कला/साहित्यशनिबार, २५ श्रावण , २०७६

यसरी गरे पृथ्वीनारायणले भक्तपुर आक्रमण

हिमालखबर

पुस्तक अंश

आजभन्दा ठीक २५० वर्षअघि १ मंसीर १८२६ मा गोर्खाका राजा पृथ्वीनारायण शाहले भक्तपुरमाथि आक्रमण गरे । तीनदिनसम्मको युद्धपछि भक्तपुरका राजा रणजित मल्लले हार स्वीकार गरे । गरुडनारायण गोंगल तिनै राजा रणजितका एक सेवक थिए, जसले लडाईंलाई आफ्नो आँखाले नजिकबाट देखेका थिए । लडाइँका बेला १५ वर्षजति भएको अनुमान गरिएका गरुडनारायणले झण्डै ३५ वर्षको हुँदा आफैंले यो युद्ध–संस्मरण लेखेको दावा गरिएको छ ।

देविचन्द्र श्रेष्ठको प्रस्तुति रहेको यो पुस्तक यसै सातामात्र जगदम्बा प्रकाशनले प्रकाशित गरेको हो ।

‍‍‍...

भक्तपुरमा गोर्खालीको हमलाको खास वर्णन

नेपालको राजा घोषित हुन अब पृथ्वीनारायण शाहले भक्तपुर दखल नगरी हुँदैन तर कान्तिपुर, ललितपुरमा जसरी सजिलोसित भक्तपुरमा पृथ्वीनारायण शाहले दखल गर्न सक्तैनन्, सकेनन् । यसका लागि एक वर्षभन्दा बढी समय पर्खेर, त्यस्तै पूरा तयारीका साथ यो हमला गरेको कुरा स्वसिद्ध छ ।

 भक्तपुर नगर एउटा सुदृढ गढको रूपमा रहेको कुरा त प्रसिद्ध नै छ । त्यसभित्रको राजकीय दरबार त्यतिखेर अर्को भित्री गढ स्वरूप निर्मित हुनाले ३ दिनका निमित्त युद्धस्थल बनेको थियो । तर, हमलाको शुरुमा भने त्यहाँका केही पक्षले गोर्खाली फौजलाई पूर्वी ढोकाबाट नगर प्रवेश गर्न सहज पारिदिएको आभास पाइन्छ । यसबारे गरूडनारायणको कथन यस प्रकारको छ:

“नेपाली सं ८९० कार्तिक सुदि ११ रोज ७ को रात्री घरि ९।१० मा सहर भादगाउको पूर्वपट्टिको मूल ढोकाबाट लश्कर प्रवेश भै, घर १०।१२ मा आगो लाइ पश्चिम पट्टिको इटाछें ढोकाबाट श्री ५ महाराजा (श्री) पृथ्वीनारायण शाह, श्री सूर प्रताप काजी साहेव प्रवेश गर्नु भै द्वादशीको दिन विहानै कंपनी कंपनी छाना छानामा चढी बन्दूकले हानी हानी आई। दरबारको छाना पुग्या पछि हिटिचोकको उत्तर पट्टिको चार तल्या माथीको छानाबाट हानी”

 उपर्युक्त वर्णनमा भक्तपुर हमला भएको दिन ने.सं. ८९० कार्तिक शुक्ल एकादशी भनेर ठीकसँग सम्झिएको छ । तर, बारको हकमा लेखकलाई भ्रम परेको बुझिन्छ । यहाँ उनले शनिबार भनेर दिएका छन् ।

तर, सो एकादशीको दिन शुक्रबार परेको गणनाबाट सिद्ध हुन्छ । यसमा राति ९-१० घडी बितेपछिको घटना हुनाले लेखकलाई झण्डै २० वर्षपछि सम्झेर लेख्ता यसरी अलिक भ्रम पर्न जानु स्वाभाविक मान्नुपर्नेछ ।

परन्तु, यहाँ महत्त्वपूर्ण कुरा त भक्तपुर नगरको पूर्वपट्टि रहेको मूलढोकाबाटै गोर्खालीहरू छिर्न सकेकाले विशेष चर्चा योग्य हुन्छ । यसरी स्थानीय एक पक्षको मद्दतले राति नै मूल ढोकैबाट गोर्खाली फौजको नगर प्रवेश भयो ।

