ब्लगशुक्रबार, २७ आषाढ , २०७६

उहिलेको बिहे

भैरव रिसाल

जन्तेबाख्रोमा मांसाहारीहरूले तिक्खर पिरो सहँदै टङ्‍रङ्‍ग झोल सहितको मासुको छिपछिपे स्वाद लिनुपर्थ्याे !

भैरव रिसाल

समयको फेरो घुमेसँगै धेरै कुरामा जस्तै बिहे–बटुलोमा पनि निकै परिवर्तन आएको छ । रातिको बिहे त दुर्लभ भैगो । 

‘पार्टी प्यालेस’ मा एकाध घण्टामै बिहे तमाम भएको देखिरहेका अहिलेको पुस्तालाई ६/७ दशकअघिको बिहेको चलन एकादेशको कथा लाग्ला ।

भौतिक पूर्वाधार र अन्य सुविधा नभएको समयमा परम्पराको आवरणमा हुर्किएको बिहे संस्कारका काइदा कानून बिछट्टै बेग्लै पाराका थिए ।

आज त मोटरमा जन्त जाने र एकदिनमै दुलही ल्याउने हो । पहिला बिहेको रीतिरिवाज अलि लामै हुन्थ्यो । जन्तमा खाली खुट्टा हिंडेर गइन्थ्यो ।

त्यसरी जाँदा सास्ती भए पनि बिहेको माहोलमा सबै भुलिन्थ्यो । म स्वयं पनि कति धेरै वटा जन्त पुरेतको हैसियतमा गएको छु ।

बिहेभरिमा जम्मा चार वटा भतेर हुन्थे । जन्ती गएको रात बेहुली वा दुलहीको घरमा बास हुन्थ्यो । जन्तीलाई बारीको पाटामा ‘बेहुली भतेर’ खुवाइन्थ्यो ।

त्यसै दिन राति गाउँले र जन्ती पक्षका बीच जुहारी शैलीमा सिलोक चल्थ्यो । बिहेमा जन्ती पक्षले विशेष विधिविधान भएको खाँडो जगाउने क्रममा अनेकौं वीरगाथा गाउँदै अन्त्यमा ‘कुइरेको टाउकोमा ट्वाक्क’ भन्नुपर्ने !

भोलिपल्ट बेहुलीको घरमा हुने भोजलाई ‘रुञ्चे भतेर’ भनिन्थ्यो । बेहुलीलाई अन्माएर पठाउँदा त्यो घरका प्रायः सबै जना रुने हुँदा त्यो दिनको भोजलाई त्यस्तो नाम दिइने रहेछ ।

बिहेको दोस्रो दिन बेहुलाको घरमा जन्त जानेहरूलाई जन्तेबाख्रो खुवाइन्थ्यो । यो भोजका लागि दुलही पक्षले क्षमता अनुसार चामल, दाल, घ्यू–तेल, तरकारी, मरमसला, पकाउने भाँडाकुँडा लगायत सबै सामान दिन्थे । खसी र खाना खाने टपरी भने बेहुला पक्षले नै जोहो गथ्र्यो ।

पुरुष मात्र जन्त, ‘झोलिलो’ भतेर

जस्तो समय र समाज, त्यस्तै चलन ! त्यतिबेलाको बिहेमा जन्त जाने पुरुष मात्र हो । महिला र केटाकेटीहरू बेहुली र जन्तीको पर्खाइमा घरमै व्यग्र भएर बस्थे । बिहेमा कलश बोक्न एउटी महिला (कलशौली) मात्र जाने चलन थियो । बेहुलाको घरबाट दुइटा उखुका लाक्रामा पालुङ्गोको साग र सुकेका दुइटा माछा राखेको पेरुङ्गो पहेंलो कपडाले बाँधेर साइत गरिन्थ्यो ।

त्यतिबेला भतेर टपरीमा खानुपर्थ्याे । नाम जन्तेबाख्रो भए पनि बाख्रो होइन, खसी नै हुन्थ्यो । कति जातजातिमा भने जन्तेबाख्रोमा खसीको ह्याकुलो र एउटा साँप्रो दुलही पक्षलाई दिने चलन पनि रहेछ ।

