लोगो फेसनद्वारा मस्कुलर डिस्ट्रोफी फाउन्डेसनलाई सहयोग
नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा तयारी पोशाक बिक्री गर्दै आइरहेको नेपाली ब्राण्ड लोगो फेसन इण्डष्ट्रिजले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत मस्कुलर डिस्ट्रोफी फाउन्डेसन- नेपाललाई रु एकलाख सहयोगस्वरूप प्रदान गरेको छ।
लोगोको रिटेल स्टोर, झम्सिखेल ललितपुरमा फाउण्डेसनका पदाधिकारी, मस्कुलर डिस्ट्रोफी प्रभावित बालबालिका तथा उनीहरूका अभिभावक उपस्थित एक कार्यक्रमका बीच लोगोका प्रोपाइटर हिरा मुक्तानले फाउन्डेसनकी बोर्ड सदस्य करुणा पोखरेललाई रु एक लाखको चेक हस्तान्तरण गरे।
ललितपुरको कुपण्डोलमा कार्यालय रहेको उक्त फाउण्डेसन मस्कुलर डिस्ट्रोफी रोगबाट प्रभावित बालबालिका तथा वयष्कको अनुसन्धान, उपचार तथा पुन:स्थापनामा समर्पित एक परोपकारी संस्था हो।
मस्कुलर डिस्ट्रोफीजस्तो जटिल रोगबाट सानै उमेरमा प्रभावित बनेका बालबालिकाको पीडा देख्दा आफ्नो तर्फबाट पनि केही गरौं भन्ने भावनाले प्रेरित भएर नै लोगो फेसनका तर्फबाट सामाजिक उत्तरदायित्व अन्तर्गत केही सहयोग गरेको लोगोका मुक्तानले बताए।
यसैगरी फाउन्डेसनकी पोखरेलले सहयोगी हातहरूका कारण नै मस्कुलर डिस्ट्रोफीबाट प्रभावित बालबालिकाको उपचार र पुन:स्थापना सम्भव भएको धारणा प्रकट गरिन्।