रिपोर्टमंगलवार, मंसिर २८, २०७३

कर्मभूमि एक्सप्रेस

बच्चु विक

देशमा भविष्य नदेखेर विदेशिनेहरूको लस्कर लागिरहेकै बेला मुलुकभित्रै केही गर्न सकिन्छ भन्ने विश्वास बोकेर फर्कनेहरू पनि छन्, जो गुनासो होइन परिवर्तनको लागि योगदान दिइरहेका छन्।

म त दूरदेखि आएँ,
तिम्रो नाम बोकेर।

दशवर्षे अमेरिकाबास त्यागेर ३ कात्तिक २०७२ मा त्रिभुवन द्दविमानस्थल ओर्लिंदा कर्ण दासले अनायासै यो पंक्ति गुन्गुनाउन पुगे। पोखरा घर नपुग्दासम्म पनि उनलाई दीप श्रेष्ठको यही गीतले पछ्याइरह्यो। नेपाल फर्केर पुनः साङ्गीतिक यात्रा शुरू गर्दा उनले पहिलो कार्यक्रममा गाएको गीत पनि यही थियो, 'म त दूरदेखि आएँ...।' 

बेलायतमै व्यवसाय गरिरहेका स्याङ्जाका कृष्णजङ्ग केसीले 'नेपालमै केही गर्छु' भन्दा परिवारजनले 'बौलाएको त छैनौ' भनी असन्तुष्टि जनाएका थिए। तैपनि उनी २०६९ मा नेपाल फर्किए। 'दश वर्षभित्रमै केही गर्छु' भन्ने अठोट गरेका उनी भन्छन्, “आएको चार वर्ष भयो, यहीं बसेरै पनि राम्रो गर्न सकिन्छ भन्ने विश्वास बढ्दै गएको छ।”

हात–मुख जोर्ने बाध्यताले विदेशिने गरीबका व्यथा बेग्लै छन्। तर, केही यस्ता पनि छन्, जो देश कहिल्यै नबन्ने घोषणा गर्दै विदेशिन्छन्। तर, दैनिक देशबाट दूर जाने हजारौं तन्नेरीहरूमाझ कोही यस्ता पनि छन्, जो दास र केसीझैं स्वदेश फर्कन्छन्।

दशवर्षे सशस्त्र द्वन्द्व, शाही 'कु', दोस्रो जनआन्दोलन, लामो संक्रमण, विभिन्न आन्दोलन, महाभूकम्प, भारतको नाकाबन्दीलगायत राजनीतिक अस्थिरताले थिलथिलो देश देख्दा–देख्दै पनि घर फर्कनेमा कतिपय त यस्ता पनि छन्; जो यूरोप, अमेरिकामा नाम र दाम दुवै कमाइरहेका थिए।

गाह्रोसाह्रोका बीच 'देशमै केही गर्ने' भनेर फर्केकाहरूको समान विशेषता के छ भने उनीहरू बातैपिच्छे राजनीति र नेताप्रति गुनासो गरिरहेका छैनन्। बरु, आफ्नो विज्ञता र अनुभवले सार्वजनिक सरोकारका क्षेत्रमा सकारात्मक हस्तक्षेप गरिरहेका छन्। विदेशबाट नेपालीहरू फर्किदा एक्लै आउँदैनन्, उनीहरूसँगै सीप, पूँजी र काम गर्ने बेग्लै संस्कार पनि भित्रिएको छ।

परम्परामा 'ब्रेक'
म बेलायत जाँदा नेपाल फर्किन्छु भनेरै गएको थिएँ। दक्षता हासिल गरेपछि मनले 'अब तेरो काम नेपालमै छ' भन्यो, त्यसैले फर्किएँ। 

विश्व ब्यांकको वरिष्ठ अर्थशास्त्रीको पदबाट राजीनामा दिएर जेठ, २०७१ मा अमेरिकाको वासिङ्टन डीसीबाट नेपाल फर्किंदा डा. स्वर्णिम वाग्लेलाई अधिकांशले 'मूर्ख' भनेका थिए। 'त्यस्तो राम्रो ठाउँको जागीर छोडेर यहाँ के काम गर्छौ?' अधिकांशको यस्तै प्रश्न थियो। 

