टिप्पणीशुक्रबार, २४ श्रावण , २०७६

नर्कटकाे जराे विना नबल्ने चुलाे

भैरव रिसाल

५/६ दशक अघिसम्म काठमाडौं खाल्डोको काँठ क्षेत्रको जीवनशैली र अर्थतन्त्र कस्तो हुँदो हो ! थाहा नहुने जिज्ञासुलाई कौतुकमय लाग्दो हो, भोगेर आउनेलाई भने दुःखको पहाड नै थियो । काँठको दिनचर्या व्यस्त हुने । गृहिणीहरूलाई त झनै चटारो !

भैरव रिसाल

काँठका मानिसको प्रायः एउटा घर हुन्थ्यो, काँचो इँटमा माटो लेसेर गारो लगाइएको । छाना भने छ्वाली वा परालले छाएको हुन्थ्यो । वरिपरि रूख रोप्ने चलन पातलो थियो । यसै कारण खाना पकाउने दाउराको जोहो गर्न कष्ट थियो । 

हाम्रो ठाउँ भक्तपुरको दधिकोट, बहालकोट र सिरुटारतिरबाट दाउरा लिन जंगल जानुपथ्र्यो । दाउरा लिन जान नभ्याउने वा नसक्ने गृहस्थहरूले नर्कट र त्यसको जरा, मकैको ढोड र जरा, भटमासको बोट, छ्वाली र गुइँठाबाट काम चलाउनुपर्ने बाध्यता ।

गाईवस्तुलाई कुँडो पकाउन पनि त्यही इन्धनको भर । नर्कटका जरा निकाल्न निकै कठिन पर्थ्याे । त्योभन्दा पनि चर्को पर्थ्याे, भान्सामा धुवाँको कुइरीमण्डलमा खाना पकाउन । नर्कटको नसुकेका र माटो राम्ररी ननिख्रेका जरा हत्तपत्त नबल्दा भान्सेलाई उखपात हुन्थ्यो । त्यति हुँदाहुँदै पनि घरेलु इन्धनको भरपर्दो स्रोत भएका कारण गाउँमा जसको धेरै नर्कट घारी हुन्थ्यो, ऊ सम्पन्न मानिन्थ्यो ।

त्यसबेला काठमाडौं, पाटन र भादगाउँका वरिपरिका जंगलबाट दाउरा बेच्न ल्याउनेहरू पनि नभएका होइनन् । तर किनिएका दाउरा प्रायः काँचै हुने भएकाले धुवाँबाट छुटकारा पाउन मुश्किल पर्थ्याे ।

त्यसले श्वासप्रश्वासलाई कति च्याप्दो हो ? आँखालाई कति असर गर्दो हो ? त्यसको कुनै लेखाजोखा हुँदैनथ्यो । इन्धनका रूपमा बिजुलीको प्रयोग उतिबेला सपना झैं थियो । फर्पिङ र सुन्दरीजलको गरी बिजुली जम्मा ११४० किलोवाट मात्र उत्पादन हुन्थ्यो ।

त्यसमा पनि विद्युत् कम भएर हो कि बठ्याइँले हो, कच्ची छाना भएका घरमा आगलागी हुन्छ भनेर बिजुली नै दिइँदैनथ्यो ।

कफ्र्यू हटेपछि जंगलतिर

जंगलमा दाउरा लिन जानेको कथा र व्यथा बेग्लै हुन्थ्यो । हिउँद याममा तुषारो छल्दै जानुपर्ने । दाउरा लिन जाने दिन बिहान दुई बजेतिरै उठेर भात र गुन्दु्रक पकाएर हतारमा खानुपर्थ्याे । मकै र भटमास भुटेर दिउँसोको खाजाका लागि पोको बाँधिन्थ्यो । बञ्चरो, डोरी र नाम्लो बोक्यो ।

गाउँमा वल्लो–पल्लो घरका मान्छे त्यसरी नै तयार भएका हुन्थे । राणा शासनकालको त्यो बेला काठमाडौं खाल्डोमा रातभर कर्फ्यू लाग्थ्यो । कर्फ्यू हटेको जनाउ दिन तोप चलेपछि साढे तीन वा चार बजेतिर टोली उकालो लाग्थ्यो ।

गृहिणीहरूको ताँती जंगल जाँदा प्रायः गीत गाउँदै जान्थे । जुत्ता लगाउने चलन सारै कम थियो, अहिले जस्तो प्लाष्टिकको चप्पल आएकै थिएन । जाँगर हुनेहरूले आफ्ना लागि नालु वा परालको जुत्ता बनाउँथे । दाउरा लिन पात्ले, सुँगुरे र फुल्चोकी वन जाने गरिन्थ्यो । सुकेको दाउरा खोज्यो ।

काँचो दाउरा ल्याएको फेला पारे वनपालेले समातेर वन कार्यालय गोदावरीमा थुन्थ्यो । अलि ठूलो परिवार रहेछ भने जंगल जाँदा बुहारीलाई सघाउन सासू, नन्द वा आमाजू पनि जान्थे । हाम्रो घरबाट भने आमालाई सघाउन कोही जाँदैनथ्यो । बा पुरेत, उमेर पनि पाको । मेरो उमेर काँचो । आमा दाउराको भारी बिसाएर सुस्केरा हाल्दै पिंढीको डिलमा बस्नुहुन्थ्यो ।

हामी भुरा दाउराको भारी फुकाउँथ्यौं, अँगालोमा अटाउने जति दाउरा च्यापेर बुइँगलमा चाङ पारेर राख्थ्यौं । दाउरा नसुकेका रहेछन् भने भोलिपल्ट घाममा सुकाउँथ्यौं । बेलुकाभित्र थान्को लगाएन भने दाउरा कसले चोर्थ्याे चोर्थ्याे ! हिउँदमा ल्याएका दाउराले बाह्र महीना पुर्‍याउनुपर्ने ।

गोबर नल्याए गाल !

त्यतिबेला घरेलु इन्धनको अर्को स्रोत गोबर थियो । गोबरबाट गुइँठा र मल बनाइन्थ्यो । काठमाडौंमा २०२० सालसम्मै गुइँठा घरेलु इन्धनको भरपर्दो स्रोत थियो । गृहस्थहरूका घरमा एक–दुई वटा गाई पालिन्थ्यो । कतिपयले भैंसी पाल्थे । जाडो याममा दिउँसो गाई र भैंसी चराउन लगिन्थ्यो । गाउँमा ठाउँठाउँमा चौर हुन्थे । चौरकै आसपास पोखरी पनि हुने । गाई चरेर पोखरीको पानी खान्थे ।

भैंसी चाहिं त्यहाँ आहाल बसेर रमाउँथे । गाई–भैंसीले गोब्य्रायो भने गोठालाले सोहोरेर घरमा लैजानैपर्ने । तर गोबर केमा हालेर कसरी लैजाने ? रित्तै हात घर गए मारसँग खप्की खानुपर्थ्याे ।

प्रतिकृया दिनुहोस