बेलायती हक्की खेलाडी टोली सम्मानित
नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले बेलायती हक्की खेलाडीहरूलाई सम्मान गरेको छ ।
बेलायतबाट विश्व कीर्तिमान राख्न नेपाल आएको सो टोलीलाई सचिवालयले एक समारोहको आयोजना गरी सम्मान गरेको हो ।
२५ सदस्यीय रहेको उक्त टोलीले नेपालमा ५ हजार ५०० मीटर माथि हक्की खेलेर नयाँ विश्व कीर्तिमान बनाएको छ ।
सो टोलीमा राष्ट्रिय इङ्लिस हक्की टीमका सदस्य तथा प्रबन्धक एन्डी हलिडेको पनि सहभागिता थियो ।
उनले नेपालको उच्च क्षेत्रमा हक्की खेल्दाको अनुभव ती क्षेत्रको सम्भावना बारे पनि चर्चा गरेका थिए ।
नेपालमा खेलकूदका लागि उच्च क्षेत्रहरू प्रशस्त रहेकाले प्रचारप्रसार गर्न सके खेल पारखीहरूलाई नेपालमा आकर्षित गर्न सकिने कार्यक्रममा वक्ताहरूले बताए ।
नेपालका जुम्ला, मनाङ, सोलुखुम्बु जस्ता उच्च क्षेत्रमा बनिरहेका खेलकूद स्थल र तालिम केन्द्रहरूले पनि हक्की, म्याराथन, आर्चरी जस्ता खेल खेल्न र हेर्न पनि पर्यटकहरूलाई आकर्षित गर्ने कार्यक्रममा बताइएको थियो ।