अरूलाई सम्झाउनु त सजिलै थियो तर देश फर्किएर राष्ट्रिय योजना आयोगको सदस्यका रूपमा काम गर्दाका शुरूआती समय भने सहज भएन। अधुरा योजना, निकायहरूबीच समन्वयको अभाव, पुरानै ढाँचा, कामकाजको परम्परागत कार्यशैली, राजनीतिक खिचातानी सधैंका बाधा जो थिए। अझ १२ वैशाखको महाभूकम्पले त झनै असहजता थपियो।

तर, गाह्रोसाह्रो बीचमै पनि डा. वाग्ले आयोगको अधुरो १३औं योजनाको पूर्णता र १४औं आवधिक योजनाको प्रारम्भिक खाका तयार पार्नेदेखि व्यापार, विदेशी लगानी र सार्वजनिक–निजी साझेदारी (पीपीपी) लगायतका नीति बनाउन सक्रिय भए। नेपाली अर्थतन्त्रको बृहत् 'कम्प्युटर' मोडल बनाउन पहल पनि गरे।

आयोगको दीर्घकालीन योजना 'भिजन–२०३०' को प्रारम्भिक सोचपत्र, भूकम्पपछि आवश्यकता आकलन प्रतिवेदन, दाता सम्मेलनजस्ता थुप्रै उल्लेख्य काम पनि भए। ६ दशकदेखि एउटै ढाँचामा चलिरहेको आयोगको पुनःसंरचनामा प्रतिवेदन तयार गर्न पनि डा. वाग्लेले विशेष भूमिका खेले। संकटका बेला काम लाग्ने विशेषज्ञको परिचय दिए।

पहिलो कार्यकालमा 'देश नियाल्न, चियाउन' पाएको बताउँदै डा. वाग्ले भन्छन्, “विदेशमा जोखिम पनि कम र सम्मान पनि कमै छ, नेपालमा जोखिम र सम्मान दुवै उच्च छ। यहीं बसेर केही गर्न सकिन्छ भन्ने विश्वास अझ् बढेको छ।”

२०६५ सालमा नेपाल फर्कनुअघि डा. पुकार श्रेष्ठ पनि बेलायतको सरकारी स्वामित्वको फ्रिम्यान हस्पिटलका सिनियर रजिष्टार थिए। नेपाल फर्किए र सरासर देशकै पुरानो वीर अस्पतालमा पुगे। १२७ वर्ष पुरानो वीर अस्पतालको 'सरकारी मानसिकता' बाट बाहिर निस्किएर २७ मंसीर २०६५ मा मुलुकमा पहिलोपटक मिर्गौलाको सफल प्रत्यारोपण गरे।

७ फागुन, २०६८ यता डा. श्रेष्ठ भक्तपुरमा स्थापित मानव अंग प्रत्यारोपण केन्द्र (एचओटीसी) का कार्यकारी निर्देशक छन्। केन्द्रले ६ भदौ, २०६९ देखि अहिलेसम्म २१० जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको छ। केन्द्रले यही २२ मंसीरमा मुलुकमै पहिलोपटक कलेजोको सफल प्रत्यारोपण पनि गरेको छ।

डा. विशेष पौडेल छुटाउनै नहुने अर्का पात्र हुन्। २०६५ सालमा भारतको भेलोरस्थित क्रिस्टियन मेडिकल कलेजबाट अध्ययन सिध्याएपछि उनलाई त्यहीं काम गर्ने कि भन्ने विचार नआएको होइन। तर, अस्पतालका एक वरिष्ठ चिकित्सकले 'नेपाली त बहादुर मात्रै देखेको छु। डाक्टर पनि हुन्छन् र?' भनेकै कारण २०६७ मा उनी स्वदेश फर्किए।

