कुकुर - घर
कुकुर पाल्न रहर गर्नेले कुकुरको व्यवस्थित वासस्थान साथै तालिमको बारेमा पनि जानकारी लिनु जरूरी छ।
मेन्टल हेल्थ सोसाइटी अफ अमेरिका ले सन् २०१८ मा गरेको एक अध्ययन अनुसार घरमा कुकुर, बिरालो जस्ता जनावर पाल्ने व्यक्तिमा मानसिक शान्ति र शारीरिक स्फूर्ति बढी हुन्छ । अध्ययनमा सहभागीमध्ये ७४ प्रतिशतले घरमा जनावर पाल्दा मानसिक शान्ति मिलेको बताएको प्रतिवेदनमा उल्लेख छ ।
कुकुर र मानिसको सम्बन्ध परापूर्वकालदेखिकै हो । सुरक्षाका लागि होस् वा सोखकै रुपमा कुकुर पाल्ने चलन पुरानै हो । अझ कुकुरलाई पूजा गर्ने नेपाली चलनले त यो सम्बन्ध जुगौंदेखिको हो भन्ने स्पष्ट पार्छ । सम्बन्ध जति नै पुरानो भए पनि हाम्रा अधिकांश घरहरूमा कुकुरका लागि बस्ने आवास भने गतिलो बनाएको पाइँदैन ।
पछिल्लो समय भने शहरी घरहरूमा उन्नत जातका कुकुर पाल्ने प्रचलन बढेसँगै कुकुरलाई राख्ने विशेष खालका खोरहरू बनाउन थालिएको छ । अचेल बजारमा पनि कुकुरलाई राख्नका लागि ‘पेट केज’ भनिने विभिन्न खालका खोरहरू पाइन्छन् । यस्ता खोरहरूले घरको सौन्दर्य पनि बिगार्दैनन् ।
फलाम, प्लास्टिक, आल्मुनियम वा काठले बनाइएका पेट केज निकै सानो, अँध्यारो भने हुनुहुँदैन । काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टरका अनुसार लामो समयसम्म कुकुरलाई साङ्लोमा बाँध्ने वा खोरभित्र राख्ने गर्दा उनीहरूको व्यवहारमा समस्या आउँछ ।
कुकुरलाई प्रशस्तै खेल्न र उपयुक्त तालिम नदिने हो भने उनीहरू बढी आक्रामक हुन्छन् । त्यस्तै कुकुरलाई खोरमा राख्दा पनि खानेपानी उपलब्ध गराइराख्नुपर्छ । ट्रिटमेन्ट सेन्टरले कुकुरको ओछ्यान सुविस्तापूर्ण र सिरानी सहितको हुनु जरुरी रहेको उल्लेख गरेको छ ।
कुकुरलाई उपियाँ, झिंगा, सुलसुले, किर्ना आदिबाट जोगाउन कुकुरको साथै ‘पेट केज’ को नियमित सफाइ गर्नुपर्छ । यस्ता खोरको छनोट गर्दा मौसमको पनि ख्याल गर्नुपर्दछ ।
जाडो यामको लागि बाहिरको चिसो नछिर्ने खालको र गर्मीका लागि प्रशस्तै हावा आवतजावत हुने खोर उपयुक्त हुन्छ । हिजोआज घरभित्र र कौसीमा समेत लैजान सकिने पाङ्ग्रा जोडिएका कम तौलका पेट केजको माग बढेको व्यापारीहरू बताउँछन् ।
मासिक सरदर ३० थान पेट केज बेचिरहेको काठमाडौंको टेकूस्थित नेपाल डग्स का प्रबन्धक अनुज डंगोल भन्छन्, “ग्राहकहरू गुगल गरेर डिजाइन र ब्राण्ड छनोट गर्छन्, हामी त्यसै अनुसारको उपलब्ध गराउँछौं ।”
खोरलाई उज्यालो राख्न र त्यसभित्र निश्चित तापक्रम सुनिश्चित गर्न बिजुलीको व्यवस्था गरिएका खोरहरू पनि पाइन्छन् । नेपाली बजारमा एक हजार रुपैयाँदेखि रु.२० हजारसम्ममा पाइने यस्ता खोरहरू प्रायः भारत, चीन, थाइल्याण्ड, सिंगापुर, मलेशियाबाट आयात गरिएका हुन्छन् ।
जनावरहरूको वासस्थान बारम्बार सफा गरिरहनुपर्ने भएकाले पेट केज सहजै सफा गर्न मिल्ने खालको छ/छैन भन्ने पनि ध्यान दिनुपर्छ । भुईंमा पातलो जालीको पत्र राखिएको केज छ भने त्यसबाट जनावरको दिसापिसाब मुन्तिर राखिएको ट्रे मा झर्छ र यस्तो फोहोर जनावरको शरीरमा टाँसिन पाउँदैन ।
हाम्रा शहरहरूमा अझै पनि कुकुरलाई खुला सडकमै शौच गराइरहेको देखिन्छ । ट्रिटमेन्ट सेन्टरका अनुसार कुकुरलाई आवश्यक तालिम दिएमा उनीहरूले सधैं निश्चित स्थान र समयमा शौच गर्न सिक्छन् ।