साझामा सरकारकाे रु. ३ अर्बकाे शेयर लगानी
सरकारले साझा यातायातमा रु. ३ अर्ब बराबरकाे शेयर लगानी गरेकाे छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी सिन्डिकेटको खारेजीपछि जनतालाई सहज र सहुलियत दरमा सार्वजनिक यातायातमा सेवा प्रदान गर्ने उद्देश्य अनुरुप साझा यातायातमा शेयर लगानी गरेकाे बताए ।
उनका अनुसार शेयरबापत सरकारले लगानी गरेकाे उक्त रकमबाट साझाले तीन सय विद्युतीय बस खरीद गर्ने छ ।
मन्त्री महासेठका अनुसार २९ असार २०७६ काे मन्त्रिपरिषद् बैठकले शेयर लगानीकाे रुपमा साझालाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेकाे थियाे ।
“सधैं बिजुली बस ल्याउने हल्ला मात्र हुन्थ्यो, यसपालि हामीले गरेर देखाएका छौं । हामी प्रदूषण नियन्त्रण र सार्वजनिक यातायातमा जनताले सहज रूपमा यात्रा गर्न पाउनुपर्दछ भन्ने कुरामा दृढ छौं,” महासेठले भने, “अब आउने बिजुली बसले त्यसलाई पूरा गर्नेछन् ।”
आउँदो असोजसम्म बिजुली बस सञ्चालन गर्ने लक्ष्य रहेको महासेठले बताए ।
पत्रकार सम्मेलनमा साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दीक्षितले साझा यातायात मार्फत सञ्चालन हुने विद्युतीय बसले देशको अर्थतन्त्र र वातावरणलाई फाइदा पुग्ने बताए ।
साझा यातायात सहकारीले जनतालाई सार्वजनिक यातायातको विश्वव्यापी मान्यतामा आधारित रहेर सेवामूलक ढंगले सुविधा प्रदान गरेको अध्यक्ष दीक्षितले उल्लेख गरे ।