नेपालमा बोनम्यारो प्रत्यारोपण गर्ने सपना बोकेर फर्किएका डा. पौडेल वीर अस्पतालको हेमाटोलोजी विभाग नै बन्द भएपछि झ्स्किन पुगे। तर, २०६९ मा सिनामंगलस्थित नोबेल अस्पतालबाट उनले नेपालमै पहिलोपटक बोनम्यारो प्रत्यारोपण गरिछाडे। भारतमा रु.२५ लाख लाग्ने बोनम्यारो प्रत्यारोपणका लागि यहाँ रु.७ लाख मात्र लाग्छ।

विदेशबाट फर्केर परम्परागत सरकारी दृष्टिकोण र कार्यशैलीका थुप्रै 'असम्भव' लाई सम्भव बनाउनेको सूची यत्तिमै सकिंदैन। अमेरिकाको क्लेरमन्ट विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. भेषबहादुर थापा संयुक्त राष्ट्रसंघको जागीर छोडेर पञ्चायतको शुरूआततिरै नेपाल फर्किएका थिए।

राष्ट्रिय योजना आयोगको सदस्य सचिव भएर पञ्चवर्षीय योजना निर्माणमा महत्वपूर्ण भूमिका निभाएका थापा समयक्रममा गभर्नर, भारत र अमेरिकाका लागि राजदूत, अर्थ र परराष्ट्रमन्त्री समेत भए। त्यतिबेला राजालाई सघाउने काम मात्रै गरेको आरोप लागे पनि ७९ वर्षीय थापा अहिले नेपाल–भारत सम्बन्ध पुनरावलोकन तथा पुनःपरिभाषित गर्न सरकारद्वारा गठित विज्ञ समूहका संयोजकका रूपमा काम गरिरहेका छन्।

अमेरिकाकै क्यालिफोर्निया स्टेट विश्वविद्यालयमा प्राध्यापन गरिरहेका डा. प्रकाशचन्द्र लोहनी पनि २०२८ मा देश फर्किए। अझै पनि राजनीतिमा सक्रिय ७२ वर्षीय लोहनी विभिन्न समयमा अर्थ, परराष्ट्र, भौतिक योजना तथा निर्माण, श्रम तथा यातायात मन्त्री बनिसकेका छन्। २०४४ सालमा लोहनी अर्थमन्त्री भएकै बेलादेखि देशमा निजी तथा विदेशी लगानी भएका ब्यांकहरू खुल्न थालेका थिए।

२०४६ सालको राजनीतिक परिवर्तनपछि स्वदेश आउनुअघि डा. रामशरण महत अमेरिकाको न्यूयोर्कस्थित यूएनडीपीको मुख्यालयमा कार्यरत थिए। राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट काम शुरू गरेका महत नेपालमा सबैभन्दा बढी (६ पटक) सम्म अर्थमन्त्री बनेका छन् भने एक पटक परराष्ट्रमन्त्री। सरकारी संस्था धरासायी बनाएको आरोप लागे पनि नेपालमा खुल्ला बजार अर्थनीति भित्र्याएको श्रेय डा. महतलाई नै जान्छ।

२०३७ सालमा संयुक्त राष्ट्रसंघको इन्टरनेशनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्टको सुपरीवेक्षण तथा मूल्यांकन निर्देशक रहिसकेका रामचन्द्र मल्होत्रा पनि स्वदेश फर्किए। देश फर्किएपछि उनले योजना आयोगका सदस्य सचिव, तत्कालीन शाही नेपाल वायुसेवा निगम र नेशनल ट्रेडिङ कर्पोरेशनको प्रमुखसमेत बने।

अर्थविद् तथा पूर्व अर्थसचिव रामेश्वर खनाल विदेशमा उच्च तहमा काम गरेर फर्केकाहरूले देशमा सकारात्मक प्रभाव पारेको बताउँछन्। चीन, भारतलगायतका देशहरूमा विदेशबाट फर्केकाहरूले राम्रो काम गरिरहेको बताउँदै उनी भन्छन्, “नीतिगत सुधारमा उनीहरूले गतिलो योगदान दिएका छन्।”

