रिपोर्टआइतबार, १९ श्रावण , २०७६

‘असफल’ स्तनपान

विश्व स्तनपान सप्ताह

हिमालखबर

–लक्ष्मी बस्नेत

स्तनपानबारे परम्परागत बुझाइ र व्यावहारिक अप्ठेरा चिर्न निरन्तरको असफलताले भावी पुस्ता कुपोषित हुन अभिशप्त छन् ।

 

स्केच : भानु भट्टराई

विगत २७ वर्षयता नेपालमा पनि प्रत्येक अगष्टको पहिलो साता (१–७ तारिख) ‘विश्व स्तनपान सप्ताह’ मनाइँदै आएको छ । यसवर्ष पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले ‘आमाबुबाको सक्षमताः स्तनपानको सफलता’ भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । सरकारको यो अभियानमा विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघीय बालकोष लगायत संस्थाहरूको पनि सहयोग रहँदै आएको छ ।

स्वास्थ्य मन्त्रालय स्वयंले गरेको ‘नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६’ ले भने मुलुकका ३४ प्रतिशत शिशु अझैं पनि पूर्ण स्तनपानबाट वञ्चित रहेको तथ्य बाहिर ल्याएको थियो । अर्थात् सर्वेक्षणमा हरेक तीनजनामा एकजना शिशुले जन्मेको ६ महीनासम्म पनि नियमित रूपमा आमाको दूध खान पाएकै थिएनन् ।

“अहिले पनि अवस्था खासै सुध्रिएको देखिन्न”, परिवार कल्याण महाशाखा, पोषण शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत हरिहर शर्मा भन्छन्, “बच्चा स्वस्थ हुने, बढ्ने भन्दै गरिएका अनेक विज्ञापनहरूले नियमित स्तनपान गराउनेको संख्या कम भइरहेको हाम्रो आशंका छ ।”

सरकारले तीन वर्षअघि नै सार्वजनिक गरेको ‘शिशु तथा बाल्यकालीन पोषण सम्बन्धी रणनीति’मा पनि ‘नवजात शिशुलाई जन्मने बित्तिकै स्तनपान, जन्मेको ६ महीनासम्म आमाको दूध मात्र र बच्चालाई दुई वर्षसम्म अन्य पूरक आहारसँगै आमाको दूध खुवाउनुपर्ने’ उल्लेख छ ।

महाशाखाका पोषण विज्ञ उत्तम आचार्य पूर्ण स्तनपानलाई शिशु, बाल तथा मातृ मृत्युदर कम हुने उपायको महत्वपूर्ण आधार हो भनेर काम गरिरहेको पनि बताउँछन् । तर, महाशाखा आफैंसँग रणनीति अनुरूप कार्ययोजना कार्यान्वयन गराउन नसकेको स्वीकारोक्ति छ ।

कामकाजी व्यस्तता र भ्रम
पोषणविद् एवं चिकित्सकहरू भन्छन्, “बच्चालाई ६ महीनासम्म पानी पनि खुवाउनु हुँदैन, केवल आमाको दूधमात्र खुवाउनुपर्छ ।” तर, वास्तविकता बेग्लै छ । कतिपय आमाका आआफ्नै कारण भए पनि धेरैलाई भने कामकाजी हुनुको बाध्यता छ ।

३० जेठमा सन्तान जन्माएकी काठमाडौं पेप्सीकोलाकी रीता राउतले कार्यालयबाट दुई महीना बिदा पाइन् । तर, १ भदौदेखि कार्यालय पुनः जाने कुराले उनलाई अहिलेदेखि नै तनाव दिइरहेको छ । कारण हो, स्तनपान । “आफूले छोडेर जाँदा बच्चालाई अरु दूध खान बानी परोस् भनेर बजारको दूधमा पानी थपेर खुवाइरहेकी छु”, उनी भन्छिन् ।

एक निजी संस्थाकी बजार प्रतिनिधिको रूपमा कार्यरत काठमाडौं, काँडाघारीकी रचना विश्वकर्मालाई पनि तीन महीनाको बच्चालाई नियमित स्तनपान गराउन नपाउँदा ग्लानि महशुस हुन्छ । उनको कार्यालयमा स्तनपान कक्ष पनि छैन । “बिहान ९ बजे हिंडेर बेलुकी ६ बजे मात्र घर पुग्छु”, उनी भन्छिन्, “केही दिनदेखि बट्टाको दूध र लिटो खुवाउन थालेकी छु ।”

ललितपुरकी गरिमा श्रेष्ठको अनुभव भने फरक छ । बच्चा जन्मिएको एक महीनासम्म बच्चालाई सामान्य रूपमै स्तनपान गराएकी उनी पत्थरीको समस्याका कारण अचानक बिरामी भइन् । चार दिन त अर्धचेत अवस्थामा अस्पताल नै बस्नुपर्‍यो ।

