उकालो लाग्यो मूल्यवृद्धि दर
गत जेठ महीनामा मूल्यवृद्धि दर उकालो लागेको तथ्यांकले जनाएको छ ।
नेपाल राष्ट्र ब्याङ्कले ३ साउनमा प्रकाशित गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनले गत जेठमा उपभोक्ता मूल्य गत वर्षको तुलनामा ६ दशमलव २ प्रतिशतले बढेको जनाएको हो ।
गत वर्षको सोही अवधिमा मूल्यवृद्धि ४ दशमलव १ प्रतिशत मात्र थियो ।
वैशाखमा उपभोक्ता मूल्यवृद्धि दर ५ दशमलव ३ प्रतिशत र चैतमा ४ दशमलव ४ प्रतिशत मात्र थियो । यसले बजारमा मूल्यवृद्धि दर उकालो चढिरहेको संकेत गरेको छ ।
राष्ट्र ब्याङ्कका अनुसार, खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६ दशमलव ७ प्रतिशत छ । सबैभन्दा धेरै माछामासुको मूल्यको ७ दशमलव ६ प्रतिशतले बढेको छ ।
लुगा तथा जुत्ताको मूल्य पनि ७ प्रतिशतले बढेको छ । खाद्यान्न र लुगाफाटोको मूल्य बढ्दा न्यून आय भएका सर्वसाधारण बढी मारमा पर्छन् ।
प्रतिवेदनका अनुसार, कामका लागि विदेश जाने नेपालको संख्या घटेसँगै पराई मुलुकमा रहेका नेपालीले पठाउने रेमिटेन्सको वृद्धिदर पनि सुस्ताएको छ ।
जेठसम्ममा रेमिटेन्स ८ दशमलव ९ प्रतिशतले (डलरमा) मात्र बढेको छ, जबकि, गत वर्षको यही अवधिमा रेमिटेन्सको वृद्धिदर ९ दशमलव ७ प्रतिशत (डलरमा) थियो ।
जेठसम्ममा नेपालमा करीब रु. ८ खर्ब रेमिटेन्स भित्रिएको छ । यो अवधिमा विदेश जाने नेपाली ३७ दशमलव ३ प्रतिशतले घटेका छन् ।
अर्कातिर, देशको भित्रिने र बाहिरिने रकमबीचको अन्तर (शोधनान्तर) स्थिति रु. ९० अर्ब ८३ करोड घाटामा पुगेको छ । गत वर्षको यही अवधिमा रु. ४ अर्ब ३४ करोडले मात्र घाटामा थियो ।
विदेशबाट वस्तु तथा सेवाको आयातमा धेरै खर्च गर्नुपरेको तथा देशको आम्दानीको मुख्य स्रोत रेमिटेन्सको वृद्धिदर सुस्ताएको एवं नेपालले विदेशमा सामान र वस्तु निर्यात गर्ने क्षमता घटेकाले शोधनान्तर नोक्सानीमा गएको हो ।
गत आर्थिक वर्ष २०७५\७६ को जेठसम्ममा नेपालले करीब रु. ८८ अर्बको वस्तु निर्यात गर्दा करीब रु. १३ खर्बको आयात गरेको छ । यसले, विदेशसँगको व्यापारमा नेपालले गत आर्थिक वर्षको एघार महीनामा रु. १२ खर्ब ११ अर्बको घाटा व्यहोरेको देखाउँछ ।