शिशिर खनाल, प्रमुख कार्यकारी अधिकृत टिच फर नेपाल ।

सकारात्मक हस्तक्षेप
सरकारी सेवामा संलग्न भएर परम्परागत कार्यशैलीलाई चुनौती दिनेबाहेक फर्किएर टाढै बसेर सकारात्मक हस्तक्षेप गर्नेहरूको पनि कमी छैन। 'अहिलेसम्म अरूको देशमा काम गरें, अब आफ्नै देशमा काम गर्छु' भन्ने सोचेर १८ वर्षपछि २०७१ सालमा देश फर्किएका पूर्वाधार निर्माण तथा क्षेत्रीय विकास विज्ञ प्रा.डा. सूर्यराज आचार्य तिनैमध्येका एक हुन्। जापानको भौतिक पूर्वाधार मन्त्रालयसँग सम्बद्ध 'थिंक ट्यांक' इन्ष्टिच्यूट फर ट्रान्सपोर्टेसन पोलिसी स्टडिजका अन्तर्राष्ट्रिय डेस्क इन्चार्ज प्रा.डा. आचार्य यतिबेला स्वतन्त्र रूपमा विकास बहसमा सक्रिय छन्।

मलेशिया, चीन, भारत, थाइल्याण्ड, फिलिपिन्स, इन्डोनेशिया, भियतनामलगायत एशियाका विकासशील देशहरूको पूर्वाधार विकास नीतिनिर्माणमा सहयोगी रिसर्च प्रोजेक्टहरूको अन्तर्राष्ट्रिय टीमको नेतृत्व गरेका उनी नेपालमा रेल, मेट्रो रेल, केबुलकार निर्माणबारे वकालत गरिरहेका छन्।

अहिले त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसमा भिजिटिङ फ्याकल्टीका रूपमा पढाउन थालेका आचार्यका तर्कहरूले धेरैलाई तरंगित पारिरहेको छ।

“सरकारको मात्रै मुख ताकेर हुँदैन, आफूले पनि केही गर्नुपर्छ”, आचार्य भन्छन्। उनी 'थिंक ट्यांक' समूह बनाएर सरकारी तथा निजी क्षेत्रलाई सघाउने योजनामा छन्।

तेजराज चटौत, प्रवर्द्धक, केन्ट मल्टिट्रेड

२०६९ मा नेपाल फर्किएका सर्वोदय–अमेरिकाका कार्यकारी अधिकृत शिशिर खनाल 'टिच फर नेपाल (टीएफएन)' संस्था खोलेर सरकारी विद्यालयको शैक्षिक स्तर सुधारमा लागेका छन्। “शिक्षाको अवस्था दयनीय पाएँ। त्यसले देशमै केही गर्नुपर्छ भन्ने लाग्यो”, 'टिच फर नेपाल' का प्रमुख कार्यकारी अधिकृत खनाल भन्छन्।

टीएफएनले स्नातक गरेका विद्यार्थी छनोट गरी गणित, अंग्रेजी र विज्ञान विषयका 'फेलो' शिक्षकका रूपमा दुई वर्षका लागि गाउँका विद्यालयमा पठाउँछ। संस्थाले २०७० देखि २०७२ सालसम्म ललितपुर, सिन्धुपाल्चोक र धनुषाका ३६ विद्यालयमा ९५ जना 'फेलो' शिक्षक पठाइसकेको छ।

वास्तविकता त के छ भने टीएफएनका अधिकांश 'फेलो' शिक्षक विदेशमा पढेर आएकाहरू नै छन्। “विदेशको जस्तै सजिलोसँग काम गर्छु भनेर सोच्यो भने हुँदैन, निराशा आउँछ। यहाँको सिस्टम नै परिवर्तन गर्छु भन्ने सोचेर काम गर्दा चाहिं मज्जा आउँछ” खनाल भन्छन्।

