रिपोर्टबिहिबार, ९ श्रावण , २०७६

सीमा स्तम्भः भारतीय बलमिच्याइँले कहीँ भत्कन्छन, कहीँ हराउँछन्

रामु सापकोटा

तराईका जिल्लामा आउने बाढीका साथै भारतीय पक्षबाट हुने बलमिच्याइँका कारण सीमा स्तम्भहरू भत्कने र हराउने गरेका छन्।

नेपाल र भारतबीच १,८८० किलोमिटर लामो खुला सिमाना छ । नापी विभागका अनुसार यो सीमा क्षेत्रमा ८,५५४ वटा सीमा स्तम्भ छन् । जसमध्ये जमीनमा ६,४१८ वटा स्तम्भ छन् भने नदी क्षेत्रमा २,१०५ वटा परेका छन् ।

तर यीमध्ये झ्ण्डै आधा संख्याका स्तम्भहरूको अवस्था दयनीय छ । मर्मत र निरीक्षण हुन नसकेका स्तम्भको तथ्यांक बाहेक पनि हराएका र अत्यन्त जीर्ण भएर निर्माण हुन नसकेका स्तम्भहरूको संख्या ३ हजार भन्दा बढी छ (हे. इन्फो) ।

नदी क्षेत्रमा पर्ने सीमा स्तम्भहरू बढी जोखिममा रहेको नापी विभागको आर्थिक वर्ष २०७५/७६ को तथ्यांकमा उल्लेख छ । विभागका अधिकारीहरूको भनाइमा कतिपय ठाउँमा नदीमा परेकै कारण स्तम्भ बनाउन कठिन हुने गरेको छ । त्यसमा पनि सीमावर्ती तराईका जिल्लाहरूमा हरेक वर्षको बाढीका कारण सीमा स्तम्भहरू थप जोखिममा पर्ने गरेका छन् ।

यसै वर्ष पनि गएको २८ असारमा आएको बाढीका कारण कपिलवस्तुको विजयनगर गाउँपालिका–५ ठाकुरापुरमा पर्ने चार वटा सीमा स्तम्भ ढलेका छन् । नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीको उपस्थिति र निगरानीमा २०७५ मंसीरदेखि जेठसम्ममा नेपाल र भारतर्फ दुई/दुई वटा सीमा स्तम्भ निर्माण गरिएका थिए ।

कपिलवस्तुको विजयनगर–५ स्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेको चिरई खोलामा आएको बाढीले ढालेको सीमा स्तम्भ । तस्वीर: अनेक पाण्डे


नापी विभागका एक अधिकृत नदीको बीचमा निर्माण गरिएको सीमा स्तम्भको डिजाइन नै गलत भएका कारण ढलेको बताउँछन् । सीमा स्तम्भ दिगो बनाउने बारे उनी जोड दिन्छन्, “दुई देशका नापी सर्वेक्षण टोलीको सहमतिमा ३० फिट लम्बाइ र १२ इन्च डायमिटर भएको फलामे सीमा स्तम्भ बनाउनुपर्छ ।”

विभागका अनुसार नेपाल–भारत सीमामा ठूला नदी, खोला र नहरमा गरी नदीनालामा परेका २,१०५ वटा स्तम्भमध्ये अधिकांश भत्किएका र हराएका छन् ।

विभागको स्थलरूप नापी तथा भू–उपयोग व्यवस्थापन महाशाखाको सीमा शाखाका प्रमुख दयानन्द जोशी नदीमा परेर हराएका सीमा स्तम्भ बनाउने काम अघि बढाइएको बताउँछन् । उनी आर्थिक वर्ष २०७५/७६ मा १,२७२ वटा सीमा स्तम्भको मर्मत तथा निर्माण गरेको बताउँछन् । विभागले जीर्ण अवस्थामा रहेका र पूर्णरूपमा भत्किएका वा हराएका गरी ३,००७ वटा सीमा स्तम्भ निर्माण गर्न बाँकी छ ।

२०४५ सालमा मन्त्रिपरिषद्को निर्णयबाट सीमा सम्बन्धी ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ लागू भएको थियो । सीमा सम्बन्धी यो सिद्धान्तले सुगौली सन्धि हुँदाका बखत सीमा क्षेत्रमा जहाँ नदी बगेको थियो, त्यसैलाई दुई देशबीचको सीमा मानेको थियो ।

तर अहिले नदीको बहाव परिवर्तन भएसँगै सिमानाहरू पनि परिवर्तन हुने समस्या छ । नापी विभागको सीमा शाखाका प्रमुख जोशी सीमा विवाद देखिएका ठाउँमा दुई देशका अधिकारीहरू मिलेर समाधान गर्ने गरेको बताउँछन् । तर सीमा विवाद देखिएको महाकाली क्षेत्रमा नापी विभागको टोलीले स्थलगत निरीक्षण गर्न सकेको छैन ।

