृत्युको कारण बन्ने गरेको छ ।”

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चालु आर्थिक वर्ष २०७६/७७ को शुरूका १५ दिन (१–१५ साउन) मा सर्पले डसेर १० जनाको मृत्यु भएको छ । गएको आर्थिक वर्षभरिमा जम्मा २० जनाको मृत्यु भएको महाशाखाको तथ्यांक छ ।

घरेलु उपचारमा भर पर्दा र अन्धविश्वासका कारण सर्पदंशका बिरामीको मृत्यु हुने गरेको छ । सर्पले डसेपछि झरफुक गर्ने, जडीबुटीको भर पर्ने, विष झर्न डसेको ठाउँमा कुखुराको मलद्वार टाँस्ने रुढिवादी सोच ग्रामीण भेकमा अझै छन् । “अन्धविश्वास हटाउन र उपचारको पहुँच विस्तार गर्न सके सर्पदंशबाट हुने मानवीय क्षति कम गर्न सकिन्छ”, भण्डारी भन्छन् । 

जलवायु परिवर्तनको असर

हिउँद याममा अक्सर दुलोभित्र बस्ने सर्प बर्खायाममा दुलादुली पानीले भरिन थालेपछि जमीनमा निस्किन थाल्छ ।

त्यसैले यही समयमा खासगरी तराई क्षेत्रमा सर्पले डस्ने र मृत्यु हुने घटना बढी सुनिन्छन् । तर पछिल्लो समय पहाडी भेकमा पनि सर्पको बिगबिगी हुन थालेको छ ।

विज्ञहरूले यसलाई जलवायु परिवर्तनले निम्त्याएको एउटा चुनौती भनेका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सर्पदंश उपचार विशेषज्ञ डा. सञ्जीवकुमार शर्माका अनुसार ४ हजार ८०० मिटर उँचाइको क्षेत्रसम्म विषालु सर्प पाइन थालेका छन् ।

“बढ्दो तापक्रमको असर स्वरूप विषालु सर्प पहाडी क्षेत्रसम्म फैलिंदै गएको हुनसक्छ”, डा. शर्मा भन्छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, विश्वमा सर्पदंशका कारण वार्षिक १ लाख ३८ हजार जनाको मृत्यु हुने गरेको छ ।

सर्पदंशबाट हुने मृत्युको ७० प्रतिशत मानवीय क्षति भारत, बाङ्लादेश, नेपाल, पाकिस्तान र श्रीलंकामा हुने गरेको छ ।

भारतमा सर्पको डसाइबाट वार्षिक ३०–३५ हजार जनाको ज्यान गइरहेको छ भने पाकिस्तानमा ८ हजार ७०० को हाराहारीमा मृत्यु हुने गरेको छ । नेपालमा हालसम्म पाइएका ८९ प्रजातिका सर्पमध्ये २१ प्रजातिका विषालु छन् । यसमा गोमन, करेत, रसेल भाइपर, गनगुवाली लगायत पर्छन् । नेपालमा सबैभन्दा बढी गोमन र करेतले डस्ने गरेका छन् ।

सर्पले डस्ने बित्तिकै त्यो विषालु नै हो भन्ने हुँदैन । यस्तै, विषालु सर्पले डस्दा समेत कहिलेकाहीं विष छोडेका हुँदैनन् । विषालु सर्पले डसेको ठाउँमा सुन्निने वा दुई ठूला दाँतको दाग देखिने र विष नभएको सर्पले डसेको ठाउँमा दाँतका थुप्रै दाग देखिने विज्ञहरू बताउँछन् । तर दागको प्रकृति विश्लेषणमा लाग्नुभन्दा बिरामीलाई तत्काल एन्टी–भेनम भएको स्वास्थ्य केन्द्रमा लगेर उपचार गर्नुपर्ने डा. शर्मा सुझउँछन् ।

डा. शर्माका अनुसार गोमन सर्पले डस्दा १५० मिलिग्रामसम्म विष वमन गर्न सक्छ । जबकि, एकजना वयस्क व्यक्तिको शरीरमा यसको २० मिलिग्राम मात्र विष प्रवेश गरेमा मृत्यु हुन्छ । विषालु सर्पले डसेपछि व्यक्तिको स्नायु र श्वासप्रश्वास प्रणालीमा क्षति पुगेर ज्यान जान्छ । शरीरका तन्तुहरू निष्क्रिय हुन्छन्, रगत फाटेर पातलो हुन्छ, रक्त सञ्चारको गति स्वाट्टै घट्छ र अन्ततः मृत्यु हुन्छ ।

सर्पले डसेपछि शरीरमा विष फैलिन नदिन डोरी वा फलामको तारले रक्तसञ्चार नै अवरुद्ध हुने गरी कस्ने, धारिलो वस्तुले चिरेर रगत बगाउने जस्ता गल्ती पनि मानिसले गर्छन्, जसले झ्न् बढी क्षति पुर्‍याउँछ । त्यसो गर्दा उपचार पूरा भए पनि बाँधिएको ठाउँका कोष मर्छन् । डा. शर्मा भन्छन्, “सर्पले डसेको ठाउँमा हल्का बाँधेर छिटो अस्पताल लैजानु नै राम्रो उपाय हो ।”

जीवनमाथिको कडा जोखिम मानिए पनि सर्पदंशलाई तेस्रो विश्वका अन्य धेरै मुलुक झ्ैं नेपालमा पनि गम्भीर समस्याको रूपमा लिइएको पाइँदैन । उपचारका लागि समयमै अस्पताल ल्याइएको व्यक्ति बाँच्ने संभावना ९९ प्रतिशत हुने भएकाले झरफुक र हेलचेक्र्याइँ विरुद्ध चेतना फैलाउनुपर्नेमा उनी जोड दिन्छन् ।