फस्टाउँदो उद्यम कल्चर
विदेशबाट फर्कनेमा उच्च पदस्थ कर्मचारी र विज्ञमात्रै छैनन्, युवा पनि छन्। जसले सीप पनि साथै लिएर आए। एक हुन्, कञ्चनपुरका तेजराज चटौत।

भारतको मुम्बईमा बीसीए सिध्याएर देश फर्किएका चटौतले २०५५ मा केन्ट कम्प्युटर इन्ष्टिच्यूट खोलेर भिस्याट प्रविधिबाट सुदूरपश्चिममा पहिलोपटक इन्टरनेट सेवा सञ्चालनमा ल्याए। सुदूरपश्चिम क्षेत्रमा कम्प्युटरको शुरूआत गरेका उनले २०६१ देखि सोनी, नोकियाजस्ता कम्पनीका मोबाइल बेच्न थाले।

अशोक पाण्डे

२०७१ सालमा उनै चटौतले मोबाइल उत्पादक कम्पनी केन्ट मल्टिट्रेड प्रालि नै खोले। सीजी र कलरपछि नेपाली कम्पनीले उत्पादन गर्ने केन्ट मोबाइल हो। केन्टले काठमाडौंबाटै १४ वटा मोडलका मोबाइल उत्पादन गरिरहेको छ।

इन्जिनियरिङ्ग पढेर बेलायत हुइकिएका काठमाडौंका सुवास अधिकारी एघार वर्षपछि २०७१ मा स्वदेश फर्किए। “जे काम बेलायतमा बसेर गर्दै थिए, त्यही काम आफ्नै देशमा गर्छु भनेर आएको हुँ” अधिकारी भन्छन्। एसटीएस ग्लोबल सोलुसन कम्पनीमार्फत डकुमेन्टेसनको काम गर्दै आएका अधिकारी यतिबेला यूरोप, अमेरिका र अष्ट्रेलियाको काम पनि नेपालमै बसेर गरिरहेका छन्।

अधिकारी गार्जिम डेभलपमेन्ट कम्पनीमार्फत एक वर्षअघिदेखि एएसी ब्लकमार्फत चितवन र काठमाडौंका विद्यालय भवन निर्माणमा लागेका छन्। जर्मन प्रविधिको एएसी ब्लक निर्माणमा झण्डै ४० करोडको लागत रहेको उनी बताउँछन्। आफ्ना तीन कम्पनीमार्फत उनले २५० जनालाई रोजगारीसमेत दिएका छन्।

व्यवसायी तथा लेखक कर्ण शाक्यका भनाइमा यस्ता युवाको स्वदेश आगमनले मुलुकमा उद्यम 'कल्चर' भित्रिएको छ। “श्रमको सम्मान गर्ने अलि शिक्षित र उत्सुक मान्छेले जे गरे पनि प्रगति गर्न सक्छ। विदेशबाट फर्केका युवामा त्यो गुण पाइन्छ”, उनी भन्छन्।

अमेरिकामा पढाइ सकेर २०७१ सालमा स्वदेश फर्किएका अशोक पाण्डेय सोझै आफ्नो गृहनगर सुदूरपश्चिमको कञ्चनपुर लागे। अनि, बुबा लवदेवको 'केदार जनरल स्टोर' लाई 'केजीएस ट्रेडिङ कन्सर्न' बनाए।

खाद्यान्न र मदिराका थोक बिक्रेता केजीएसले अहिले धनगढी, दिपायल र बैतडीमा शाखा खोलिसकेको छ। “परम्परागत ढङ्गबाट चलेको व्यवसायमा आधुनिकता थपेको छु”, पाण्डेयको तर्क छ।

केजीएस, जीएस र जीएआरएस कम्पनीका प्रबन्ध निर्देशक पाण्डेय अहिले महेन्द्रनगर, धनगढी र काठमाडौंमा हाउजिङ, महेन्द्रनगरमा फर्निचर उद्योग र फ्रेन्चाइज रेस्टुरेन्ट खोल्ने तयारीमा छन्। “प्राविधिक तथा आर्थिक रूपमा काम गर्न गाह्रो छैन”, पाण्डेय भन्छन्, “तर, खराब सरकारी प्रणालीले काम गर्न नदिंदोरहेछ, तैपनि जुधेर काम गर्दैछु।”