यस्ता भोजहरू प्रायः बारीका पाटा वा खोलाको ढुङ्गेबगरमा हुने । बढीमा ३००/४०० सम्म जन्ती हुने भएकाले ढुङ्गाको चुलो बनाएर ठूल्ठूला खड्कुँलोमा भात पकाउनुपथ्र्यो । पाकेको भात ओढ्ने वा तन्नामा थुपारिन्थ्यो । मान्छेहरू खान बसेपछि त्यो भात डालोमा हाल्यो र अघिल्तिरको टपरीमा थपाथप राखिदियो ।

बिहेको पाँचौं दिन शिलापूजा गरिन्थ्यो । मसला पिस्ने लोहोरोलाई शिशुको प्रतीक मानी नवदम्पतीलाई भविष्यमा हुने सन्तानको स्याहार–सुसार मिलेर गर्ने शिक्षा दिइन्थ्यो ।

भातमाथि भान्से बाजेले दाल र अन्य तरकारी हाल्दै जान्थे । तरकारी पितिक्क हालिए पनि दाल र भात भने थपी–थपी दिन्थे । खासगरी जन्तेबाख्रोमा मासुमा पानीसरी टङ्‍रङ्ग झोल हुन्थ्यो । पिरो पनि असाध्यै ! मांसप्रेमीहरूले तिक्खर पिरो सहँदै मासुको छिपछिपे स्वाद लिनुपर्ने ।

बेहुलीको माइतीमा रुञ्चे भतेरमा बेहुलालाई दुई भाग खाना दिन्थे । बिहेको खानपान र कर्मकाण्ड सकिएर बेहुली अन्माएपछि डोलेहरूले तामदानमा बोकेर ल्याउँथे ।

पहिला त सात/आठ वर्षकै कन्याको बिहे गरिने भएकाले बेहुलीको सेवा–सुसार गर्न एउटी महिलालाई लोकन्ती बनाएर साथै पठाउने चलन थियो । दुलही भित्र्याउनु अघि दुलाहाका दिदीबहिनीहरूले दीप प्रज्वलन गरी दुलहीको स्वागत गर्थे ।

त्यसपछि सासू–बुहारीबीच पाथीचुल्ठो गरिन्थ्यो । नयाँ दुलहीसँग परिचयका लागि मुख हेर्ने प्रचलन थियो । भित्रिएको भोलिपल्ट दुलाहाका घरमा ‘बहु भतेर’ भनेर अर्को भोज गरिन्थ्यो ।

बहु भतेरका दिन दुलहीलाई दुई भाग खाना दिने चलन थियो । दुलहीको घरमा दुलाहालाई र बहु भतेरमा दुलहीलाई दुई–दुई भाग दिने के चलन हो कुन्नि !

बहु भतेरका दिन दुलाहाको घरमा ग्रहशान्ति गरेको, चौका चदुवाले सिंगारेको बेदीमा चतुर्थी नामको यज्ञ गरिन्थ्यो । बिहेलाई हास–परिहासयुक्त बनाउन ‘लगनको खड्कुँलो’ मा माछाको कल्पना गरी बेहुला–बेहुलीले माछा मार्ने प्रतिस्पर्धा गराइन्थ्यो ।

बिहेको पाँचौं दिन शिलापूजा गरिन्थ्यो । मसला पिस्ने लोहोरोलाई शिशुको प्रतीक मानी नवदम्पतीलाई भविष्यमा हुने सन्तानको स्याहार–सुसार मिलेर गर्ने शिक्षा दिइन्थ्यो ।

दम्पतीले मिलेर काम गर्ने र सन्तानलाई हुर्काउनेबारे प्रशिक्षण दिने यो पाटो बिहे संस्कारको सबैभन्दा व्यावहारिक, प्रगतिशील र सहअस्तित्वबोधक भए झैं लाग्छ ।

प्रतिकृया दिनुहोस