यस हमलामा स्वयं पृथ्वीनारायण शाह उपस्थित रही उनका कान्छा भाइ शूरप्रताप शाह पनि साथमा आएर युद्ध सञ्चालन गरेका थिए । उनीहरू नगरको पश्चिमपट्टि इटाछें ढोकाबाट प्रवेश गर्न खोज्दा यसका लागि पहिले मूलढोकाबाट पसेका गोर्खाली फौजले नै गएर पश्चिम ढोकातिर दश-बाह्र घरमा आगो लगाएर हाहाकार मच्चिने गरी सो पश्चिम ढोका खुलाए ।

 यसरी पूर्व र पश्चिमका ढोकाहरूबाट गोर्खाली फौजको नगर प्रवेश भएपछि आखिर दरबार क्षेत्र नै युद्धस्थलमा परिणत भयो । भक्तपुर दरबार पनि चारैतिर पर्खालले घेरिएर सीमित द्वारहरू मात्र रहेका छुट्टो खण्ड हुनाले सैनिक कारवाही गर्न अझ कठिन पर्थ्यो ।

तर, हितिचोकको उत्तरपट्टि दरबार बाहिरको अग्ला घरबाट दरबार भित्रका चोकहरू छर्लंग देखिने हुनाले गोर्खाली सिपाहीहरू त्यस्ता अग्ला घरका छानामा चढ्दै दरबारका चोकभित्र बन्दूकले गोली चलाउन सजिलो भयो ।

 गोर्खाली फौजको गोली लागेर दरबारका अनेकौं चोक चोकमा मानिसहरू मर्न थाले । त्यसको विवरण गरूडनारायण गोंगलले यसरी दिएका छन्:

हितिचोक दरबारको उत्तर बाहिरपट्टिको चारतल्लामाथि छानाबाट हानी गोली लागी मर्‍याको-

मूल चोकमा   ११
वेको चोकमा    ३
जलधुं चोकमा     २
तौचपलीमा    १
दुधल चोकमा     १
लक्ष्मीराजको पूर्वपट्टि सानु कौसीमा   ३
टुं चोकमा    ३
हिटि चोकमा   ३
महादेउ चोकमा    १

तालसी चोकमा यति उति थाहा छैन । ढेरै मर्‍यो ।

चौकोटको चोकमा पनि मटानमा पनि यतिउति थाहा छैन ।

हिटि लिविको चोकमा ढोकासंगको कोटमा श्रीइन्द्रायणीको ढोकामा पनि यतिउति थाहा छैन । ढेरै मर्‍यो ।

 पछि त गोर्खाली फौज नै दरबारभित्रको चोकका छाना छानामा पुगेर त्यहाँबाट तलतिर चोक, चोटाकोठा, कौसीहरूमा देखापर्ने मानिसहरूलाई गोली हान्ने काम पनि थालियो । त्यसको वयान गरूडनारायण गोंगलले यसरी गरेका छन्:

“चिकंअट चोकको चोटामा ठूलो निसान नगरा राष्याको सत्तलको छानाबाट बन्दूकले हानी मर्‍याको जयप्रकाशको सिपाही सर्दारसिं नगरकोटको अछु भन्याको १ काठमाडौंको कोठा मोचा नेवा १ 
---चोटामा गरूड नारान र निजको बाबु भाजु देव गोंगल बाबुछोराको मुख्यांजी मर्‍यो । दरवारको मुख लामापाटीमा काठमाडौंको विरिषिं भन्याको वौल्हाजस्तो वामन १ घुडामा गोली लागी मर्‍याको -१”

 “दर्वारको अगाडि श्रीकृष्ण पाठक १ कामेश्वर प्रधान १ गोली लागी मर्‍यो ।“
“धन जुजुको वहालको कौसीमा हेर्न जा भनि वूढा राजाले पठाउँदा कौसीमा गोली लागी मर्‍याको गरूडनारायणको काका मनि गोंगोल -१”

जयप्रकाश मल्लका साथ केही नगरकोटी सिपाहीहरू भक्तपुर गएका थिए । तिनको तैनाथ सर्दारसिं माथि हुनाले उनैले भक्तपुर दरबारभित्र गोर्खाली सैनिकहरूसित केहीबेर भिड्न खोजेको कुरा भाषा वंशावलीमा पाइन्छ । त्यसको पुष्टि गरूडनारायणले यहाँ दिएको विवरणमा सर्दारसिं नगरकोटी गोली लागेर मारिएको घटनाले हुन्छ । उनका साथ जयप्रकाशकै कोठामोचा १ जना पनि झ्यालबाट आएको गोलीको शिकार भएको कुरा यहाँ टिपिएको छ ।

