घरको ‘स्मार्ट लूक’
घरलाई आकर्षक र सुविधाजनक बनाउन रङ, फर्निचर, पर्दा, सजावटका सामग्री र फ्लोरिङको छनोट गर्दा ध्यान दिनुपर्छ।
दिनभरको दौडधूप र थकानपछि घर पुग्दा त्यहाँको वातावरणले शान्ति दिन सक्यो भने जीवन स्वस्थ र रमाइलो हुन्छ । पुराना होउन् वा नयाँ जुनसुकै घरमा पनि केही कुराको परिवर्तन गर्ने वा नयाँ घरका लागि विभिन्न सामग्रीको छनोट गर्दा ध्यान पु¥याउने हो भने घरलाई आकर्षक र आरामदायी बनाउन सकिन्छ ।
रङ
घरलाई आधुनिक र स्टाइलिस बनाउन रङको महत्वपूर्ण भूमिका हुन्छ । घरलाई आधुनिक लूक दिनको लागि बजारमा विभिन्न खालका पेन्ट्स उपलब्ध छन् । अचेल हल्का खालका रङ बढी प्रचलनमा छन् ।
निक्खर सेतो रङमा डार्क एसेसरिजले सजाउँदा घर आधुनिक र स्टाइलिस पनि देखिन्छ । त्यस्तै अत्याधुनिक ‘रेट्रो लूक’ का लागि भित्तामा डार्क एवं भाइब्रेन्ट रङको प्रयोग गर्ने चलन पनि छ । एशियन पेन्ट्सले यस्ता विभिन्न पेन्ट्स बजारमा ल्याएको छ ।
भित्री भित्तालाई आकर्षक बनाउन वालपेपर लगाउने चलन पनि छ । तर, वालपेपर पेन्ट्स जति टिकाउ भने हुँदैन । घरलाई सफ्ट लूक दिन भित्तामा सेतो, क्रिम, लाइट पिंक, पिच जस्ता लाइट सेड्सको प्रयोग उत्तम हुन्छ । पिंकका साथमा ह्वाइट वा क्रिम जस्ता दुई सफ्ट सेड्सको संयोजन पनि घरलाई आकर्षक देखाउने अर्को काइदा हो ।
कोठा अनुसार फरक–फरक रङको पेन्ट्स लगाउँदा प्रत्येक कोठाले फरक र नयाँ अनुभूति दिन्छ । जस्तो, सुत्ने कोठामा हल्का रङको प्रयोग राम्रो मानिन्छ भने सिटिङ वा भान्साकोठामा अलिक गाढा रङ लगाइन्छ ।
फर्निचर
घरलाई स्मार्ट लूक दिन फर्निचरको भूमिका पनि उत्तिकै हुन्छ । नयाँ र आधुनिक घरमा फर्निचर पनि आधुनिक हुनुपर्छ । एउटा कोठामा राखिने फर्निचर एउटै रङ र उस्तै डिजाइनका हुनुपर्छ । सादा रङका हलुका फर्निचर राम्रो मानिए पनि फर्निचरको रङ भित्ताको भन्दा अलिक गाढा भए झनै राम्रो । काठका फर्निचर टिकाउ हुनुको साथै आकर्षक पनि हुन्छन् ।
पर्दा
झ्यालमा प्रयोग गर्ने पर्दाको खरीद गर्दा पनि निकै सचेत हुनुपर्छ । महँगो हुँदैमा पर्दा राम्रो हुँदैन । पर्दाको रङ भित्ताको रङसँग मिल्दोजुल्दो हुनुपर्छ । झ्यालमा भित्रपट्टि पातलो र बाहिरपट्टि मोटो पर्दा राख्दा आवश्यकता अनुसार बाहिरबाट आउने प्रकाश नियन्त्रण गर्न सकिन्छ ।
फ्लोरिङ
काठको फ्लोरिङ घरलाई स्मार्ट लूक दिने उत्कृष्ट विकल्प हो । बजारमा काठका फ्लोरिङका अनेकौं विकल्प उपलब्ध छन् । यीमध्ये पार्केटिङ उपयुक्त हुन्छ । पार्केटिङको रङ कोठाका फर्निचरसित मिल्ने भएमा राम्रो देखिन्छ । कार्पेट भने भित्ताको रङभन्दा फरक र अलि गाढा रङको राम्रो मानिन्छ । त्यस्तै किचेनको फ्लोरिङमा सेतो वा अन्य हल्का रङको टायल उपयुक्त हुन्छ ।
सजावटका सामग्री
रङ, फर्निचर, पर्दा, फ्लोरिङका साथै सजावटका सामग्रीले पनि घरलाई स्मार्ट लूक दिन सकिन्छ । कोठा अनुसार सुहाउँदा र फरक खाले सजावटका सामग्री प्रयोग गर्नुपर्छ । जस्तो सिटिङ रुममा काँचको कफी टेबल वा सेन्टर टेबुल छनोट गर्न सकिन्छ ।
त्यस्तै सिटिङ रूमलाई स्मार्ट बनाउन ग्लास टेबल, ल्याम्प, क्यान्डल स्ट्यान्ड आदि प्रयोग गर्न सकिन्छ । ब्ल्याक एण्ड ह्वाइट फोटो फ्रेम, आधुनिक भित्तेघडी आदिले पनि लिभिङ रूमलाई आकर्षक बनाउँछन् ।
त्यस्तै रङ्गीन बत्तीले बेडरूमलाई आकर्षक बनाउँछ । हिजोआज सोफामा विभिन्न तस्वीरयुक्त कुसन कभर राख्ने चलन छ । त्यसैगरी, प्राकृतिक लूकका लागि बोट–बिरुवा वा इन्डोर प्लान्ट पनि उपयुक्त मानिन्छन् ।