हराए ४५२ स्तम्भ
भारतसँगको सीमामा सशस्त्र प्रहरी बलले सामान्यतः हरेक २० देखि ३० किलोमिटरको फरकमा बीओपी (बोर्डर आउट पोष्ट) क्याम्प राखेको छ । बीओपी क्याम्पले सीमावर्ती तराईका जिल्लामा सीमा सुरक्षा गर्ने र स्तम्भहरूको तथ्यांक लिएर गृह मन्त्रालयमा विवरण पठाउने गर्छ । सात प्रदेशमा गरी १०७ बीओपी स्थापना गरिएको र यसका लागि झ्ण्डै १५ हजार प्रहरी खटिएको सशस्त्र प्रहरी बलको तथ्यांक छ ।

सशस्त्र बलले गृह मन्त्रालयको शान्तिसुरक्षा तथा अपराध नियन्त्रण शाखामा गरेको रिपोर्टिङ अनुसार भारत र चीनसँग सिमाना जोडिएका २८ जिल्लाको अभिलेख अनुसार कुल ६,१३१ सीमा स्तम्भमध्ये ३,३५८ मात्रै सद्दे अवस्थामा छन् (हे.इन्फो) । मुख्य, सहायक र सानो स्तम्भ गरी ४५२ सीमा स्तम्भ मिचिएका र हराएका छन् । यसमध्ये २३५ स्तम्भ बाढीका कारण भत्किएका हुन् ।

धेरै सीमा स्तम्भ भारतीय पक्षको बलमिच्याइँका कारण हराउने गरेको जानकारहरू बताउँछन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठ सीमावर्ती क्षेत्रका भारतीय नागरिक र कतिपय बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा स्तम्भ भत्काउने र सार्ने गर्दा विवाद निम्तिने गरेको बताउँछन् ।

२०७३ फागुनमा गुगल म्यापले भारतीय भूमि देखाएको भन्दै एसएसबीका जवानले कञ्चनपुरको कल्भर्ट भत्काउन थालेपछि स्थानीय प्रतिकारमा उत्रिएका थिए । त्यसै क्रममा एसएसबीका जवानले चलाएको गोलीबाट २६ फागुन २०७३ मा कञ्चनपुरको पुनर्वास नगरपालिका–७ ‘घ’ का गोविन्द गौतमको मृत्यु भएको थियो ।

सीमा विवादका यस्ता घटना बेलाबेला देखिने गरे पनि दुवै देशका उच्च अधिकारी समस्याको दिगो समाधानका लागि अग्रसर नभएको सीमाविद् श्रेष्ठ बताउँछन् ।

२०६५ सालमा गृह मन्त्रालयले भारतसँग सीमा जोडिएका १८ जिल्लामा सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय गर्दै सीमा सुरक्षाको काममा २४० जनाका दरले खटाएको थियो । त्यसपछि थप जिल्लामा पनि सशस्त्रलाई सीमा सुरक्षा गर्ने जिम्मा दिइयो । २०६९ सालमा पहिलो पटक सशस्त्र प्रहरीकै अगुवाइमा सीमा स्तम्भहरूको जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) रेकर्ड राख्ने, डिजिटल नक्शांकन गर्ने लगायतका काम शुरू भएको थियो ।

२०७३ फागुनमा गुगल म्यापले भारतीय भूमि देखाएको भन्दै एसएसबीका जवानले कञ्चनपुरको कल्भर्ट भत्काउन थालेपछि स्थानीय प्रतिकारमा उत्रिएका थिए । त्यसै क्रममा एसएसबीका जवानले चलाएको गोलीबाट २६ फागुन २०७३ मा कञ्चनपुरको पुनर्वास नगरपालिका–७ ‘घ’ का गोविन्द गौतमको मृत्यु भएको थियो ।

सीमाको सुरक्षामा प्रहरी खटाइए पनि सीमा स्तम्भको सुरक्षा तथा संरक्षण प्रभावकारी नहुने सधैंको समस्या हो । यसका साथै व्यवस्थित तथ्यांक राख्ने काम पनि हुनसकेको छैन । सशस्त्र प्रहरी र नापी विभागको फरक–फरक तथ्यांक यसको दृष्टान्त हो ।

सशस्त्रले गृह मन्त्रालयमा रिपोर्टिङ गर्ने क्रममा २२ असारमा पठाएको पत्र अनुसार भारत र चीनसँग सीमा जोडिएका ठाउँमा कुल ६,१३१ सीमा स्तम्भ छन् । तर नापी विभागको तथ्यांकमा नेपाल–भारत सीमामा मात्र ८,५५४ वटा स्तम्भ छन् ।

सशस्त्र प्रहरी बलको सूचना शाखा प्रमुख अजय छतकुली सशस्त्रका बीओपी क्याम्पहरूले निश्चित स्थानहरूका स्तम्भको मात्रै तथ्यांक राख्ने भएकाले केहीको विवरण छुटेको बताउँछन् ।

साथमा, गोपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस