टिप्पणीबुधवार, श्रावण २६, २०७३

'पाराडक्स' प्रधानमन्त्री

शेखर खरेल

एक म्यादी प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहालसमक्ष आफूलाई 'कुनियत नभएका नेता' पुष्टि गर्ने दुर्लभ अवसर प्राप्त भएको छ।

ब्राजिलको रियोमा चालू ग्रीष्मकालीन ओलम्पिकको ३१औं संस्करणमा खेलाडीले एकपछि अर्को कीर्तिमान बनाउँदै छन्। तर, नेपालको राजनीतिक खेलमैदानमा ओलम्पिकको मशाल सल्काइनुअघि नै नयाँ–नयाँ कीर्तिमान बन्ने क्रम शुरू भइसकेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दोस्रो कार्यकालका लागि चुनिने पहिलो कम्युनिष्ट प्रधानमन्त्रीका रूपमा कीर्तिमान कायम गरेका छन्।

उता, नयाँ संविधानको पुनर्लेखनको मागमा मधेशमा आन्दोलन चर्काउने र आफ्नै मुलुकमा नाकाबन्दी लगाउन विदेशी गुहार्ने मधेशी मोर्चाका घटकहरू सामान्य व्यहोराको तीनबुँदे सहमतिमार्फत संवैधानिक प्रक्रियामा सरिक भइसकेका छन्। 

सिरहा–५ बाट संविधानसभामा निर्वाचित पुष्पकमल दाहाल प्रधानमन्त्रीमा सत्तारोहणका लागि खुट्टा उचालिरहँदा छिमेकी जिल्ला सप्तरीको सीमावर्ती गाउँ तिलाठीका बासिन्दा दशगजामा भारतद्वारा निर्मित बाँध भत्काउन निर्भयतापूर्वक लडिरहेका थिए।

भारतीय रुचिमा सरकार परिवर्तनको आरोप र संशय व्याप्त रहेकै बेला प्रहरी, प्रशासन र कुनै पनि राजनीतिक दलको सहयोग बेगर तिलाठीका देवनारायण यादवहरूले राष्ट्रिय अस्मिता रक्षाका लागि जस्तो जोखिम उठाइरहेका थिए, जुन भक्ति थापा र बलभद्र कुँवरका वीरगाथा सम्झ्ाउने खालको थियो।

केही महीनाअघि दशगजा मधेश 'अधिकार' का लागि धर्ना दिने र स्वदेश आयात हुने सामान अवरोध गर्ने थलो बन्न पुगेको थियो। त्यतिबेला आन्दोलनको अगुवाइ मधेशीको हितका लागि राजनीति गरेको दलिल गर्ने राजनीतिक समूहले गरेको थियो। तर, आज परिदृश्य बदलिएको छ।

संविधानको विरोध गर्ने त्यो समूह संवैधानिक प्रक्रियामा सामेल मात्र भएको छैन, पुष्पकमल दाहालको उम्मेदवारीको समर्थक समेत बनिसकेको छ। तीनबुँदेमार्फत सरकार गठनको समर्थन गरिसकेको मधेशी मोर्चा संभवतः केही औपचारिकता पूरा गरेपछि सरकारमै सामेल पनि हुनेछ। उता, देवनारायणहरू एक थोपा रगत रहेसम्म मुलुकको एकइञ्च जमीन नछाड्ने प्रण गरिरहेका छन्।

पछिल्ला घटनाक्रमउपर सिंहावलोकन गर्दा लाग्छ, 'पाराडक्स' (विपर्यास) नै नेपाली राजनीतिको मूल चरित्र हो। संसद्को तेस्रो ठूलो घटक माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नै साथ र सहयोगमा निर्मित केपी शर्मा ओलीको सरकारलाई 'अपदस्थ' गरेर सत्तारोहण गरेका छन्।

'राम्रा जति मेरा र नराम्रा जति तेरा' को शैलीमा उनले असफलता सबै पूर्ववर्ती ओलीको पोल्टामा हालिदिएका मात्र छैनन्, आफ्नै दल सम्मिलित सरकारद्वारा निर्मित बजेटलाई समेत संसद्बाट अनुमोदन हुनबाट रोकिदिएका छन्।

उता, दाहालका समर्थक मधेशी मोर्चाको मागको अन्तर्य केवल ओलीको बहिर्गमनमै सीमित देखिएको छ। संविधानलाई सल्काउने अनि नाकाबन्दीसम्मको कुकाम गर्नेहरू आज कुन राजनीतिक उपलब्धिका कारण संसदीय प्रक्रियामा सामेल हुन पुगे, यक्ष प्रश्न खडा भएको छ।

उत्साही नेता, उदासीन जनता
नयाँ सरकारको गठनसँगै नेताहरूमा सरगर्मी बढ्दो छ। मन्त्रिमण्डलमा नियुक्ति पाउने अभीष्टका साथ सांसद्हरू शक्तिकेन्द्र धाएका समाचार आइरहेछन्। तर, जनतामा उदासीनता गहिरिंदो छ। जनता न त ओलीको बहिर्गमनबाट विस्मित छन्, न दाहालको पुनरागमनबाट हर्षित नै।

पहिलो संविधानसभाको निर्वाचनपश्चात् सबैभन्दा ठूलो दलको नेताको हैसियतमा दाहाललाई सरकारको नेतृत्व गर्ने ऐतिहासिक अवसर जुरेको थियो। तर, 'एब्स्यूलुट अथोरिटी' को चरम बामपन्थी अभिमुखीकरणका कारण दाहालले त्यो अवसर गुमाए। अहिले दोस्रोपल्ट सिंहदरबार छिरेका उनमा पहिले जस्तो गर्जन छैन। एक म्यादी सरकार प्रमुखका रूपमा सत्तारोहण गरेकाले उनीबाट जनताले कुनै अपेक्षा पनि राखेका छैनन्।

आफ्नो बचेखुचेको साख जोगाउँदै देशलाई थप भड्खालोमा नजाके मात्र पनि दाहालको ठूलो उपलब्धि हुनेछ। उपयोग र दुरुपयोगको रणनीतिबाट सत्तामा आइपुगेका दाहाल त्यतिन्जेलसम्म सत्तामा रहिरहनेछन्, जतिञ्जेलसम्म उनलाई उपयोग गर्ने अर्का चतुर खेलाडी मैदानमा छिर्ने छैनन्।

बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई आदिले जस्तो निष्ठाको राजनीति प्रदर्शन गरेका थिए, उपयोगितावादी संस्कृतिको राजनीतिमा त्यो 'एकादेशको कथा' बनिसकेको छ।

आजको नेपाली राजनीतिले एउटा लोककथाको स्मरण गराउँछ, जसमा वृद्ध बाबुआमालाई फाल्न डोको तयार पार्ने बाबुलाई उनको छोराले त्यो डोको आफ्ना लागि पनि जोगाउन सल्लाह दिन्छ। निष्ठाहीन राजनीति नै जनताको नेतृत्वप्रतिको उदासीनताको मूल कारक हो।

सत्तारोहणको माला नओइलाएसम्म दाहालमाथि उतिसारो शंका नगरौं। फेरि उनलाई शंकाको सुविधा दिऊँ, कि संशय गर्नेहरू झूटो ठहरियून्! दाहाललाई दोस्रो कार्यकालको शुभकामना!

प्रतिकृया दिनुहोस