बालाकोट हमलापछि बन्द पाकिस्तानी हवाईमार्ग खुला
पाकिस्तानको नागरिक उड्डयन प्राधिकरण (सीएए) ले भारतको बालाकोट हमलापछि बन्द गरिएको हवाईमार्ग पुनः खोल्ने घोषणा गरेको छ ।
मंगलबार बिहान आफ्नो आधिकारिक वेबसाइट मार्फत प्राधिकरणले मार्ग तत्काल खोलिने जानकारी गराएको हो ।
गत १४ फेब्रुअरीमा पुलवामा भएको हमलापछि भारतले आफ्नो जवाफी कारबाहीमा २८ फेब्रुअरीमा पाकिस्तानको बालाकोटमा हवाई हमला गरेको थियो।
हमलापछि पाकिस्तानले हवाईमार्ग बन्द गरेको थियो । पाकिस्तानको यस निर्णयले संकटमा फसेको भारतको सरकारी विमान कम्पनी एयर इन्डियालाई राहत मिल्नेछ ।
पाकिस्तानले हवाईमार्ग बन्द गरिदिएपछि एयर इन्डिया लगायत भारतीय वायुसेवा कम्पनीहरूलाई अन्तर्राष्ट्रिय उडानका लागि लामो रुटको प्रयोग गर्नुपर्दा धेरै घाटा भएको थियो ।–एजेन्सी