वेष्ट इन्डिजविरुद्धको सिरिजमा धोनी नखेल्ने
विश्वकप क्रिकेटमा अपेक्षित प्रदर्शन गर्न नसकेको आलोचना खेपेका भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीले आसन्न वेष्ट इन्डिज भ्रमणमा आफू ‘उपलब्ध नहुने’ जनाएका छन् ।
धोनीले आइतबार टोलीको नामावली चयन हुनुपूर्व भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई यस्तो जानकारी दिएको बताइएको छ ।
भारतीय सेनाको पारासुट रेजिमेन्टका मानार्थ कर्णेल धोनीले आगामी दुई महीना रेजिमेन्टका साथ बिताउने भन्दैं टोलीमा आफूलाई सहभागी नगराउन सूचित गरेको बताइएको छ ।
बीसीसीआईका अधिकारीले यसको पुष्टि गरेका छन् । धोनीले आफ्नो यो तालिकाबारे बीसीसीआईलाई पहिल्यै जानकारी गराएको पनि अधिकारीले बताएका छन् ।
विश्वकपमा सुस्त गतिमा रन बनाएको र आफ्नो भूमिकामा पूर्ण न्याय नगरेको भन्दैं धोनीले अब सन्न्यास लिनुपर्ने केही आलोचकको मत छ ।
धोनी भारतको सबैभन्दा सफल कप्तान मानिन्छन् । उनकै कप्तानीमा भारतले सन् २०११ मा दोस्रोपटक विश्वकपको उपाधि चुमेको थियो ।