समाचारआइतबार, ५ श्रावण , २०७६

दुई महीनामै भासियो रोशी पुल

रासस

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका स्थित रोशीखोलाको पुल निर्माण भएको दुई महीनामै भासिएको छ ।

बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले रु तीन करोडको लागतमा बनाएको पुल साल्मिटारतर्फ करीब एक फिटसम्म र बल्थलीतर्फ करीब छ इन्च भासिएको हो ।

उक्त पुल राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत निर्माण भएको हो ।

३५ दशमलव ६ मिटर लम्बाइको पुलको बल्थलीतर्फ दायाँबायाँ राखिएका दर्जन खम्बामध्ये केही भत्केर खोलामा खसेका छन् भने केही पुलसँगै भासिएका छन् ।

पुल जेठ महीनामा निर्माण सम्पन्न भएको हो ।

पूर्वाधार कार्यालय प्रमुख इञ्जिनीयर लोकनाथ रेग्मीले पुलको बिम नभासिएको, पुलको दायाँबायाँ जमीनसँग जोड्ने स्ल्याबमात्रै भासिएको बताए।

“प्राविधिकले हेरिसक्नुभएको छ, निर्माणका बेला ध्यान नदिँदा स्ल्याबभित्र पानी पसेर भासिएको रिपोर्ट आएको छ”, उनले भने ।

उनका अनुसार निर्माण कम्पनीले सम्पूर्ण क्षति पुनःनिर्माण गर्नेछ ।

पुल निर्माणको एक वर्षसम्म ‘त्रुटि सच्याउने अवधि’को प्रावधान भएकाले सो अवधिसम्म भएका क्षति निर्माण कम्पनीले व्यहोर्नुपर्ने रेग्मीले जानकारी दिए ।

सम्झौताअनुसारको गुणस्तर नभए निर्माण कम्पनीलाई कारवाही गरिने उनले बताए ।

 

प्रतिकृया दिनुहोस