इस्टर्न एसिया च्याम्पियन नेपाली टोलीको प्रशिक्षण शुरु
आगामी महीना श्रीलंकामा आयोजना हुने यू–१९० एशिया कप खेल्ने नेपाली टोलीको प्रशिक्षण शुरु भएको छ ।
१७ खेलाडीलाई समेटेर कीर्तिपुरस्थित त्रिवि मैदानमा अनौपचारिक प्रशिक्षण शुरु गरिएको हो । एक महीना अघिमात्र मलेसियामा सम्पन्न एसिसी इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि हासिल गरेर नेपालले एशिया कपमा स्थान बनाएको थियो ।
नेपाली युवा टोलीको औपचारिक प्रशिक्षण भने २७ साउनदेखि मात्रै शुरु हुने टोलीका प्रशिक्षक विनोद दासले बताए ।
२१ साउनदेखि प्रशिक्षण गर्ने भनिए पनि एशियन क्रिकेट काउन्सिल (एसिसी) बाट बजेट स्वीकृति नहुँदा प्रशिक्षण प्रभावित बन्न पुगेको थियो ।
एसिसी इस्र्टन रिजन च्याम्पियनसिपका लागि छनोटमा परेका खेलाडी मध्येबाटै २४ जनालाई विशेष प्रशिक्षणमा बोलाइने प्रशिक्षक दासको भनाइ छ ।
आगामी २०–२८ भदौमा एसिसी यू–१९ एशिया कपमा एशियाका पाँच वटा टेस्ट राष्ट्रसहित आठ टोली सहभागी हुनेछन् । जसमा नेपाल, भारत, पाकिस्तान श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएइ) र कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।
गत असारमा मलेसियामा सम्पन्न इस्र्टन रिजन च्याम्पियनसिपमा नेपालले फाइनल खेलमा हङकङलाई छ विकेटले पराजित गर्दै एशिया कपको यात्रा तय गरेको थियो ।