यो घटना चाहिं त गरूडनारायण र उनको बाबु भाजुदेवकै अगाडि भएकाले संस्मरणमा विशेष स्थान पाएको होला । यसैगरी कान्तिपुरपट्टि विरिखिं भन्ने झा वाहुन पनि गोर्खाली गोलीकै निशाना बने ।

 गोर्खा पक्षको गोली लागेर मर्नेमा लेखककै काका मनि गोंगल पनि परेकाले उनका लेखा अझ स्मरणीय बनेको छ । यिनी राजा रणजित मल्लको आदेशले माहिला राजकुमार धनजुजुको कौसीमा गएर गोर्खालीहरूको गतिविधि बुझ्न लाग्दा त्यहीँ नै विपक्षका गोलीको निशाना बने । यिनको बाहाल दरबार बाहिर पर्ने हुँदा यस्तो काममा सुरक्षित ठानिएको होला । यिनको बाहाल पनि सात बाहाल भित्रै पर्दछ ।

 माथि चर्चित श्रीकृष्ण पाठक र कामेश्वर प्रधानहरूको प्रसंग भने बुझ्न सकिएको छैन ।

 यतिञ्जेलसम्म नेपालका तीनै राजाहरू भक्तपुर दरबारको मूल चोकमा नै रहेका र गोर्खालीहरू भने यसको बाहिरी घरको छानामा बसेकाले आफूहरू होचो ठाउँमा असुरक्षित ठानेर रणजित मल्लका धनजुजु आदि छोराहरूले अग्लो ठाउँ चौकोट दरबारमा गएर बस्ने सल्लाह दिए ।

हेनरी एम्ब्रुस ओल्डफिल्डले सन् १८५४ मा बनाएको भक्तपुर दरबार क्षेत्रको स्केच ।

सोही अनुसार भण्डारखालको बाटो गरी लिस्नु चढेर चौकोटमा दाखिल भए पहिले रणजित मल्ल र उनका सभासद्हरू । त्यसपछि जयप्रकाश मल्ल पनि सोही लिस्नुबाट माथि चढ्न लाग्दा छानाबाट गोर्खालीहरूले निशाना लगाई हानेको गोली दाहिने पैतालामै लागेर उनी भर्‍याङबाटै तलतिर लडे । जयप्रकाश मल्ल यसरी घटनास्थलमै घाइते भएकाले युद्ध निर्णायकतर्फ उन्मुख हुन सघाउ अवश्य पुर्‍यायो ।

यस बारेमा गरूडनारायण गोंगलको संस्मरणले बोल्छ:

“उहाँपछि श्री जयप्रकाश राजाले पाव उठाई लिसनामा टेक्न नपाई छानाबाट बन्दूकले हान्दा दाहिना पाइलाका तल गोली लागी ताहींछेउ उत्तानै पर्‍या र उहाँ पछि लिसनै छेउ देपामी दर्वारमा पालोसंग सुतन्याहरू सुत्याको पालीमा भित्र लैजाई विछयाउनालाई सुताई राज गर्नुभयो । यस दिन त्रयोदशी ।”

 यसरी जयप्रकाश मल्ल भक्तपुर दरबारको चौकोट खण्डमा पुग्न पाएनन् तापनि ललितपुरका राजा तेजनरसिंह मल्ल लगायत रणजित मल्लका छेराहरु, काजी प्रधानहरु र छरिदार हेमनारायण समेत ५१ जना चौकोटमा दाखिल भए तर त्यहाँ पनि उनीहरु सुरक्षित रहने अवस्था देखिएन । दरबारभित्रकै चोकको छाना छानाबाट गेर्खाली सेनाले बन्दूक हान्ने भएपछि चौकोटमा पनि टिक्न गाह्रो देखेर छरिदार हेमनारायणले राजा रणजित मल्लछेउँ आएर अब त आत्मसमर्पण गर्नैपर्ने अवस्थाको पटक–पटक जाहेरी दिएपछि राजाले आफ्नो पगरी आफैले फुकालेर चौकोटको सानो झ्यालबाट तल झुण्ड्याइदिए । यो देखेर युद्ध सञ्चालन गरी राखेका काजी शूरप्रताप शाहले युद्ध बन्द गर्ने आदेश दिए ।

