सम्पादकीयसोमबार, ६ श्रावण , २०७६

नदीलाई निकास देऊ

सम्पादकीय

किरण नेपाल

हरेक बर्खालाई ‘काल’ बन्न रोक्ने हो भने नदीलाई मानव सभ्यताको अविभाज्य अङ्गका रूपमा बुझेर प्राकृतिक स्वरुपमै छाडिदिनुको विकल्प छैन।

२६–२७ असारको दुईदिने वर्षापछिको बाढी, पहिरो र डुबानका कारण २ साउनसम्म देशभर ९० जनाको मृत्यु भइसकेको छ । २९ भन्दा बढी बेपत्ता र ४१ जना घाइते भएका छन् । सरकारी आँकडा अनुसार, प्रकोपबाट मोरङ, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्साका १२ हजार ९३८ परिवार विस्थापित भएका छन् ।

आर्थिक क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ । तर; घर, सडक, पुलपुलेसा लगायतका संरचनासँगै बालीनाली, पशुपक्षी र जैविक विविधतामा पुगेको क्षतिको प्रारम्भिक आकलन नै अर्बौंको छ ।

त्यसो त औसतमा १०५ दिन रहने मनसुनको पूर्वार्द्धमै भएको यो क्षतिले अन्त्यसम्म पुग्दा कत्रो आकार लिनेछ, अहिल्यै भन्न गाह्रो छ ।

किनभने, बङ्गालको खाडीबाट पूर्वानुमानभन्दा १० दिन ढिलो गरी ५ असारमा मात्र नेपाल प्रवेश गरेको यो वर्षको मनसुनको शुरूको २० दिनको विपत्तिको तस्वीर मात्र हो, यो । दुई वर्षअघि २०७४ सालमा बर्खामै आएको बाढी र पहिरोले १३४ जनाको ज्यान गएको र झण्डै रु.६१ अर्बको आर्थिक क्षतिको तथ्यांक हाम्रोसामु छँदैछ । 

काठमाडौं उपत्यकामा लगातार परेको वर्षासँगै बल्खुमा देखिएको वागमती नदी । तस्वीर : रासस । 

मनसुनी वर्षा नियमित र ठिक्क हुनु नेपाली अर्थतन्त्रको सहकाल हो । पर्याप्त सिंचाइ सुविधा नभएका कारण मुलुकको मुख्य कृषिबाली धानको उत्पादकत्व मनसुनमै भरपर्छ । तर, यही मनसुन पछिल्ला वर्षहरूमा ‘काल’ बनिरहेको छ । धनजनको क्षति बढ्दो छ ।

के यसो हुनुमा मनसुनमा पानीको मात्रा बढ्नु हो ? होइन । किनभने, औसत वर्षा त सामान्य नै देखिन्छ । बरु, मौसमी चक्रमा आएको परिवर्तनले लामो झरी लाग्न छोडेको छ । तर पनि यो विघ्न क्षतिको कारक के त ?

विज्ञ र जानकारहरूको भनाइमा, विपत्तिको कारक प्राकृतिक नभई मानवीय हो । नदी र वन क्षेत्रमाथिको अतिक्रमण र दोहनकै कारण सामान्य वर्षामा पनि अकल्पनीय क्षति बेहोर्नु परिरहेको छ ।

महाभारत र चुरे क्षेत्रमा भएको अत्यधिक वन फडानी र उत्खननले एकातिर भूक्षयको आकार बढाएको छ भने अर्कातिर त्यहाँबाट बग्ने माटो र गेग्रानले नदीको भूसतह अग्लिंदा पानीको सतहले पनि उँचाइ लिएको छ । पानीको सतह माथि, बस्ती र खेतीको सतह तल परेको छ । बाढी आउनेवित्तिकै घर, खेत डुबानमा पर्ने कारण यही हो ।

नदीको बाढीबाट बस्ती र खेतीपाती बचाउन अपनाइएको उपक्रम हो, तटबन्ध निर्माण । झण्डै १७० वर्षको इतिहास बोकेको तटबन्ध करीब करीब असफल प्रमाणित संरचना हो ।