बेलायतबाट फर्किएका स्याङ्जाका कृष्णजङ्ग केसीले स्याङ्जाकै सिलुङ देउरालीको ठाडाखेतमा कुखुरा र बंगुर फार्म सञ्चालन गरिरहेका छन्। साथै, सुन्तला खेतीमा पनि लागेका छन्।

प्रत्येक वर्ष नयाँ काम थाल्ने योजनाका साथ पुतलीबजार नगरपालिकामा खोलेको 'रोड साइड क्याफे' मा कफीबाटै उत्पादित वाइन, रम, ब्रान्डी पाइन्छ। आफ्नै फार्मबाट उत्पादित कफीका बोक्राबाट उनी पीठो बनाउँछन्। “यो कफी जापान पनि पठाउँछौं”, केसी भन्छन्।

गत वर्ष आँधीखोलामा र्‍याफिटङ र यो वर्ष प्याराग्लाइडिङशुरू गरेका उनी स्याङ्जाको भालुपहाडलाई 'हलिउड' जस्तै बनाउने अर्को योजनामा छन्।

अमेरिकामा इलेक्ट्रोनिक इन्जिनियरिङ्ग गरेर २०५९ मा नेपाल फर्किएका काठमाडौंका निरज गोर्खाली नेपोटेक कम्पनीमार्फत वेब एप्लिकेसन र प्रोसेस म्यानेजमेन्टको काम गर्दै आएका छन्। १० वर्षअघि ४ जनाबाट शुरू भएको नेपोटेकमा अहिले ४० जना कर्मचारी छन्।

नेपोटेकसँगै स्मार्ट सोलुसन कम्पनी सञ्चालनमा ल्याएका गोर्खालीले ब्यांक, वित्तीय संस्था, निजी तथा सरकारी कम्पनीका सफ्टवेयर निर्माण गर्छन्।

अमेरिका, बेलायतलगायतका कम्पनीका लागि पनि सफ्टवेयर आपूर्ति गर्दै आएका गोर्खाली देशभित्र पनि सफ्टवेयरको बजार विस्तार हुँदै गएको बताउँछन्। “आफ्नो देशमा परिवारसँगै बसेर काम गर्नुको जस्तो आनन्द अन्त हुँदैन”, उनको अनुभव छ।

पाटनढोकास्थित मदन पुरस्कार पुस्तकालयको भूकम्प प्रतिरोधी भवन बाँसले बनाएका नृपाल अधिकारी पनि अमेरिकाको जागीर छोडेर सात वर्षअघि नेपाल फर्किएका हुन्।

अमेरिकाबाट आर्किटेक्चर डिजाइनमा स्नातक उनी बाँस र माटोबाट घर बनाउन तल्लीन छन्। भूकम्पीय जोखिम थेग्नसक्ने भनिएका यसखाले घर निर्माणमा लागेका नृपालले यो अवधिमा पाँचसय भन्दा बढी घर बनाइसकेका छन्। यहाँ मात्रै होइन, उनको टोलीले भारत, बाङ्लादेशमा समेत घर निर्माण गरिसकेको छ।

उत्प्रेरणाको अभाव
विदेशबाट फर्किनेहरू तीन थरी छन्; पहिलो विदेशमा उच्च पदमा काम गरेका विज्ञ, दोस्रो लेखपढ तथा सीप सिकेका (विशेषगरी मध्यम वर्गीय) र तेस्रो रोजगारीका लागि जाने युवा। मानवशास्त्री सुरेश ढकाल विदेशबाट फर्केका पहिलोभन्दा दोस्रो र तेस्रो थरीका समूहले समाजमा बढी योगदान गरिरहेको बताउँछन्।

