न्युजिल्याण्डलाई भारतविरुद्धकै ‘आश्चर्य’ दोहोर्याउने चुनौति, इङ्ल्याण्डलाई २४२ रनको लक्ष्य
विश्वकप क्रिकेटको जारी फाइनलमा न्युजिल्याण्डले इङ्ल्याण्डलाई २४२ रनको सामान्य रनको लक्ष्य दिएको छ ।
२९ रनमा ओपनर मार्टिन गुप्तिललाई गुमाएको न्युजिल्याण्डका लागि हेन्री निकोलस र कप्तान केन विलियम्सन्ले ७४ रनको साझेदारी गर्दै टिमलाई २२.४ ओभरमा १०३ रनको स्कोरमा पुर्याएका थिए ।
तर, केन ३० रन र निकोलस ५५ रनमा आउट भएसँगै न्युजिल्याण्ड रक्षात्मक भएको थियो । विकेटकिपर टम लान्थमले दोस्रो सर्वाधिक बढी ४७ रन बनाए ।
न्युजिल्याण्डका लागि रस टेलरले १५, जेम्स निशामले १९, कोलिन डी ग्राण्डहोमीले १६, मिचेल सान्टनेरले ५, माट हेन्रीले ४ रन बनाए ।
इङ्ल्याण्डका लागि क्रिस वक्र्स र लियाम प्लनकेट उत्कृष्ट बलिङ गरे । वक्र्स र प्लनकेट दुबैले ३, ३ विकेट लिए । जोफ्रा आर्चर र मार्क उडको नाममा १, १ विकेट रह्यो ।
उस्तै रणनीति, उही रन
फाइनलमा न्युजिल्याण्डले सेमिफाइनलमा भारतविरुद्धको खेलकै रणनीति अपनाएको देखिन्थ्यो ।
भारतसँग झैं आइतबार पनि न्युजिल्याण्डले टस जितेर ब्याटिङ नै रोजेको थियो । तर, फेरि पनि ब्याटिङ सोचेजस्तो भएन ।
न्युजिल्याण्डले २४१ रन मात्र बनाउनसक्यो । यो भारतसँग भन्दा २ रनमात्र बढी हो ।
तर, कम स्कोर बनाएर पनि भारतलाई २२१ मै अलआउट गरेको न्युजिल्याण्डसँग पुनः सेमिफाइनलकै शानदार बलिङ गर्नुपर्ने चुनौती छ ।
के न्युजिल्याडले त्यही ‘कमब्याक’ खेल देखाउन सक्छ ?
यसका लागि न्युजिल्याण्डका बलरहरूले इङ्ल्याण्डका पहिलोक्रमका ३ ब्याट्समेनलाई भारतसँग झैं ३.१ ओभरमै पभेलियन पठाउन सक्छन् ?
न्युजिल्याण्डको जीत यस्तै आश्चर्यजनक प्रदर्शनमा निर्भर हुनेछ ।