 

 घट्दो मृत्युदर

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, एक दशकअघिको तुलनामा पछिल्ला वर्षहरूमा सर्पदंशबाट हुने मृत्युको घटना कम भएको छ । सर्पदंशका कुल घटना कम भएसँगै विषालु सर्पले डस्ने घटनामा कमी आउँदा दशकयता मृत्युदर घटेको तथ्यांकले देखाउँछ । सन् २००८/०९ मा विषालु सर्पले डसेका १ हजार १३४ घटनामा १२८ जनाको मृत्यु भएको थियो भने सन् २००९÷१० मा १ हजार ३१९ जना बिरामीमध्ये १३१ को ज्यान गएको थियो । तर, सन् २०१६/१७ र २०१७/१८ मा विषालु सर्पले डसेका क्रमशः ९१२ र ७९४ घटनामा ३३ र २० जनाको मात्र मृत्यु भएको छ । (हे.इन्फो)

सर्पदंशबाट मृत्यु हुने दर घट्नुमा उपचार केन्द्रको विस्तार र यातायातको सहज पहुँच मुख्य कारण हो । यसका साथै पहिले काठ र माटोको घरको बढी प्रचलन हुँदा मुसाको दुलोमा सर्पको चहलपहल हुने गरेकोमा अहिले पक्की घरले त्यो अवस्था घटेको छ । यस्तै, मानिसहरूमा बढ्दो चेतनाले झरफुक गर्ने क्रम घट्दा बेलैमा उपचार पाएर बिरामीको ज्यान जोगिने गरेको छ ।

रेडक्रस सोसाइटी, नेपाली सेना र विभिन्न अस्पतालले अहिले देशभरि ८२ वटा सर्पदंश उपचार केन्द्र सञ्चालन गरिरहेका छन् । पहिले यो संख्या निकै नगण्य थियो । ती उपचार केन्द्रहरूलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सर्पदंशको औषधि एन्टी–स्नेक भेनम (एएसभी) निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

देशभरिका उपचार केन्द्रमा सर्पले डसेका २० हजार बिरामीलाई १० भाइलका दरले लगाउन पुग्ने गरी २० लाख भाइल औषधि मौज्दात रहेको महाशाखाले जनाएको छ । सर्पदंश उपचार विशेषज्ञ डा. सञ्जीवकुमार शर्मा पहाडी जिल्लाहरूमा पनि सर्पदंशको घटना देखिन थालेकोले केन्द्रहरू अझै विस्तार गर्नुपर्नेमा जोड दिन्छन् ।

 

दशकदेखि सर्पदंशको उपचार गरिरहेको नेपाली सेनाले झपा, मोरङ, सुनसरी, सिरहा, उदयपुर, सिन्धुली, महोत्तरी, बारा, सर्लाही, कपिलवस्तु लगायत २१ वटा क्याम्पमा सर्पदंश उपचार केन्द्र सञ्चालन गरिरहेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे बताउँछन् । उनका अनुसार, ती उपचार केन्द्रमा पछिल्लो तीन वर्षमा सर्पले डसेका १३ हजार ९६२ जनाको उपचार भएको र तीमध्ये विषालु सर्पले डसेका १ हजार ६१६ जना थिए । 

नेपाली सेनाले तराईका थप १९ जिल्लामा २५ वटा सर्पदंश उपचार केन्द्र सञ्चालनको योेजना बनाएको छ । “मोरङ, सुनसरी, धनुषा, रौतहट, बारा, रामेछाप, मकवानपुर, नवलपरासी, प्यूठान, महोत्तरी, सप्तरी, सल्यान, कञ्चनपुर, कैलाली, सुर्खेत, पाल्पा, रूपन्देही, बर्दिया र दाङमा २०७९ सालसम्ममा उपचार केन्द्र सञ्चालन गर्ने तयारी छ”, प्रवक्ता पाण्डे भन्छन् ।

तराईका जिल्लामा सर्पदंशका बिरामीलाई मोटरसाइकल मार्फत उपचार केन्द्र लैजाने स्वयंसेवी अभियानले पनि मानवीय क्षति घटाउन प्रभावकारी भूमिका खेलेको छ । २०५८ सालतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले यूनिभर्सिटी अफ जेनेभासँगको सहकार्यमा सर्पदंशको घटना उच्च देखिएका पूर्वी नेपालका झपा, मोरङ र सुनसरीका चार गाउँमा मोटरसाइकल एम्बुलेन्सको अवधारणा शुरू गरेको थियो ।

यो अभियान र समुदायमा आधारित स्वास्थ्य सचेतना कार्यक्रमले सर्पदंशबाट हुने मृत्युदर उल्लेख्य घटायो । मोटरसाइकल स्वयंसेवक सम्बन्धी सर्वेक्षणले अन्य सवारी साधनको दाँजोमा मोटरसाइकलबाट अस्पताल जाने सर्पदंशका बिरामीमध्ये ९५ प्रतिशतको ज्यान जोगिने गरेको देखाएको डा. शर्मा बताउँछन् । “मोटरसाइकलबाट छिटो र सहजै उपचार केन्द्र पुग्न सकिने भएकोले बिरामी बाँच्ने संभावना बढी देखिएको हो”, उनी भन्छन् ।

प्रतिकृया दिनुहोस