 प्रस्तुत गोर्खाली हमलाको क्रममा दरबारको चौखोट तर्फ मुख्य मुख्य मानिसहरू एकत्रित हुन लागेको थाहा पाएपछि त्यता जाने बाटोमा पनि गोर्खाली अवरोध बिस्तार भएको छनक पाइन्छ । यसको सङ्केत गरुडनारायणले पनि दिएकै छन्:

 “भण्डारखालवाट चौकोटमा जान्या वाटोको छिडीमा  तलवारले हानी मर्‍याको ३ मध्ये अफाल्न जाँदा ज्यूंदै रही आज सं ९०९ संम वांची रह्याको क्वाछे टोलको धंजु १”

यति भएर पनि भक्तपुरको पक्षबाट गोर्खाली हमलाको प्रतिकार भएको खास वर्णन प्रस्तुत संस्मरणमा देखापर्दैन । तथापि, युद्ध बन्द गर्ने शूरप्रताप शाहको आदेश पश्चात् पनि भक्तपुरकै भोटे सैनिकहरूले केही प्रतिकारको छनक देखाएको गरुडनारायणले चर्चा गरेका छन् यसरीः

“चौकोट हिटिलिविको कोटमा कोठा चोटावाट ञीट झिंगटीले झ्यालवाट भोट्या प्रजाहरूले कार्तिक शुदि १४ रोजसम्म हान्दा त्यो कोट घर सबै आगो लाइदियो । कति मर्यो २ थाहा छैन ।”

उपर्युक्त शैली हेर्दा त्यहाँ राजाले आत्मसमर्पण गरिसकेपछि पनि प्रतिकार जारी रहेको छनक पाइन्छ । यसबाट गोर्खाली आक्रमण शैली पनि थप आतङ्कमय हुन गए जस्तो बुझिन्छ । यस युद्धपछि शूरप्रताप शाहदेखि पृथ्वीनारायण शाह रुष्ट रहेको चर्चा पाइन्छ तर त्यसको खुलस्त विश्लेषण इतिहासमा भएको पाइँदैन । त्यसको निम्ति पूर्वापर आधारभूत घटनाक्रमबाट भिन्नै अध्ययन गर्न सकिन्छ ।

युद्धको परिणाम

शूरप्रताप शाहले युद्ध बन्द गर्ने आदेश दिएपछि गोर्खालीहरू विजेताले गर्ने वन्दोवस्तमा जुटेका छन् । नेपालका तीनै राजाहरू रणजित मल्ल, जयप्रकाश मल्ल र तेजनरसिंह मल्ल गोर्खालीको बन्दी अर्थात् कैदीका रूपमा राखिए । तिनमा ललितपुरका राजा तेजनरसिंह मल्लका लागि अन्तिम अवस्था कस्तो रह्यो त्यो कुरा गरुडनारायण गोंगलको संस्मरणमा खुल्दैन ।

जयप्रकाश मल्ल र रणजित मल्लहरूको अवस्था राम्ररी चित्रण गरिएका छन् ।

रातैमा हिटिचोकमा लगेर रणजित मल्ललाई उत्तरपट्टिको दलानमा र जयप्रकाश मल्ललाई पश्चिमपट्टिको दलानमा राखियो । जयप्रकाशका लागि गोर्खाली पहरामा सुबेदार अतिबल विष्ट खटिए । उनको सुसार गर्नलाई भने उनकै कोठा मोचा महन्त सिंह, कृष्णसिंह छ्याकट, भजुवा बाहुन र भादगाउँले वैद्य चुकुधी राखिदिए ।

जयप्रकाश मल्ल गोर्खाली हमलामा घाइते भएर धेरै दिन सिकिस्त रहन पनि पाएनन् । ने.सं.८९० कार्तिक शुक्ल चतुर्दशीका दिन (मार्ग १ गते) भक्तपुरको पतन भएपछि जयप्रकाश मल्लको व्यथा चर्किन थाल्यो । उनी मार्ग वदि प्रतिपदाको दिन पशुपति आर्यघाटमा पुर्‍याइए ।

भोलिपल्ट द्वितीयाको दिन उनको देहान्त भयो । भित्रेनी एउटी सती गइन् ।

 

 

प्रतिकृया दिनुहोस