ब्लगबिहिबार, १६ श्रावण , २०७६

लुतो फाल्ने चलनसँगै हरायो वनस्पतिको संरक्षण

भैरव रिसाल

लुतो उधुम चिलाउने चर्मरोग हो । नेपालका पहाडे समुदायबीच ‘लुतो फाल्ने’ चलन चलिआएको छ । प्रत्येक वर्ष साउने संक्रान्तिको साँझ यस्तो चलन खासगरी ग्रामीण पहाडी भेगमा अद्यापि छ । लोकोक्ति अनुसार केटाकेटीलाई दुःख दिने रातमा हिंड्ने कण्डारक नामको राक्षसलाई मन्सिएर भगाउन बलिरहेको अगुल्टो घरको चारैतिर ‘लुतो लैजा’ भनेर कराउँदै फालिन्थ्यो । त्यही परम्परा लुतो फाल्ने चलनका रूपमा कायम छ ।

looto_1

मलाई भने कण्डारक राक्षस वनस्पतिप्रिय लाग्यो । लुतो फाल्न वा राक्षसको पूजा गर्न भलायोका पात, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनुको लहरो, धसिङ्गरेका बोट, उन्यू जातको नागबेली, कुरिलो, सिउँडी, सिस्नु, जरै सहितको पानीअमला लगायतका विविध वनस्पति चाहिने भएकाले ।

पहिले पहिले पहाडतिर लुतो फाल्ने कामलाई उत्सवकै रूपमा मनाइन्थ्यो रे ! सामान्यतया असारमा रोपाइँ सकिने, रोपाइँ गर्दा हिलो र धमिलो पानीका कारण छालाको रोग लाग्न सक्ने भएकोले पनि साउने संक्रान्तिमा लुतो फाल्ने चलन बसेको बूढापाकाको भनाइ छ ।

जैविक विविधताको विम्ब

luto1
रेडियो सगरमाथा एफएमका पत्रकार नवीन लुइँटेलले हालै फोन गरेर सोधे “सरलाई लुतो फाल्ने चलनबारे थाहा होला । अलिकति कुरा गरौं कि ?” मैले भनें, “अचेल लुतो नै आउँदैन । अनि किन लुतोको लुते कुरा गर्नु !” हामी दुवै हाँस्यौं । नवीनले ‘संस्कृति मास्न भो र’ भन्ने कुरा गरे । मलाई पनि मनासिव नै लाग्यो । आफूले भोगेका र जानेका कुरा सुनाएँ ।

हामी पनि लुतो फाल्थ्यौं । हाम्रो गाउँ भक्तपुरको दधिकोट माथि पन्था पाखो थियो । त्यहाँ लुतो फाल्न चाहिने सबै वनस्पति पाइन्थे । साउने संक्रान्तिका दिन गाउँका हामी ८/१० जना किशोरहरू ती सामग्री लिन डाँडामा उक्लिन्थ्यौं ।

आवश्यक थरीथरीका वनस्पति उखेलेर स–साना बिटा बनाएर घरतिर बुर्कुसी मार्दै दौडिन्थ्यौं । कहिले चिप्लिएर लड्थ्यौं । पानी पर्दा भिजिन्थ्यो । हामी केटाकेटीको भागमा छाता नपर्ने, घुम ओढ्न लाज हुने । जे–जस्तो असुविधा भए पनि कराउँदै र रमाउँदै दौडिन्थ्यौं । त्यो उमेरमा त्यही रमाइलो, त्यही नै जीवन । विगतका यिनै आफूले लुतोको सामग्री लिन जाँदाको कथा नवीनलाई सुनाएँ ।


अहिले गम्दा लाग्छ, लुतो फाल्ने परम्परा त जैविक विविधतासँग जोडिएको रहेछ । लुतो फाल्नकै लागि धसिङ्गरे, पानीसरो, देवीसरो, कुकुरडाइनु, पानीअमला, उन्यू जातको नागबेली, भलायो जस्ता वनस्पति जोगिने रहेछन् ।

लाजमर्दो पार्ने सुके–लुतो
लुतो पनि दुई किसिमका हुन्थे । एकथरीलाई लुतो मात्र भनिन्थ्यो भने अर्कोलाई ‘सुके–लुतो’ भनिन्थ्यो । सुके–लुतो औधी चिलाउने, जति कन्याए पनि चिलाई नमर्ने । मकैको खोया वा नङले कन्याउँदा पनि बरु छाला दरफरिएर घाउ हुने, चिलाउन नछाड्ने ।

सुके–लुतो प्रायः काछ र गुप्ताङ्गमा बढी आउने । यसै कारण यसले लाजमर्दो पाथ्र्यो । मान्छेहरू भएको ठाउँमा कन्याउनु भएन, नकन्याए बसिनसक्नु पार्ने ! अनि उठेर एकान्तमा कन्याउनुपर्ने ।

लुतो फाल्न चाहिने वनस्पति बटुल्दा हामी धसिङ्गरेका बोट बढी ल्याउँथ्यौं । त्यसको पात आगोको रापमा पर्दा फोका निस्किएर पटपट फुट्थ्यो, जुन आवाज हामीलाई रमाइलो लाग्थ्यो । मसिना दाउरा दश÷बाह्र वटा चाहिन्थ्यो । यी सबै सामानको जोरजाम साँझ पर्नु अगावै गरिसकिन्थ्यो ।

साँझमा आँगनको कुनामा लुतो फाल्ने दाउरा बालेर कण्डारक रात्रिचरको पूजा गरिन्थ्यो । सरसामानको जोहोदेखि लुतो फाल्ने प्रक्रियासम्ममा अभिभावकहरू केटाकेटीलाई हौस्याउँथे । घरैपिच्छे लुतो फाल्ने उत्सव ! राक्षसलाई चढाएको भेटी छोरा मान्छेले लिन नहुने भएकाले छोरीचेलीलाई दिनुपथ्र्यो । तर छोरीहरू लुतो सर्छ भनेर पैसा लिनै नमान्ने, बडो रमाइलो वातावरण हुन्थ्यो ।

पूजा गरिसकेपछि बलिरहेका अगुल्टा लिएर आँगनको पर्खालमा चढ्यो, र पल्लो गाउँका बासिन्दामध्ये कसैको नाम ठूलो स्वरमा उच्चारण गरी ‘ए फलाना... लुतो लैजा’ भन्यो । टोल–छिमेकमा नाम तोकेर लुतो पन्छाउने परम्पराले त्यो समयमा तनाव पनि पैदा गथ्र्यो । अघिपछि औधी मिलेर बसेका वल्लो–पल्लो गाउँकाहरूबीच लुतो फाल्ने दिन भने केही तिक्तता छाउँथ्यो ।

हिजोआज गाउँघरमा लुतो फाल्ने चलनमा परिवर्तन आएछ । धसिङ्गरे लगायत वनस्पति लिन वनपाखा जाने चलन हराएछ । नजिकै पाइने नरकटका बोट, तितेपाती जस्ता वनस्पति जम्मा गर्ने, दाउराको साटो छ्वालीका मुठा बाल्ने गरिंदो रहेछ । यसले पहिले लुतो फाल्ने परम्पराका नाममा विविध वनस्पतिको संरक्षण गरिने परिपाटी हराएछ ।

प्रतिकृया दिनुहोस