“त्योबेला घरमा बच्चालाई गाई र बजारको दूध खुवाउनुभएछ । औषधिका कारण केही दिन स्तनपान नगराएको राम्रो भनेर डाक्टरले सुझाए”, गरिमा भन्छिन्, “तर पछि त बच्चाले दूध चुस्नै मानेन । दूध मुखमा पर्ने बित्तिकै रुने, बान्ता गर्ने भयो ।”

शिशुलाई जन्मिने बित्तिकै मह वा अन्य वस्तुभन्दा आमाको दूध नै सर्वोत्तम मानिन्छ । तर, शिशुमै मह खुवाए सन्तान पछिसम्म बलियो र निरोगी हुने भ्रम आजसम्म हटेको छैन ।

गएको साताअघि मात्र भक्तपुरकी नीता केसी (२४) ले पहिलो सन्तान जन्माइन् । छोरीको सन्तानको खबर सुन्ने बित्तिकै आमा दौडेर अस्पताल पुगिन् । र, आमाले दूध खुवाउनु अघि नै शिशुलाई मह खुवाइन् ।

एक वर्षअघि लगनखेलकी प्रतिज्ञा कार्की (२७) की सासूले पनि ठीक यस्तै गरेकी थिइन् । प्रतिज्ञाले जन्मने बित्तिकै मह खुवाउनु ठीक होइन भनेर सम्झाएकी पनि हुन् तर सासूले उल्टै “मैले ६ छोराछोरी जन्माउँदा यसै गरें, खै त कसैलाई केही भएको छैन त ? आफ्नो चलन कहाँ छोड्नु ?” भनेपछि उनी चूप लागिन् ।

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार, देशभर ३० प्रतिशत शिशुलाई जन्मिने बित्तिकै अरु नै खानेकुरा खुवाउने गरिएको छ । सर्वेक्षण प्रतिवेदनको अर्को आश्चर्य त ४५ प्रतिशत शिशुले जन्मिएको एक घण्टाभित्र पनि आमाको दूध खान नपाउने तथ्यांक हो । १ प्रतिशत शिशुले त कहिल्यै आमाको दूध खान पाउँदैनन् ।

शिशुलाई जन्मिने बित्तिकै मह वा अन्य वस्तुभन्दा आमाको दूध नै सर्वोत्तम हो । तर, शिशुमै मह खुवाए सन्तान पछिसम्म बलियो र निरोगी हुने भ्रम आजसम्म हटेको छैन।

पूर्ण स्तनपान नगरेका बच्चामा कुपोषणको जोखिम हुन्छ । कुपोषणकै कारण बच्चा पुड्को र ख्याउटे हुनुका साथै मस्तिष्कको विकास पनि राम्ररी हुन पाउँदैन । जनसांख्यिक स्वास्थ्य सर्वेक्षणकै तथ्यांक हेर्दा पनि नेपालमा १० प्रतिशत बालबालिका पुड्को र २७ प्रतिशत ख्याउटे छन् ।

ऐन संशोधनमा बेवास्ता
स्तनपानलाई बच्चा र आमा दुवैको अधिकार मानेर ऐन, नीति र रणनीतिहरू पनि बनेका छन् । जसमध्ये आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली, २०५१ महत्वपूर्ण हो ।

यो ऐन अनुसार स्वास्थ्य मन्त्रालयका सचिवको संयोजकत्वमा स्तनपान संरक्षण तथा संवद्र्धन समिति गठनको व्यवस्था पनि गरिएको थियो । तर, मुलुक संघीय संरचनामा गएसँगै ऐन पनि संशोधन गर्नुपर्ने भएको छ ।

यता सरकारकै ‘शिशु तथा बाल्यकालीन पोषण सम्बन्धी रणनीति’ले सन् २०२० सम्ममा बच्चा जन्मिएको एक घण्टाभित्र नवजात शिशुलाई स्तनपान गराउन शुरु गर्ने दरलाई ४५ बाट ६५ प्रतिशत पुर्‍याउने, जन्मिएको ६ महीना हुँदासम्म बच्चालाई आमाको दूध मात्र स्तनपान (पूर्ण स्तनपान) गराउने दरलाई ८० प्रतिशत र बच्चा २ वर्ष हुँदासम्म निरन्तर स्तनपान गराउने दरलाई ९३ प्रतिशतभन्दा माथि पुर्‍याउने लक्ष्य राखेको छ ।

“यसका लागि ऐन संशोधनसँगै थुप्रै कुरा गर्न बाँकी नै छ”, परिवार कल्याण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत हरिहर शर्मा भन्छन् । उनको भनाइमा, घर र कार्यालयमा स्तनपानका लागि उपयुक्त समय र वातावरण, कामकाजी महिलाका लागि सुत्केरी बिदा लगायतको प्रबन्धमा पनि सरकार गम्भीर हुनुपर्छ ।

“यसबाहेक आमाको दूधको सट्टा खुवाउने विभिन्न किसिमका वस्तुहरू सहजै उपलब्ध हुनुले पनि विकल्पलाई सजिलो बनाइदिएको छ”, शर्मा भन्छन् ।

प्रतिकृया दिनुहोस