सानो पूँजी र सीप लिएर फर्केकाहरूले गाउँघरमै कृषि, पशुपालन, रोजगारीमूलक उद्योग, व्यवसाय चलाइरहेको तर सरकारी सहयोग अभावमा दिगो हुन नसकेको ढकालको विश्लेषण छ।

“सरकारी कार्यालयको झञ्झटिलो कामकाजले उनीहरूले अनुदान तथा वित्तीय संस्थाबाट पूँजी जुटाउनै सकेका छैनन्”, उनी भन्छन्। पूँजी, पढाइ र सीप जानेर आएका मध्यमवर्गीय चाहिं खासै प्रचारमा नआई नयाँ ढंगले काम गरिरहेको उनको भनाइ छ।

“आफ्ना लागि कसैले वातावरण बनाइदेला भनेर यो समूह बसेको छैन। उद्यमशीलताको पहिचान नै यही हो। विदेशबाट फर्केका युवा यस्तै गरिरहेका छन्।” 

व्यवसायी शाक्य पनि मध्यमवर्गीय र निम्नमध्यमवर्गीय यही समूहले उद्यमशीलता बढाउँदै लगेको बताउँछन्। “आफ्ना लागि कसैले वातावरण बनाइदेला भनेर यो समूह बसेको छैन”, शाक्य भन्छन्, “उद्यमशीलताको पहिचान नै यही हो। विदेशबाट फर्केका युवा यस्तै गरिरहेका छन्।”

देशभर कृषि, पर्यटन, होटल, रेस्टुरेन्ट, सूचनाप्रविधिको क्षेत्रमा काम गरिरहेका थुप्रै युवा विदेशबाटै दीक्षित भएर फर्किएको पाएको अर्थविद् खनाल बताउँछन्।

विशेषगरी यूरोप, अमेरिकाबाट फर्केका युवा शहरी क्षेत्रमा काम गरिरहेको बताउँदै उनी भन्छन्, “उनीहरूमा प्रचारको मोह छैन, खुरुखुरु काम गरिरहेका छन्।” पहाडतिर कोरिया, कतार, मलेशियाबाट फर्केका र तराईतिर साउदी अरबबाट फर्केका युवाहरू काम गरिरहेको बताउँदै उनी भन्छन्, “पहाडतिर व्यवसाय गरिरहेका छन्। तराईतिर घर बनाउने, मोटरसाइकल र घरायसी सामान किन्ने गरेका छन्।”

विदेशमा उच्चतहमा काम गरेर फर्किएकाबाट भने मुलुकले अपेक्षित लाभ लिन नसकेको मानवशास्त्री ढकालको तर्क छ। “उनीहरू सरकारी सिस्टममा छिर्छन् र आफैं बदलिन्छन्”, ढकाल भन्छन्, “सिस्टम बदल्ने क्षमता उनीहरूमा पनि देखिएको छैन।”

यो तर्कप्रति अर्थविद् खनाल भने सहमत छैनन्। छिमेकी भारत, चीनलगायतका देशहरूमा विदेशमा विज्ञता हासिल गरेकाहरूलाई बोलाएर सरकारी निकाय र ठूला आयोजनाहरूको जिम्मेवारी दिने गरेको बताउँदै उनी नेपालमा पनि यसो गरिनुपर्ने बताउँछन्।

“तर, यहाँ आएका विज्ञले खास योगदान दिएका छैनन् भन्ने होइन, डा. स्वर्णिम वाग्लेकै उदाहरण दिन सकिन्छ”, खनाल भन्छन्। भूकम्पपछि आवश्यकता आकलन प्रतिवेदन तयार गर्न डा. वाग्लेको कामको प्रशंसा गर्दै उनी पुनःनिर्माण, फास्ट ट्रयाक, जलविद्युत्लगायतका ठूला आयोजनाको जिम्मा विदेशमा रहेका नेपाली विज्ञलाई दिन सरकारले ढिला गर्न नहुने बताउँछन्।

प्रतिकृया दिनुहोस