कोहली–विलियम्सनको त्यो यू–१९ विश्वकप, जहाँ नेपाल पनि सहभागी थियाे
भारत र न्युजिल्याण्डबीच आउँदो २४ असार ( ९ जुलाई) मा विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल प्रतिस्पर्धा हुँदैछ। भारतका कप्तान विराट कोहली छन् भने न्युजिल्याण्डका केन विलियम्सन।
तर, यो सन्दर्भमा ११ वर्षअघिको एउटा रोचक प्रसंग सम्झिइएको छ ।
त्यतिबेला यी दुवै देश यू–१९ को विश्वकप खेलिरहेका थिए। सेमिफाइनल यी दुई देशको भीडन्त भयो । डकवर्थ लुइस नियमअनुसार भारतले ३ विकेटले खेल जित्यो।
संयोगले यो खेलमा भारतका कप्तान कोहली नै थिए । उता न्युजिल्याण्डका कप्तान पनि यिनै विलियम्सन । खेलमा कप्तान कोहली ४३ रन र २ विकेट लिदैं म्यान अफ द म्याच बने।
भारत दक्षिण अफ्रिकालाई डीएल विधिबाटै १२ रनले जित्दै त्यसवर्षको यू–१९ च्याम्पियन बन्यो । कोहलीको कप्तानीमा भारतले यो प्रतियोगिता जितेपछि नै उनलाई भविष्यको राष्ट्रिय टोलीको कप्तानका रुपमा हेर्न थालिएको थियो ।
अहिले कोहली ३० वर्षमा हिडिरहेका छन् भने विलियम्सन २८ वर्ष । र, दुवै नेतृत्वका देश फेरि विश्वकपको उही सेमिफाइनलमा भिड्दैछन्। के कोहलीको कप्तानीमा भारतले दशकअघि झैं जित हासिल गर्ला ? धेरैको जिज्ञासा छ।
त्यसो त अंक तालिकामा पहिलो भारतको जितको सम्भावना प्रबल छ । न्युजिल्याण्ड भने तालिकाको चौथोमा छ।
अनुमानको अर्को आधार लिग चरणमा यी दुबैको प्रतिस्पर्धा पनि हुनसक्थ्यो । तर, भारत र न्युजिल्याण्डको खेल वर्षाले अवरुद्ध भयो। दुबैले एक, एक अंक बाँडे।
कोहली र विलियम्सन बाहेक त्योबेलाका भारतीय टोलीका बलर रविन्द्र जडेजा, न्युजिल्याण्डका बलर टिम साउथी र ट्रेन्ट बोल्ट पनि अहिलेको टोलीमा छन्।
र, नेपाल पनि
मलेसियामा भएको उक्त यू–१९ विश्वकपमा नेपाल पनि सहभागी थियो । नेपालका कप्तान पारस खड्का थिए ।
समूह ‘सी’मा रहेको नेपालसँग अष्ट्रेलिया, श्रीलंका र नामिबिया थिए ।
नेपालले लिग चरणमा नामिबियासँग मात्र जीत हात पार्यो । ३ रनको उक्त जीतमा महेश क्षेत्रीले ६२ रन बनाएका थिए । ज्ञानेन्द्र मल्लले २ ओभरमा २ विकेट लिएका थिए ।
प्लेट क्वाटरफाइनलमा भने नेपालले जिम्बाबेलाई ९९ रन अन्तरको सनसनीपूर्ण जीत निकालेको थियो ।
१५८ रनमै अलआउट भएको नेपालले २७.२ ओभरमा ५९ रनमै जिम्बाबेलाई हारको स्वाद चखाएकाे थियाे।
खेलमा कप्तान पारसले ७ ओभर बलिङ गर्दै २ मेडन र १३ रनमात्र लिएर ३ विकेट लिए । म्यान अफ द म्याच पनि भए ।
नेपालका लागि अमृत भट्टराई र राज श्रेष्ठले ३, ३ विकेट लिए । बाँकी १ विकेट राहुल विश्वकर्माले लिएका थिए।
प्लेट सेमिफाइनलमा नेपालको भेट फेरि नामिबियासँग पर्यो । र, नेपालले पुनः १ रनमात्र बढी ४ रनअन्तरमा नामिबियालाई हराउँदैं प्लेट फाइनलमा प्रवेश गर्यो । ४४ रन र २ विकेटको योगदानले कप्तान पारस फेरि म्यान अफ द म्याच बने ।
प्लेट फाइनलमा भने नेपाल वेष्ट इण्डिजसँग ७ विकेटले पराजित भयो । र, १६ देशमध्ये १० औं स्थानमा रहँदै यात्रा पूरा गर्यो ।
त्योसमयका कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्ल अहिलेसम्म नियमित रुपमा राष्ट्रिय टोलीमा छन् ।