समाचारबिहिबार, २३ श्रावण , २०७६

नेपालमा पाँच वर्षमा आठ करोड बढीको पानी आयात

शरद ओझा

सरकारले विदेशमा पिउने पानी पठाएर राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने कुरा गरिरहँदा वितेको पाँच वर्षमा मात्रै आठ करोड बढीको पानी आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार पाँच वर्ष यता मात्रै नेपालले २५ लाख लिटर पानी आयात गरेको छ । २५ लाख लिटर पानी आयात गर्दा ८ करोड १४ लाख बढी रकम बाहिरिएको छ । नेपालले भारत, फ्रान्स, बेलायत लगायत मुलुकबाट मिनिरल वाटर र आइस क्युब आयात गर्दैै आएको छ ।

गत आर्थिक वर्षमा मात्र नेपालले ४ लाख २६ हजार लिटर आयात गर्दा १ करोड ४७ लाख रकम बाहिरिएको छ । त्यसो त गत आर्थिक वर्ष नेपालको व्यापार घाटा. १३ खर्ब २१ अर्ब नाघेको थियो । गत वर्ष १४ खर्ब १८ अर्बको आयात हुँदा निर्यात भने ९७ अर्ब १० करोडमा सीमित थियो ।

पछिल्लो ५ वर्षमा आर्थिक वर्ष २०७२/७३ मा सबै भन्दा बढी पानी आयात भएको भन्सार विभागको तथ्यांक छ । १२ वैशाखमा गएको भूकम्पपछि विभिन्न देशले नेपालमा मिनिरल वाटर पठाउँदा पानी आयात बढेको थियो (हे. इन्फो) ।

नेपालमा मिनिरन वाटर र आइस क्युब बनाउने उद्योग नहुँदा विदेशबाट पानी आयात भइरहेको व्यवसायीहरु बताउँछन् । आयातित पानी तारे होटलमा बढी प्रयोग हुने गरेको छ ।

यता १७ साउनमा नेपालको पानी यूरोप, जापान लगायतका देशमा निर्यात गर्ने भन्दै रुद्रगंगा न्याचुरल वाटर कम्पनीले रसुवा पानी बजारमा ल्याएको छ ।

नेपालमा मिनिरल वाटर बनाउने कम्पनी नभएकोले विदेशबाट पानीको आयात हुने गरेको भन्सार विभागका अधिकारी बताउँछन् ।

प्रतिकृया दिनुहोस