किनभने नदीको बहाव र परिधि नियन्त्रित गर्ने उपक्रममा बनाइएका तटबन्धहरू नै यतिखेर विध्वंसको कारक बन्न पुगेका छन् । यसै पनि हाम्रा अधिकांश नदी\खोलाको प्राकृतिक बहावलाई सीमापारि भारतमा बनेका सडक, रेल्वे, सिंचाइका लागि बनाइएका बाँधले संकुचित र नियन्त्रित गरेको छ ।

सीमाको भारतीय बजार बैरगनियाको ‘सुरक्षा’ का लागि बनाइएको रिङ–ड्याम, नेपालतर्फका लालबकैया नदीको पश्चिम किनार र वागमती नदीको पूर्वी किनारमा बनाइएको तटबन्धकै कारण साँघुरिएका यी दुवै नदीमा आएको बाढीले सहज निकास नपाउँदा नै रौतहटको गौर डुबानमा पर्‍यो । यसक्रममा लालबकैयाको तटबन्ध ११ र वागमतीको तटबन्ध ७ ठाउँमा भत्कियो ।

नदीको बहाव र परिधि नियन्त्रित गर्ने उपक्रममा बनाइएका तटबन्धहरू नै यतिखेर विध्वंसको कारक बन्न पुगेका छन् । यसै पनि हाम्रा अधिकांश नदी\खोलाको प्राकृतिक बहावलाई सीमापारि भारतमा बनेका सडक, रेल्वे, सिंचाइका लागि बनाइएका बाँधले संकुचित र नियन्त्रित गरेको छ ।

२ भदौ २०६५ मा कोशीको बाढीमा पनि त्यस्तै भएको थियो । सुनसरी, सप्तरी र सीमावर्ती बिहारका जनताले ‘कोशी कहर’ भोग्नुमा प्रकटतः पश्चिम कुशाहाको तटबन्ध भत्किनुलाई मानिए पनि यसलाई आफ्नो प्राकृतिक बहाव नियन्त्रण विरुद्ध सप्तकोशीको ‘विद्रोह’ कै रूपमा बुझनुपर्छ ।

विज्ञ भन्छन्– तटबन्ध भत्काएर आउने पानी सोझै नदीबाट आउने पानीभन्दा बढी खतरनाक हुन्छ । कोशीको विनाश रोक्नकै लागि सन् १९६५ मा बनाइएको कोशी ब्यारेजको असफलताको कथाले पनि यही सन्देश दिन्छ । कोशीमा आउने बाढीले नेपालमा भन्दा भारतको बिहारमा त्रासदी मच्चाइरहेको छ ।

प्राकृतिक जलचक्र अनुसार चल्ने हाम्रा नदीको आफ्नै बाटो, आफ्नै भूगोल छ । बाँध, तटबन्ध लगायतका अन्य मानवीय संरचनाले तिनको शान्ति बिथोल्छन् । बिथोलिएका नदीले बेलाबेला रौद्र स्वरुप देखाउँछन् र मानिसलाई दण्डित गर्छन् ।

यसपटक काठमाडौं उपत्यकाका बल्खु, हनुमन्ते लगायतका फाँटमा बाढीको आकस्मिकता भोग्नुपरेका कारण पनि नदीको पहिलेको सहज बहाव अवरोध गरिनुको प्रतिफल थियो ।

त्यसैले नदीको प्राकृतिक प्रवाहलाई जस्ताको तस्तै छाडेर बस्ती विकास, संरचना र नीतिनिर्माण गर्नुको विकल्प छैन । वर्तमानको विकासले बुझ्न नसकेको कुरा भनेको नदीसँग जोडिएको मानवीय सभ्यता हो ।

नदीसँग हाम्रो धर्म, संस्कृति जोडिएको छ । नदीलाई भगवानकै रूप मान्ने समुदाय पनि ठूलो छ । पुर्खाले बुझेकाे यो तथ्यलाई मनन् गर्दै नदी–मान्छेबीच सु–सम्बन्ध हुनसके मात्र सही अर्थमा विपत् व्यवस्थापन हुनसक्छ । नत्र हरेक बर्खा ‘काल’ बन्ने नियति भोग्न हामी अभिशप्त हुनेछौं ।

 

प्रतिकृया दिनुहोस