विषादी परीक्षणकाे माग गर्दै सर्वोच्चमा रीट
तरकारी र फलफूलको विषादी परीक्षण गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रीट दर्ता भएको छ ।
अधिवक्ता स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले विषादी परीक्षण अनिवार्य गर्न माग गर्दै आज रीट दायर गरेका हुन् ।
रीटमा भारतबाट आउने तथा नेपालमै उत्पादन हुने तरकारी र फलफूल अनिवार्य रुपमा परीक्षण गराएर मात्रै विक्री वितरण गर्नुपर्ने व्यवस्थाका लागि आदेशको माग गरिएको छ ।
भारतीय तरकारी परीक्षण नगर्ने मन्त्रिपरिषदको असार १९ को निर्णय खारेज गर्न उनीहरुले माग गरेका छन् ।
स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट दर्ता गराएको रीटमा स्वस्थ खान पाउनु नागरिकको मौलिक हकसमेत भएकाले जाँच्ने मेसिनको अभावको बहानामा विषादीयुक्त तरकारी बेच्न नहुने उल्लेख छ।
यसैबीच संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासले सरकारलाई पत्र पठाएको स्वीकार गरेका छन् ।
बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुले राखेकाे जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री बाँस्कोटालेले दुई देशका सरकारबीच पत्रहरु आउने, जाने उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नहुने पनि स्पष्ट पारे ।
आयातित तरकारी तथा फलफूलमा हुने विषादी परीक्षणका लागि सरकार आवश्यक व्यवस्थापन गर्न गम्भीर रहेको उनको भनाइ छ ।